नेपालगञ्ज, २५ जेठ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागअन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले विभिन्न सरकारी निकाय र उपभोक्ता सरोकारवालासँगको संयुक्त टोलीमार्फत बाँके जिल्लाका डेरी, मिठाई तथा अन्य खाद्य व्यवसायमा अनुगमन गरेको छ ।
खाद्य स्वच्छता सप्ताह-२०८३ अन्तर्गत जेठ २१ र २४ गते गरिएको अनुगमनमा डेरी उद्योग, मिठाई पसल, होटल तथा खाद्य सामग्री बिक्री गर्ने विभिन्न व्यवसायको खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार निरीक्षण गरिएको हो ।
अनुगमनका क्रममा अधिकांश डेरीमा बिक्रीका लागि राखिएको दूध तथा दहीको नमुनामा युरिया र न्युट्रलाइजर परीक्षण गर्दा मिसावट नपाइएको कार्यालयले जनाएको छ । तर नेपालगञ्ज-१० स्थित रिदम डेरी पसलमा बिक्रीका लागि राखिएको करिब २० लिटर दूधमा न्युट्रलाइजरको उपस्थिती भेटिएपछि उक्त दूध नष्ट गरिएको छ । साथै पसललाई सात दिनभित्र सुधार गरी कार्यालयमा प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ ।
त्यस्तै शितल डेरी उद्योगमा उत्पादन तथा भण्डारण व्यवस्थापन, सरसफाइ, अभिलेख व्यवस्थापन, खाद्य उद्योग अनुमति नवीकरण तथा उत्पादन मिति र उपभोग्य मिति उल्लेख नगरेको लगायतका विभिन्न कमजोरी फेला परेपछि सात दिनभित्र सुधार गर्न निर्देशन दिइएको छ ।
अनुगमन टोलीले डेरी व्यवसायीलाई सरसफाइ कायम राख्न, फ्रिजको तापक्रम अभिलेख राख्न, दूध तथा दही छोपेर भण्डारण गर्न, टायल प्रयोग गर्न तथा बिलबिजक व्यवस्थित राख्न निर्देशन दिएको छ ।
यस्तै नेपालगञ्जका मिठाई पसल, चाट भण्डार, जुस तथा फास्टफुड व्यवसायमा पनि अनुगमन गरिएको थियो । अनुगमनका क्रममा केही व्यवसायमा खाद्य पदार्थ पकाउन प्रयोग गरिएको तेल न्यून गुणस्तरको भेटिएको, खाद्य सामग्री खुला राखिएको, लेबलविहीन खाद्य सामग्री बिक्रीमा राखिएको तथा उपभोग्य मिति समाप्त भएका वस्तु फेला परेको जनाइएको छ ।
माहावीर छोलेभटुरा एन्ड चाट भण्डारमा करिब तीन लिटर तेल नष्ट गरिएको छ भने माया मिष्ठान्न भण्डारमा दुई लिटर तेल र करिब रु ६५० बराबरको जेरी नष्ट गरिएको छ । मःमः बारमा उपभोग्य मिति समाप्त भएको पाउरोटी र लेबलविहीन चाउचाउ फेला परेपछि ती सामग्री नष्ट गरिएको थियो ।
त्यसैगरी श्रीराम मिष्ठान्न भण्डारमा खाद्य पदार्थ खुला अवस्थामा राखिएको भेटिएपछि करिब रु १,५०० बराबरका समोसा, जलेबी, भुजिया र नमकिन नष्ट गरिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले उपभोक्ताको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै खाद्य व्यवसायको नियमित अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।


2026-08-11-12-08-56.jpeg)













प्रतिक्रिया थप्नुहोस्