बाँकेमा बसन्ते मकैखेतीतर्फ किसानको बढ्दो आकर्षण

बाँके, ३ वैशाख । नगदे बालीका रूपमा बजारमा सहज बिक्री हुन थालेपछि बाँकेका किसानहरू बसन्ते मकैखेतीतर्फ आकर्षित हुन थालेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा अहिले व्यावसायिक रूपमा मकैखेती विस्तार हुँदै गएको छ ।

कृषि ज्ञान केन्द्र बाँकेका अनुसार राप्तीसोनारी गाउँपालिका, खजुरा गाउँपालिका र नेपालगञ्ज उपमहानगरपालिकाका किसानले ठूलो परिमाणमा बसन्ते मकैखेती गरिरहेका छन् । हाल जिल्लामा ५६ हेक्टरभन्दा बढी क्षेत्रफलमा यस्तो खेती भइरहेको छ ।

राप्तीसोनारी गाउँपालिकामा साकार कृषि सहकारी संस्थामार्फत ४६ हेक्टर तथा खजुरा क्षेत्रमा खजुरा लिफ्ट सिँचाइ जल उपभोक्ता समूहमार्फत १० हेक्टर जमिनमा व्यावसायिक मकैखेती गरिएको छ । साथै, डुडुवा र नेपालगञ्ज क्षेत्रका किसानले पनि यस खेतीतर्फ चासो बढाउँदै लगेका छन् ।

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सन्तोष पाठकका अनुसार मकै उत्पादन भएपछि दाना उद्योगले खेतबाटै खरिद गर्ने भएकाले बजारको समस्या छैन । यसले किसानलाई मकैलाई नगदे बालीका रूपमा अपनाउन प्रेरित गरेको छ । केन्द्रले सिँचाइ सुविधा भएका क्षेत्रलाई लक्षित गर्दै बीउ, प्रविधि र तालिम उपलब्ध गराउँदै आएको छ ।

किसानलाई मकै छोडाउने यन्त्र, फौजी किराको नियन्त्रणका उपाय तथा सुरक्षित विषादी प्रयोगबारे तालिम दिइँदै आएको छ । उत्पादन बढाउन किसानहरूले उच्च उत्पादन दिने भारतीय बीउ प्रयोग गरिरहेका छन् ।

राप्तीसोनारी–६ स्थित साकार कृषि सहकारी संस्थाका मुख्य व्यवस्थापक जमानसिंह वलीका अनुसार कम लगानी र मेहनतमा राम्रो आम्दानी हुने भएकाले किसानहरू यसतर्फ आकर्षित भएका हुन् । मकैखेती वर्षमा तीन पटकसम्म गर्न सकिने, पानी कम लाग्ने र रोग–कीरा कम लाग्ने भएकाले यो अन्य बालीभन्दा लाभदायक रहेको उनले बताए ।

मकैको डाँठ पशुचौपायाका लागि घाँसको रूपमा प्रयोग हुने भएकाले यसबाट दोहोरो फाइदा लिन सकिने वलीले बताए । सहकारीमार्फत किसानलाई बीउ, यन्त्र, प्राविधिक सहयोग र उत्पादनको बजारीकरणमा समेत सहजीकरण गरिँदै आएको छ ।

कम जोखिम र राम्रो आम्दानीको सम्भावनासँगै बसन्ते मकैखेती बाँकेका किसानका लागि दिगो विकल्पका रूपमा स्थापित हुँदै गएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै

↑