तानसेन (पाल्पा), १९ जेठ । पाल्पाको तानसेनमा आयोजित सडक खाना महोत्सवले स्थानीय परिकार, संस्कृति र पर्यटन प्रवर्द्धनमा टेवा पुर्याएको छ । महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकको उल्लेख्य सहभागिता देखिएको छ ।
तानसेन नगरपालिका-६ बर्तुङमा आयोजित महोत्सवमा मगर, नेवारलगायत विभिन्न समुदायका महिलाहरू परम्परागत भेषभूषामा सजिएर स्थानीय खानाका परिकार बिक्रीमा व्यस्त देखिन्थे । बटुक, चुकाउनी, बारा, सेलरोटी, यःमरी, हाँसको छोइला, चटामरी, पकौडा तथा विभिन्न अचारका परिकारले दर्शकको ध्यान आकर्षित गरेका थिए ।
स्थानीय स्वादसँगै सांस्कृतिक कार्यक्रमको पनि विशेष आकर्षण रहेको महोत्सवमा विभिन्न जातजातिका भेषभूषा, नृत्य तथा राष्ट्रिय र स्थानीय कलाकारको प्रस्तुति समावेश गरिएको थियो । नेवारी समुदायको धिमे र लाखे नाच तथा मगर समुदायको घाटु र लिलि घोडा नाचले दर्शकलाई मनोरञ्जन प्रदान गरेको थियो ।
यसैबीच तानसेनको भीमसेनटोलमा आयोजित अर्को सडक खाना महोत्सवमा पनि दर्शक तथा पर्यटकको उल्लेख्य उपस्थिति रहेको आयोजकले जनाएको छ । महोत्सवमा स्थानीय परिकार, हस्तकलाका सामग्री तथा सांस्कृतिक कार्यक्रमहरू प्रदर्शन गरिएका थिए ।
स्थानीय खानाको संरक्षण, प्रवर्द्धन तथा पर्यटन विकास गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको भीमसेन टोल विकास संस्थाका अध्यक्ष प्रकाशनाथ गोंगलले बताए । उनका अनुसार महोत्सवबाट सङ्कलित रकम सामाजिक गतिविधि तथा खुला वाचनालयको व्यवस्थापनमा उपयोग गरिनेछ ।
स्थानीयवासी मोहन श्रेष्ठले महोत्सवले विभिन्न समुदायका मौलिक परिकार एकै स्थानमा चाख्ने अवसर दिएको बताए । त्यस्तै शान्ता ढकालले यस्ता कार्यक्रमले स्थानीय उत्पादनको प्रचारप्रसारसँगै महिला समूहको आम्दानी वृद्धि गर्न सहयोग पुगेको उल्लेख गरिन् ।
तानसेन नगरपालिकाले पनि महोत्सवमा सहयोग गरेको जनाएको छ । नगरप्रमुख सन्तोषलाल श्रेष्ठले सडक खाना महोत्सवले स्थानीय पर्यटन र व्यवसाय क्षेत्रमा देखिएको मन्दी कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
पछिल्ला वर्षहरूमा पाल्पामा यस्ता सडक खाना महोत्सव लोकप्रिय बन्दै गएका छन् । महिला समूह, टोल विकास संस्था तथा विभिन्न समुदायका संघसंस्थाले परम्परागत खानाका परिकारलाई प्रवर्द्धन गर्दै स्थानीय संस्कृति संरक्षणमा योगदान पुर्याइरहेका छन् । रासस


2026-10-02-03-10-26.jpeg)













प्रतिक्रिया थप्नुहोस्