उन्नत बीउ र अनुकूल मौसमले बढायो गहुँ उत्पादनमा वृद्धि

राँझा (बाँके), १ वैशाख । बाँके जिल्लामा गहुँखेती गर्ने क्षेत्रफल क्रमशः घट्दै गएको भए पनि यस वर्ष उत्पादन भने वृद्धि हुने देखिएको छ । उन्नत जातका बीउको प्रयोग, सिँचाइ सुविधा र अनुकूल मौसमका कारण उत्पादनमा सकारात्मक सुधार आएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।

कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी तथा वरिष्ठ बागवानी विकास अधिकृत सन्तोष पाठकका अनुसार खेतीयोग्य जमिन घटे पनि गहुँ उत्पादन भने अघिल्लो वर्षभन्दा बढी हुने अनुमान गरिएको छ । उनले किसानहरूले हाइब्रिड तथा उन्नत बीउको प्रयोग बढाउँदै लगेका कारण उत्पादनमा वृद्धि भएको बताए ।

गत वर्ष बाँकेमा २० हजार ८९५ हेक्टर क्षेत्रफलमा गरिएको गहुँखेतीबाट ७७ हजार ७०८ मेट्रिक टन उत्पादन भएको थियो । यस वर्ष समयमै वर्षा हुनुका साथै रोग तथा कीराको प्रकोप नदेखिएकाले उत्पादन अझै बढ्ने अपेक्षा गरिएको छ ।

कृषि प्राविधिकहरूद्वारा किसानका खेतमै पुगेर गरिने निरीक्षण, बाली उपचार शिविर, घुम्ती तालिम र जनचेतनामूलक कार्यक्रमहरूले पनि उत्पादन वृद्धि गर्न सहयोग पुगेको बताइएको छ ।

यता किसानहरू अहिले वर्षभरिको मेहनतको फल भित्र्याउने महत्वपूर्ण चरणमा रहेका छन् । अखिल नेपाल किसान महासङ्घ बाँकेका अध्यक्ष कृष्णविक्रम केसीका अनुसार केही हावाहुरी र वर्षाले आंशिक क्षति पु¥याए पनि समग्रमा मौसम अनुकूल रहेकाले उत्पादन बढेको हो ।

तर, उत्पादन बढे पनि गहुँखेती गर्ने क्षेत्रफल भने घट्दो क्रममा रहेको छ । आर्थिक वर्ष ०८०/०८१ मा २१ हजार ५१५ हेक्टरमा गहुँखेती गरिएको थियो भने गत वर्ष २० हजार ८९५ हेक्टरमा सीमित भएको थियो। यस वर्ष क्षेत्रफल अझै घटेको जनाइएको छ ।

किसानहरूले गहुँबालीको सट्टा तोरी, वसन्ते मकै र तरकारी खेतीतर्फ आकर्षित हुनुका साथै नेपालगञ्ज, कोहलपुर र खजुरा क्षेत्रमा बढ्दो सहरीकरण तथा राप्तीसोनारी क्षेत्रमा जङ्गली जनावरको आक्रमणका कारण गहुँखेतीको क्षेत्रफल घट्दै गएको देखिएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै

↑