काठमाडौँ, ३ फागुन । प्रमुख मसला बाली अन्तर्गत पर्ने अदुवा उत्पादनमा ह्रास आउन मात्रै होइन अन्तर्राष्ट्रिय बजारमा निर्यात हुनपनि कम हुदै गएको छ । मानिसलाई आवश्यक पर्ने ६ वटै तत्वहरू कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो पदार्थ, भिटामिन, खनिज पदार्थ र पानी पाइने रेसा तथा अन्य औषधीयुक्त तत्वहरू प्रसस्त मात्रामा पाइने अदुवा उत्पादनमा सरकारले पटक्कै सहयोग गरेको देखिदैन ।
मध्य पहाडी जिल्लाहरूमा अदुवा खेती व्यवसायिक रुपामा हुँदै आएपनि पछिल्लो समयमा किसानहरु अदुवा खेती गर्न छाड्दै जान थालेका छन् । यस मसला बालीलाई ताजा, सुठो वा धुलो रुपामा विभिन्न परिकारमा स्वाद प्रदान गर्न प्रयोग गरिन्छ । अन्य बालीको तुलनामा उत्पादकत्व अत्यधिक भएका कारण यस बालीबाट मनग्य आम्दानी गर्न सकिन्छ । तर पछिल्लो समय नेपालमा यसको उत्पादन घट्दै गएको नेपाल अदुवा उत्पादक तथा व्यवसायी सङ्घले जनाएको छ ।
किसाहरुले उत्पादन गरेको अदुवाको मूल्य खासै नहुनुका साथै बजार पनि नपाउँदा किसान अदुवा व्ववसायबाट पलायन हुन थालेका छन् । आज हामीले सङ्घका अध्यक्ष नरेन्द्र खड्कासँग नेपालमा अदुवा खेतीको सम्भावना र आवश्यकता लगायतका विषयमा कुराकानी गरेका छौँ ।
नेपालमा चैँ अदुवा खेतीको अवस्था कस्तो छ ?
पछिल्लो समयलाई हेर्ने हो भने अदुवा खेतीको अवस्था चिन्ताजनक छ । किन भने किसानहरुले उत्पादन गरेको अदुवाको मूल्य पाउन सकिरहेका छैनन् । यति बेला ८ देखि १० रुपैयाँ केजी अदुवा बिक्री गर्न किसान बाध्य छन् । उनीहरूले परिश्रम गरेको मूल्य नै पाउन सकिरहेका छैनन् । अर्को कुरा बजार नै छैन । नेपालको अदुवा निर्यात हुने भारतमा मात्रै हो । भारतीय एकल बजारले नेपाली कृषकहरू निक्कै ठूलो मारमा पर्ने गरेका छन् । जर्मन लगायतका युरोपेली मुलुकमा अदुवाबाट एक सय प्रकारका खाद्य, औषधी तथा प्रसाधनका सामाग्री बन्ने गरेको विज्ञहरूले बताउने गरेका छन् । नेपालमा अदुवाबाट खाने मसला र सुठो बनाउने भन्दा भिन्न कुनै वस्तु तयार गरिँदैन । केही वर्ष अघिसम्म त नेपाली अदुवा भारत राम्रोसँग बिक्री हुन्थ्यो । अहिले भारत आफैले अदुवा धेरै उत्पादन गरिरहेको छ । त्यति मात्र हैन अब त भारतबाट अदुवा नेपाल भित्रिन थालेको छ । जसका कारण नेपाली किसान मर्कामा परिरहेका छन् । अब हामीले निर्यातका लागि तेस्रो मुलुक खोज्नु पर्ने हुन्छ । त्यसो गरे सम्भावना धेरै छ । हैन भने अन्तर्राष्ट्रिय बजारमा अदुवाको ठूलो माग हुँदाहुँदै पनि नेपालमा अदुवा खेतीको भविष्य अन्योलमा छ ।
अहिले नेपालमा वार्षिक कति अदुवा उत्पादन भइरहेको छ ? कलिे रोजगारी पाइरहेका छन् ?
