वर्षा नहुँदा खेतमा धाँजा, रोपेका धानका बिरुवा सुक्न थाले

पाल्हीनन्दन (नवलपरासी पश्चिम), १०असार । बर्दघाट सुस्तापश्चिम नवलपरासी क्षेत्रमा लगातार दुई सातादेखि वर्षा नहुँदा खडेरी लम्बिएको छ । अत्यधिक गर्मीसँगै धानखेतमा धाँजा फाट्न थालेपछि रोपिएका धानका बिरुवा सुक्न थालेका छन् भने किसान चिन्तित बनेका छन् ।

लामो समयदेखि वर्षा नहुँदा सिँचाइका स्रोत सुक्दै गएपछि खेतीपाती प्रभावित भएको छ। यससँगै खानेपानीको समस्या पनि गम्भीर बन्दै गएको स्थानीयवासीले बताएका छन् ।

पाल्हीनन्दन–६ निवासी किसान दीनानाथ यादवका अनुसार खेतमा धाँजा फाट्न थालेपछि रोपिएका धानका बिरुवा सुक्न थालेका छन् । पानीको अभावका कारण उनले धान रोपाइँको कामसमेत स्थगित गरेका छन् । उनका अनुसार यस वर्षको खडेरीका कारण डिप बोरिङ र चापाकलसमेत सुक्न थालेपछि सिँचाइसँगै पिउने पानीको समस्या थपिएको छ ।

पाल्हीनन्दन-५ का वडाध्यक्ष दयाशङ्कर त्रिपाठीले गण्डक नहरदेखि दक्षिणतर्फका केही गाउँमा चापाकलबाट थोरै भए पनि पानी उपलब्ध भइरहेकाले दैनिक कामकाजमा केही राहत मिले पनि अन्य क्षेत्रमा पानीको चरम अभाव रहेको बताए ।

खानेपानीको समस्या समाधान गर्न स्थानीयवासीले चन्दा सङ्कलन गरेर मोटर सञ्चालन गरी खानेपानी संस्थानले जडान गरेको डिप बोरिङबाट पानीको व्यवस्था गर्नुपरेको उनले जानकारी दिए ।

उनका अनुसार दुई साताभन्दा बढी समयदेखि वर्षा नहुँदा अत्यधिक गर्मी बढेको छ भने रोपिएका धानका बिरुवा सुक्न थालेपछि बाँकी खेतमा धान रोप्ने काम रोकिएको छ ।

कृषि ज्ञान केन्द्र नवलपरासीका कार्यालय प्रमुख शिवप्रसाद अर्यालले समयमै वर्षा नहुँदा किसानहरू थप चिन्तित बनेको बताए । उनका अनुसार जिल्लामा हालसम्म करिब ४० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।

“दुई सातादेखि पानी नपर्दा रोपिएका धानका बिरुवा सुक्न थालेका छन् । खानेपानीको समेत हाहाकार भएपछि किसानसहित स्थानीयवासी आत्तिएका छन् । बोरिङ र चापाकलसमेत सुक्दा पश्चिम नवलपरासी क्षेत्रमा समस्या झन् बढेको छ,” उनले भने ।

यसैबीच, पूर्वी क्षेत्रबाट मनसुन भित्रिएको खबरपछि स्थानीय किसानले अब छिट्टै पर्याप्त वर्षा हुने, गर्मी कम हुने, खानेपानी तथा सिँचाइको समस्या समाधान हुने र धान खेतीले पुनः गति लिने आशा गरेका छन् । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै