सुलीकोट, १६ असार । गोरखामा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण फैलिँदा पछिल्लो तीन महिनामा २५० भन्दा बढी बङ्गुर मरेका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, गोरखाका प्रमुख अनन्त कोइरालाका अनुसार जिल्लाका विभिन्न स्थानमा सङ्क्रमण पुष्टि भएपछि किसानलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
सबैभन्दा बढी क्षति गोरखा नगरपालिका–६ का एक किसानको बङ्गुर फार्ममा भएको छ, कार्यालय प्रमुख कोइरालाले भने, "त्यहाँ एक साताको अवधिमा मात्र १२० वटा बङ्गुर मरेका छन् ।" गोरखा नगरपालिका–६, ७ र ८ तथा सहिद लखन गाउँपालिका–६ मा पनि अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण देखिएको उनले बताए ।
गोरखामा किसानले पालेका बङ्गुरमा उच्च ज्वरो आउने, खाना नखाने, शरीरमा रातो वा कालो धब्बा देखिने जस्ता लक्षण देखा परेका थिए । त्यसपछि बिरामी बङ्गुरको र्यापिड परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको कार्यालय प्रमुख कोइरालाको भनाइ छ । सङ्क्रमणबाट मरेका बङ्गुरको यथार्थ विवरण सङ्कलन गर्ने काम अझै जारी रहेकाले मृत सङ्ख्या बढ्न सक्ने कार्यालयले अनुमान गरेको छ ।
यो रोग विषाणुका कारण लाग्ने भएकाले यसको प्रभावकारी उपचार उपलब्ध नभएको कार्यालय प्रमुख कोइरालाले बताए । उनले भने, रोग फैलिन नदिन जैविक सुरक्षा नै सबैभन्दा प्रभावकारी उपाय हो । त्यसैले बिरामी बङ्गुरलाई स्वस्थ बङ्गुरबाट तत्काल छुट्याउने, खोरवरपर नियमित सरसफाइ गर्ने, बाहिरी व्यक्तिको अनावश्यक आवतजावत रोक्ने तथा आवश्यक जैविक सुरक्षा सामग्री प्रयोग गर्न म किसानहरूलाई आग्रह गर्दछु ।
पशु सेवा कार्यालयले प्रभावित क्षेत्रमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै किसानलाई जैविक सुरक्षा सामग्रीसमेत वितरण गरेको जनाएको छ । सङ्क्रमण थप फैलिन नदिन समयमै सूचना दिने, शङ्कास्पद बङ्गुरको परीक्षण गराउने र पशु स्वास्थ्यकर्मीको सल्लाह अनुसार मात्रै व्यवस्थापन गर्न किसानलाई अनुरोध गरिएको छ ।
पशुपालनबाट जीविकोपार्जन गर्ने किसानका लागि यो सङ्क्रमण ठुलो चुनौती बनेकाले समयमै सावधानी अपनाउन पशु सेवा विज्ञ केन्द्र गोरखाले सबैमा विशेष आग्रह गरेको छ । गोरखापत्र अनलाइन
















प्रतिक्रिया थप्नुहोस्