महासङ्घको तथ्याङ्क अनुसार केही वर्ष अघि वार्षिक ४ लाख मेट्रिक टन अदुवा उत्पादन भएको थियो । तर नेपाल सरकारको तथ्याङ्क अनुसार अडाइदेखि तीन लाख मेट्रिक टनसम्म देखिन्थ्यो । कसरी फरक तथ्याङ्क देखियो भने त्यतिखेर भारतमा अदुवाको धेरै माग थियो । खुल्ला नाकाहरूबाट पनि निर्यात हुन्थ्यो । तर अहिले आएर एक लाख मेट्रिक टन पनि भारत निर्यात नभएको अवस्था छ । यता रोजगारीको कुरा गर्दा पूर्वी इलामदेखि पश्चिमसम्म अदुवा खेती भइरहेको अवस्था छ । मलाई लाग्छ ६ देखि ८ लाख किसानले रोजगारी पाएका छन् । तर पछिल्लो समय घट्ने क्रम जारी छन् । भारत बाहेक अन्तर्राष्ट्रिय बजारमा पठाउन किन नसकिएको हो ? धेरै समस्याहरू छन् । त्यसमध्ये एक हो हामीसँग आफ्नो बन्दरगाह नै छैन । त्यसैगरी अदुवा पठाउँदा आवश्यक पर्ने पूर्वाधारहरू पनि छैन । किसानहरुले गुणतररिय अदुवा उत्पादन गर्न सकेका छैनन् । किसानहरुले पुरानै बीउ प्रयोग गरेर अदुवा उत्पादन गर्न बाध्य छन् । राम्रो हुनु पर्ने ठाउँमा नराम्रो हुँदै गएको छ । अदुवाका श्रोत भनेको किसान हो । उनीहरूले आफूले उत्पादन गरेको वस्तुको मूल्य नपाएसँगै उनीहरू हतोस्हित हुने भए । त्यसपछि व्यवसायबाट पलायन हुन थाले ।
सरकारी तर्फबाट अदुवा क्षेत्र प्रवर्द्धनको लागि कतिको चासो दिएको पाइन्छ ?
अहिलेसम्म अदुवा क्षेत्र प्रवर्द्धनका लागि सरकारको ध्यान जान सकेको छैन । नेपालमा अदुवा खेतीको सम्भावना धेरै छ । नेपालबाट तेस्रो मुलुकमा निर्यात गरी मूल्य श्रृखला बढाई कृषकको आयआर्जन बढाउने गतिलो वाली पनि बन्न सक्छ । नेपालमा अदुवा लगाइने क्षेत्रफल १८ हजार ९४१ हेक्टर रहेको छ । विश्वमा लगाइने कूल क्षेत्रफलको पाँचौँ स्थानमा नेपाल पर्दछ । उत्पादनका दृष्टिले नेपाल विश्वभरमा तेस्रो स्थानमा छ । तर सरकारले अदुवाको व्यवसायीकरण, निर्यात, बजारीकरण, अदुवाको मूल्यमा कुनै काम नै गरेको छैन । कुनै–कुनै व्यवसायिहरुले आफ्नै क्षमतामा काम गर्न खोजी रहेको पाइन्छ । तर सरकारको अहिलेसम्म कुनै पनि भूमिका देखिँदैन ।
त्यसो भए तपाईँको बिचारमा अदुवा खेती प्रवर्द्धनका लागि के गर्नु पर्ला ?
यसका लागि कृषि तथा पशुपन्छी मन्त्रालय र उद्योग वाणिज्य मन्त्रालयको महत्वपूर्ण भूमिका हुन्छ । कृषि मन्त्रालय किसानहरुलाई गुणस्तरिय बीउ दिनु पर्यो । त्यसैगरी अदुवा खेती कसरी गर्ने भनेर उनीहरूलाई तालिम दिनुपर्ने हुन्छ । र, किसानले उत्पादन गरेको वस्तुलाई बजारमा सही ढङ्गले बिक्री गर्ने वातावरण बनाउनुका साथै उचित मूल्य पाउने वातावरण तयार गर्नु पर्छ । यता उद्योग वाणिज्य मन्त्रालयले अदुवाको लागि उद्योग स्थापना गरी विभिन्न परिकार बनाउनु सहयोग गर्नु पर्छ । अन्तर्राष्ट्रिय बजारमा अदुवाबाट के–कस्तो परिकारहरु बनाइरहेका छन् वा कुन देशबाट अदुवाको माग बढि भइरहेको छ यस्तो कुरामा सरकारले ध्यान दिनुपर्छ । सम्भावना खोज्नु पर्यो । साथै अन्य अन्तर्राष्ट्रिय बजारमा निर्यातको लागि पहल गर्नु पर्यो । नभए अदुवा खेतीको सम्भावना छैन । अदुवामा ठूला लगानी गर्ने व्यक्तिको कमी छ । यसका लागि सरकारले अदुवामा कहाँ–कहाँ समस्या छ भनेर अनुसन्धान गर्नु प¥यो । ती समस्यासँग लडेर कसरी अघि जान सकिन्छ भनेर सरकारले वार्षिक बजेट छुटाएर ५ वर्षे योजना बनाएर अघि बढ्न आवश्यक छ । यसका साथै अदुवालाई प्रशोधन गरेर विभिन्न परिकारहरू बनाउने हो भने सम्भावना धेरै छ । अरु देशले यसो गरेको अवस्था छ भने हाम्रो देशमा प्रत्येक महिना सरकार फेरिने अवस्था छ ।
सघको तर्फबाट चाहि के कस्ता काम गरिरहनु भएको छ ?
अहिले हामीले किसानलाई सल्लासुझाव दिने काम गरिरहेका छौँ । त्यसैगरी विगतमा कृषक पाठशाला भन्ने कार्यक्रम सञ्चालन ग¥यौ । जहाँ हामीले किसानहरुलाई अदुवा कसरी रोप्ने, गोडमेल गर्ने, रोग किरा लाग्दा कसरी रोकथाम गर्ने भनेर तालिम सञ्चालन गरेका थियौँ । अहिले चाहि हामीले सरकारका निकायसँग अदुवा खेतीका बारेमा कहिले काहि छलफल गर्ने गएका छौँ । यदि कोही अदुवाको बारेमा अध्ययन गर्न आए हाम्रो तर्फबाट सक्ने सहयोग गरिरहेका छौँ ।
अन्त्यमा अदुवा सेवन गर्नु कतिको फाइदाजनक छ ? यसको बारेमा केहि भन्दिनुस न ?
अदुवा हाम्रो स्वास्थ्यका लागि धेरै फाइदाजनक रहेको विज्ञले बताउँदै आएका छन् । तपाई हामीलाई पनि थाहा छ खोकी लागेमा अदुवा सेवन गर्छ । त्यति मात्र हैन म तपाईँलाई केही बुद्धामा जानकारी गराउँछु ।
– अदुवाको बोट धार्मिक कार्यमा प्रयोग हुन्छ ।
– अदुवाबाट प्राप्त हुने तेल सुगन्धका लागी पेय पदार्थ, पाउरोटी, बिस्कुट आदिमा मिलाइन्छ ।
– अदुवाबाट प्राप्त हुने ओलियोरेजिन मसलाको रूपमा मासु प्रशोधन गर्ने कारखानामा अधिकतम प्रयोग गरेको पाइन्छ ।
– अदुवाको पाउडर चियामा वा अन्य जडीबुटीको चिया बनाउँदा मिसाउने गरिन्छ ।
– कलिलो अदुवाबाट बनाइएको अचार ज्यादै स्वास्थ्यकर हुनुको साथै धेरै दिन सम्म राख्न सकिन्छ ।
– रुघाखोकी लागेमा अदुवाले निको पार्छ, अदुवा र मह मिसाइ खानाले एन्टिवायोटिक कै काम गर्दछ ।
– हात–खुट्टा नतातिले अवस्था भएका लाई तातो अदुवा पानी ख्वाउनाले शरीरमा गर्मी पैदा गराउँछ ।
– तालु खुइलेका रौँ झरेको ठाउँमा अदुवाको रस मालिस गर्नाले रौँ पलाएर आउँछ ।
– टाउको दुखेको अवस्थामा अदुवाको लेप लगाएमा आराम हुन्छ ।
– पशुपन्छीहरूका लागी बनाइने औषधीहरूमा पनि अदुवाको धेरै प्रयोग हुने गरेको पाइन्छ ।
नेपालमा नगदे बालीको रुपमन अदुवा उत्पादन प्रति कृषकहरुको चासो अत्यन्त बढेको तर यसको उचित बजार नहुनाले र सरकारले कृषकको मर्म बुझेर हाल संम कुनै पनि कदम नचालेकाले अदुवा उत्पादनमा विश्वको तेश्रो देश भएर पनि यहाँका कृषक निरुत्साहीत हुनु र नेपाली कृषकहरुको यत्रो आर्थिक संमृद्धिको संभावना प्रति सरकारले आँखा चिम्लनु अत्यन्त दु:खद र लाजमर्दो कुरा हो।सरकारबाट अदुवा उत्पादन, संकलन,प्रशोधन तथा विक्री वितरण गर्न तर्फ गंभिर ध्यानाकर्षण गरी तत्काल ठोष कदम चालियोस् - संपूर्ण अदुवा व्यवसायिक कृषकरुको तर्फबाट जोडदार माग राख्न चाहन्छु। म प्रति वर्ष ५० क्वीन्टल अदुवा उत्पादक कृषक भएकाे र उचित मूल्य नपाएर यो व्यवसायको विकल्प दोज्न थालेको पीडित कृषक हुँ।















नेपालमा नगदे बालीको रुपमन अदुवा उत्पादन प्रति कृषकहरुको चासो अत्यन्त बढेको तर यसको उचित बजार नहुनाले र सरकारले कृषकको मर्म बुझेर हाल संम कुनै पनि कदम नचालेकाले अदुवा उत्पादनमा विश्वको तेश्रो देश भएर पनि यहाँका कृषक निरुत्साहीत हुनु र नेपाली कृषकहरुको यत्रो आर्थिक संमृद्धिको संभावना प्रति सरकारले आँखा चिम्लनु अत्यन्त दु:खद र लाजमर्दो कुरा हो।सरकारबाट अदुवा उत्पादन, संकलन,प्रशोधन तथा विक्री वितरण गर्न तर्फ गंभिर ध्यानाकर्षण गरी तत्काल ठोष कदम चालियोस् - संपूर्ण अदुवा व्यवसायिक कृषकरुको तर्फबाट जोडदार माग राख्न चाहन्छु। म प्रति वर्ष ५० क्वीन्टल अदुवा उत्पादक कृषक भएकाे र उचित मूल्य नपाएर यो व्यवसायको विकल्प दोज्न थालेको पीडित कृषक हुँ।