काठमाडौँ, ९ जेठ । नेपालमै पहिलो पटक सुँगुर तथा बङ्गुरमा अफ्रिकन स्वाइ फिभर देखा परेसँगै व्यावसायिक किसान त्रसित बनेका छन् । ठुलो मात्रा लगानी रहेको बंगुर क्षेत्रमा उच्च मृत्युदर हुने खतरनाक रोग नेपालमा भित्रिसके पछि किसान त्रसित बनेका हुन् ।
बङ्गुर पालन तीव्र रूपमा व्यावसायिक बन्दै गरेको समयमा हालसम्म उपचार तथा खोपसमेत नभएको भाइरसजन्य रोग प्रमाणित भएपछि किसान निरास बनेका छन् । पशु सेवा विभाग अनुसार काठमाडौँको कागेश्वरी मनोहरा, कीर्तिपुर, चन्द्रागिरि, टोखा र दक्षिणकाली, ललितपुरको गोदावरी र भक्तपुरको चाँगुनारायण क्षेत्रका बङ्गुरहरूमा यो रोग पुष्टि भएको छ ।
यो रोगका कारण १ हजार १९ सुँगुर तथा बुङ्गुर मरेका छ । सानातिना रोग नियन्त्रण गर्न त नसक्ने सरकारले यो रोग समयमा नै नियन्त्रण गर्ने त आशै नरहेको किसान बताउँछन् । पशुपक्षीमा लाग्ने विभिन्न रोग जस्तै वर्ड फ्लू, खोरोत लगायत रोगका कारण वर्षेनी किसानको ठूलो मात्रामा क्षति हुँदै आएको छ । तर कुनै पनि रोग नियन्त्रण गर्न सरकार तत्पर देखिँदैन ।
रमिते सरकार कै कारण किसानहरू पशुपक्षी व्यवसायबाट पलायन हुनु पर्ने बाध्यता रहेको छ । यस्तो अवस्थामा अझ हालसम्म भ्याक्सिन पनि पत्ता नलागेको रोग नेपालमा फैलिसके पछि बंगुर व्यवसाय नै धरासयि हुने हो की भन्ने चिन्ताले व्यवसायिहरुलाई पिरोल्न थालेको छ ।
यस्तो अवस्थामा सरकारले नेपालमै पहिलो पटक सुँगुर तथा बङ्गुरमा अफ्रिकन स्वाइ फिभर रोग नियन्त्रण गर्नको लागी के गरिरहेको छ ? अफ्रिकन स्वाइ फिभर रोग के हो ? कसरी नियन्त्रण गर्ने लगायतका विषयमा केन्द्रित रहेर आज हामीले पशु सेवा विभागका महानिर्देशक डा।रामनन्दन तिवारीसँग हामीले कुराकानी गरेका छौँ ।
नेपालमै पहिलो पटक सुँगुर तथा बङ्गुरमा अफ्रिकन स्वाइ फिभर पत्ता लागेसँगै किसान चिन्तित् छन् । सुरुमा नै म यहाँसँग अफ्रिकन स्वाइ फिभरको बारेमा जान्न चाहे ।
अफ्रिकन स्वाइन फिभर घरपालुवा सुँगुर, बङ्गुर तथा जङ्गली बँदेल प्रजातिमा विषाणुको कारण लाग्ने रोग हो । उच्च मृत्युदर भएको अति खतरनाक महामारीजन्य सरुवा रोग भएका कारण पनि उच्च सतर्कता अपनाउन आवश्यक छ । अफ्रिकन स्वाइन फिभर’ सर्वप्रथम सन् १९२१ मा अफ्रिकाको केन्यामा देखिएको थियो ।
केही दशकसम्म सब–साहरन अफ्रिकी देशहरूमा रैथाने रोगको रूपमा रह्यो । अफ्रिकाबाहिर पहिलोपल्ट युरोपको पोर्चुगलमा सन् १९५७ मा यो रोग देखा परेको थियो । सन् ६०, ७० र ८० को दशकतिर विभिन्न युरोपेली मुलुकको बङ्गुर पालनमा चुनौती बनेको यो रोग अन्ततः धेरै लगानीपश्चात् युरोपबाट लगभग उन्मूलन नै भएको थियो ।
तर सन् २००७ मा फेरि जर्जिया हुँदै रसिया, लिथवानिया, बेल्जियम, हंगेरी लगायत केही युरोपेली मुलुकमा यो रोग पुनः देखा प¥यो । एसिया महादेशमा पहिलोपल्ट अगस्ट २०१८ मा, चीनमा यो रोग प्रमाणित भएको थियो । त्यसयता एसियाका भियतनाम, कम्बोडिया, उत्तर र दक्षिण कोरिया, लाओस, मंगोलिया, इन्डोनेसिया, फिलिपिन्स र म्यानमारमा यो महामारी देखा परिसकेको छ । यो रोगका कारण चीनमा मात्रै लाखौं बंगुर मरेका छन ।
यसरी एसियाका विभिन्न मुलुकमा फैलिँदै गइरहेको यो रोग सन् २०२० मेको पहिलो हप्ता भारतमा धेरै बङ्गुर पालन गरिने असम र अरुणाचल राज्यमा आइपुग्यो र केही महिनाअगाडि भुटानमा समेत देखा परेको थियो । भारतमा देखा परेपछि यो रोग नेपाल भित्रिने अनुमान थियो । त्यसको करिब दुई वर्षपछि आखिर देखा परिछाड्यो । यद्यपि यो रोग नेपालमा कसरी भित्रियो, यकिन कारण थाहा भैसकेको छैन ।
नेपालमा देखा परिसकेको छ । अब यो रोग कतिको घातक छ ? कतिको मात्रामा क्षति गर्छ ?
यो रोग एकदमै संवेदनशील र जटिल रोग हो । यो रोगको अहिलेसम्म भ्याक्सिन पनि पत्ता लगेको छैन भने उपचार पछि छैन । लागे पछि सबै मर्न पनि सक्छ । कुनै खोरमा शतप्रतिशतसम्म बङ्गुरहरू बिना कुनै लक्षण रातारात मर्न सक्छन् । कुनै खोरमा भने ४० देखि ४२ डिग्री सेल्सियससम्मको उच्च ज्वरो आउने, झोक्राएर एकै ठाउँमा थुप्रने, शरीरमा रगत जमेका राता धब्बाहरू देखिने, कानका टुप्पाहरूमा रगत जमेर कालो–नीलो बन्ने र केही दिनभित्रै ठूलो सङ्ख्यामा बङ्गुरहरू मर्ने हुन्छ ।
मन्द खालको भाइरस भएमा मृत्युदरमा केही कमी हुन्छ । अझ हाम्रो जस्तो देशमा यो रोग देखा पर्नु भनेको एकदमै गम्भीर छ । तर अन्य रोगजस्तै बङ्गुरको हैजा, साल्मोनेलोसिस, स्वाइन इरिसेपिलस, पीआरआरएस, स्वाइन अजेस्कीलगायत र विषादीजन्य समस्यामा समेत समान खालका लक्षण देखिने हुँदा रोग यकिन गर्न प्रयोगशालामा परीक्षण अत्यावश्यक हुन्छ ।
यो रोगका लक्षण चै के कस्ता छन् ?
यो रोगबाट सङ्क्रमण भएमा सुँगुर प्रजातिमा उच्च ज्वरो आउने (१०४ देखि १०७ डिग्री फारेनहाईट),
– कान, पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुने,
– शरीरमा निलो धब्बा देखिने,
– खाना नखाने,
– बान्ता गर्ने,
– छेर्ने,
– छट्पटाउने,
– चाल धरमराउने,
- दाना पानी नखाने
- श्वास फेर्न गाह्रो हुने
- दिसामा रगत देखिने
– तुहिने जस्ता लक्षण सहित बथानमा एकै पटक ठूलो सङ्ख्यामा सुँगुर, बङ्गुर तथा बँदेल मर्ने गर्दछन्।
यो रोग विशेष गरी रोगी बङ्गुर वा त्यसका पाठा पाठी वा मासु वा रोगी पशुको सम्पर्कमा आएका वस्तु एक स्थानबाट अर्को स्थानमा लैजाँदा सजिलै सर्ने हुँदा रोग छिटो फैलन सक्छ।
त्यसो भए रोग सर्ने मुख्य तरिका चै के हो ?
– सङ्क्रमित बंगुर, सुँगुर, बँदेलको प्रत्यक्ष सम्पर्कबाट
– रोगी पशुको ¥याल, रगत, मलमूत्र, मासु वा यिनीहरूको लसपसमा आएका दानापानी लगायत सामाग्रीबाट
– रोगी बंगुर, संगुर तथा बँदेल बिनबेचबाट
– सङ्क्रमित खोरमा गएको मानिसको कपडा, जुत्ता, चप्पल आदी बाट
त्यसो भए अब यो रोग नियन्त्रण कसरी गर्न सकिन्छ ?
