महोत्तरीमा अनौठो दृश्य, एउटै बोटमा मालदह र दशहरी आँप

महोत्तरी, ३ असार । तराई-मधेस क्षेत्रमा अहिले आँप उत्पादनको मुख्य समय चलिरहेको छ । किसानका बगैँचा र खेतबारीमा विभिन्न जातका आँप लटरम्म फलेका छन् । तीमध्ये मालदह र दशहरी जातका आँप स्वाद र गुणस्तरका कारण विशेष लोकप्रिय मानिन्छन् ।

यही क्रममा महोत्तरीको भङ्गाहा नगरपालिका-४ रामनगरका किसान रामभगत महतोको घरआँगनमा रहेको एउटै आँपको बोटले सबैको ध्यान तानेको छ । कारण, एउटै बोटमा मालदह र दशहरी गरी दुई फरक जातका आँप फलेका छन् ।

दुई वर्षअघि मालदह जातको बिरुवा भनेर रोपिएको उक्त बोटमा यस वर्ष पहिलो पटक फल लागेको हो । बोटका मुख्य दुई हाँगामा फरक-फरक जातका आँप देखिएपछि किसान महतो पनि आश्चर्यचकित भएका छन् । “एकातिर मालदह र अर्कोतिर दशहरी फलेको छ । दुवै स्वादिष्ट जातका आँप भएकाले म निकै खुसी छु,” महतोले भने ।

उक्त बोटमा मालदह जातका आँप आकारमा ठूला देखिएका छन् भने दशहरी जातका आँप तुलनात्मक रूपमा साना छन् ।

स्थानीय बागवानी विज्ञ तथा लामो समय सरकारी सेवामा रहेर अवकाश प्राप्त ताराबहादुर भुजेलका अनुसार कलमी बिरुवा तयार गर्ने क्रममा फेदतिर दशहरी र माथिल्लो भागमा मालदहको हाँगा जोडिएको हुनसक्छ । उनका अनुसार एउटै बोटमा दुई फरक जातका आँप फल्नु निकै दुर्लभ र अपवादका रूपमा मात्रै देखिने घटना हो । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै