गण्डकी, ११ साउन । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा प्रदेशभरका ११ हजार २३२ दुग्ध किसानलाई रु ५ करोड ५८ लाख प्रोत्साहन रकम वितरण गरेको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले दूध उत्पादन र बजारीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त सहयोग उपलब्ध गराएको जनाएको छ ।
मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत डा. शोभा शर्माका अनुसार मन्त्रालयले तोकेको मापदण्ड पूरा गरेका दुग्ध सहकारी संस्थामार्फत किसानलाई प्रत्यक्ष प्रोत्साहन रकम वितरण गरिएको हो । मापदण्डअनुसार दैनिक कम्तीमा २०० लिटर र वार्षिक २०० दिन दूध संकलन तथा कारोबार गर्ने सहकारी संस्थाहरू यस कार्यक्रममा सहभागी हुन पाउने व्यवस्था रहेको छ ।
यस्तै, सहकारीमार्फत आर्थिक वर्षमा कम्तीमा ३० दिन दूध बिक्री गर्ने किसान प्रोत्साहन रकमका लागि योग्य हुने व्यवस्था गरिएको छ । एक सहकारी संस्थाले अधिकतम रु १७ लाख ५० हजार सम्म प्रोत्साहन सहयोग प्राप्त गर्न सक्ने मन्त्रालयले जनाएको छ ।
सरकारले किसानलाई प्रति लिटर दूधमा रु ५ का दरले प्रोत्साहन सहयोग उपलब्ध गराउँदै आएको छ । तर केही सहकारीमा माग बढी भएका कारण उपलब्ध बजेटका आधारमा प्रतिलिटर प्राप्त हुने रकम केही घट्न सक्ने डा. शर्माले बताए ।
वितरण गरिएको प्रोत्साहन रकममध्ये ४ प्रतिशत सहकारीको कार्यक्रम सञ्चालन तथा व्यवस्थापन खर्चका लागि छुट्याइने र बाँकी ९६ प्रतिशत रकम किसानलाई नै वितरण गरिने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ ।
















प्रतिक्रिया थप्नुहोस्