यो रोग विरुद्ध हालसम्म कुनै खोप उपलब्ध नभएको र रोग विरुद्ध प्रभावकारी उपचार पत्ता लागेको छैन । रोग देखा परेमा ठूलो आर्थिक क्षति गराउने हुँदा कुनै स्थानमा अस्वाभाविक रूपमा बङ्गुर मरेमा वा माथिका लक्षण देखा परेमा तत्काल सङ्घ, प्रदेश र स्थानीय तहमा रहेका पशु सेवासँग सम्बन्धित कुनै पनि निकायमा खबर गर्न पनि म आग्रह गर्छु । साथै यी उपाय अवलम्बन गरी रोग नियन्त्रण गर्न आग्रह गर्छु ।
– फार्ममा जैविक सुरक्षाका विधिहरूको अवलम्बन गर्ने
– बङ्गुर पालिएको खोर र फार्म परिसरमा नियमित सरसफाइ गरी चुना, ब्लिचिंग पाउडर, फर्मा लिन जस्ता सामग्री प्रयोग गरी निःसंक्रमण गर्ने
– रोगको शङ्का लागेका पशुहरूलाई बथानबाट छुट्टाएर अलग्गै राख्ने
– शङ्कास्पद पशुको नमुना प्रयोगशाला परीक्षण गराउने र रोग प्रमाणित भएमा सो खोरमा रहेका पशुलाई मानवीय तवरले नष्ट गर्ने ड्ड मरेको पशुलाई राम्रोसँग खाडलमा गाड्ने वा जलाउने
– घरपालुवा सुँगुर बङ्गुरलाई जङ्गली बँदेलको सम्पर्कमा आउन नदिने
– सुँगुर, बङ्गुर तथा बँदेललाई होटेल रेष्टुरेन्टबाट निस्कने फोहोर खानेकुरा खुवाउने गरिएमा रोगी पशुको मासु हड्डी समेत मिसिन सक्ने र यसबाट स्वस्थ फार्ममा सङ्क्रमण फैलन सक्ने उच्च जोखिम रहने हुँदा यस्ता खानेकुरा नखुवाउने
हामीले अफ्रिकन स्वाइन फिभर के हो ? कसरी नियन्त्रण गर्ने भनेर जानकारी पाइसक्यो । अब यहाँले अगि नै पनि नेपाल भित्रिन नदिन पूर्व तयारी गरेका थियौँ भन्नु भयो । पूर्व सावधानी अपनाउँदा अपनाउँदै कसरी चै नेपाल भित्रिएको हुन सक्छ ?
मैले अघि पनि भनिसकेको छु । यसअघि नै हाम्रो छिमेकी देशहरूमा यस अघि नै यो रोग फैली सकेको छ । भारत, चीन, भुटान लगायत सबै छिमेकी देशहरूमा देखा परिसकेको हुनाले भारतबाटै नेपाल भित्रिएको हामीले अनुमान गरेका छौँ । यसमा अझ अध्ययन हुन नै बाँकी रहेको छ । यो रोग रोक्न धेरै देशले अरबौँ डलर खर्च गरेका छन् ।
तर पनि सम्भव भएको छैन । हाम्रोमा त अझ खुल्ला सीमा छ । छिमेकी देशहरूमा देखिने बित्तिकै हामीले बंगुर तथा बङ्गुरजन्य वस्तु ओसार पोसार गर्न रोक लगाएका थियौँ । खुल्ला सीमा धेरै छन् । लुकी छिपी मासुको अवैध आयात धेरै हुन्छ । त्यसरी पनि सरेको हुन सक्छ । अर्को कुरा भने बंगुर फार्ममा काम गर्ने कुनै मानिसको माध्यमबाट पनि सरेको हुन सक्छ । साथै किर्नाले पनि सार्न सक्छ ।
अब नेपालमा भित्री सकेको छ । किसान त्रसित छन् । तपाईँहरूले चै यो रोग नियन्त्रण गर्न के गरिरहनु भएको छ ?
२०१८ मा भारतमा अफ्रिकन स्वाइन फिभर देखा परेको थियो । त्यहाँदेखि नै हामीले पूर्व तयारी सुरु गरेका थियौँ । अफ्रिकन स्वाइन फिभर देखिएको ठाउँबाट बंगुर तथा सुँगुर जन्य बस्तु आयात गर्न रोक लगाइएको थियो ।
रोग भित्रिन नदिन सबै सरोकारवा एक जुट हुनु पर्ने देखिन्छ । त्यसको लागि सातै प्रदेशका मन्त्रालय र स्थानीय तहलाई पनि पत्र लेखेर रोग नियन्त्रणमा लाग्न भनेका छौँ । त्यसै गरी उपत्यकाका भेटनरी तथा वनका निकायलाई मैले जानकारी गराएको छु । शङ्का लागेको नमुनाहरू पठाउन भनेका छौँ । यो रोग भाइरसबाट फैलिने र भ्याक्सिन पनि नभएका कारण फैलिने धेरै सम्भावना छ ।
अरू देशमा पनि यसले धेरै क्षति गरेको छ । नियन्त्रण गर्न धेरै समस्या छ । एक ठाउँ देखिए पनि अर्को ठाउँमा नदेखियोस् भनेर व्यवसायीसँग पनि छलफल गर्नै बाँकी रहेको छ । भ्याक्सिन नआई सकेको हुनाले पनि हामीलाई यो रोगबाट बचाउन धेरै मुस्किल छ । तर यसको लक्षण पनि अरू रोगसँग मिल्दो जुल्दो रहेको छ । परीक्षण नै गर्न आवश्यक छ । त्यसैले पनि नजिकैको भेटनगरीमा गएर परीक्षण गर्न पनि किसानहरूलाई आग्रह गर्छु ।
परीक्षण नेपालमै हुन्छ की अस्ट्रेलिया नै पठाउनु पर्ने हो नमुना ?
परीक्षण हामी कहाँ पनि हुन्छ । तर पहिलो पटक नेपालमा देखिएको हुनाले भेरिफाईको लागि बाहिर पठाएका हौं । विश्व पशु स्वास्थ्य सङ्गठन (ओआई) ले तोकेको अस्ट्रेलियाको ल्याबले भेरिफाइ गरेको हो । अब नेपालमै हुन्छ । हामीले परीक्षण गरेको र अस्ट्रेलियामा गरेको परीक्षण मिल्यो ।
अब पहिले नै उपत्यकामा देखियो, उपत्यका बाहिरको अवस्था कस्तो छ ? अहिलेसम्म नमुना आएको छ छैन ?
हालसम्म उपत्यका बाहिरबाट नमुना आएको छैन । अहिलेसम्म उपत्यकाको मात्र नमुना सङ्कलन भएर परीक्षण भएको हो । नमुना नआएपछि अहिलेसम्म देखिएको छैन भन्ने नै बुझ्नु पर्छ ।
विभागलाई कतिको चुनौती छ ?
हामीलाई धेरै चुनौती छ । नयाँ भाइरस हो न भ्याक्सिन छ । अरू देशले एक ठाउँ देखिने बिक्ति कै सबै ठाउँको बंगुर, सुँगुर नष्ट गरिन्छ तर नेपालमा त्यो सम्भव छैन । यो रोगबाट सङ्क्रमित भई बाँचेका बङ्गुरहरूले महिनौँसम्म रोगको वाहकका रूपमा काम गर्ने हुँदा सामान्यतया रोग प्रमाणित भएको फार्म वरिपरिको निश्चित क्षेत्रका बङ्गुरहरू सरकारले नै मार्ने र किसानहरूलाई क्षतिपूर्ति दिने अन्तर्राष्ट्रिय अभ्यास छ ।
यस्तो अभ्यास देशको कानुन अनुसार फरक हुन सक्छ । भारतले रोग प्रमाणित भएको एक किलोमिटर वरिपरिका बंगुर मार्ने नीति लिएको छ । नेपालमा पनि ‘अफ्रिकन स्वाइन फिभर’ नियन्त्रणलाई आवश्यक ऐन कानुन, आदेशहरूको तर्जुमा तुरुन्तै गर्नुपर्छ ।
छिटो रोग पत्ता लगाउन अनि नियन्त्रण गर्न सर्भिलेन्स प्रणालीको विकास–कार्यान्वयन गर्ने, बङ्गुर पालनमा जैविक सुरक्षा बलियो बनाउने, पशु चिकित्सक तथा प्राविधिक र बङ्गुर पालक किसानको क्षमता बढाउने, बङ्गुरहरू आयात र ओसारपसार व्यवस्थित गर्ने र पशु चिकित्सकले जाँचेर दिने स्वस्थ प्रमाणपत्र अनिवार्य गर्ने विषयमा ध्यान दिन आवश्यक छ । प्रयोगशाला निदान सुविधालाई थप सुदृढीकरण र विस्तार गर्नु पनि उत्तिकै जरुरी छ ।
सङ्घसँगै प्रदेश र स्थानीय सरकारहरूसमेत आफ्नो क्षेत्रमा यो नयाँ रोग भित्रिन्छ कि भन्नेमा चनाखो हुनुपर्छ । सरकार र किसान मिली जैविक सुरक्षाका उपाय अपनाउनु नै यो रोगबाट बङ्गुरहरूको सुरक्षा गर्ने एक मात्र विकल्प हो । यो हाम्रो लागी नयाँ विषय भएका कारण पनि के कसरी गर्ने हो भनेर सरोकार वालासँग, व्यवसायीसँग छलफल हुन नै बाकीं छ । किसानहरूले राहत पाउने नपाउने अहिले फिक्स भएको छैन । अब हामीले त्यसको लागि पहल चै गछौं ।















प्रतिक्रिया थप्नुहोस्