काँक्रेविहार (सुर्खेत), ६ असोज । कर्णालीका हिमाली जिल्लामा प्रशस्त मात्रामा स्याउ उत्पादन भए पनि बजारसम्म पुर्याउन किसानलाई मुस्किल पर्ने गरेको छ । कर्णाली करिडोर हरेक वर्ष बर्खामा अवरुद्ध हुने भएकाले जुम्ला, मुगु र हुम्लाका किसानलाई बढी समस्या हुने गरेको हो । सडक अबरुद्ध हुँदा उत्पादन भएको स्याउ बारीमै थन्किने अवस्था दोहोरिँदै आएको छ ।
जुम्लामा यस वर्ष असिना–पानी र खडेरीका कारण स्याउ उत्पादन घटेको कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले जानकारी दिए । यसपालि किसान आफैंले प्रतिकिलो ७० मा बगैँचामै स्याउ बिक्री गरिरहेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतको स्याउ सुपरजोनले ११ हजार कार्टुन वितरण गरेपछि त्यसमै प्याक गरेर बिक्री गर्ने प्रचलन बढेको छ । जुम्लामा करिब २,९०० हेक्टर क्षेत्रमा मात्र फल लागेको छ भने रेड, रोयल, जोनाथन, गोल्डेन, गाला, फुजी र जोनाप्रिन्स जातका स्याउ खेती भइरहेका छन् ।
यस्तै, डोल्पामा पनि सडक र पुल अभावका कारण स्याउ बिक्रीमा समस्या भएको किसानले बताएका छन् । त्रिपुरासुन्दरी–४ का किसान पवन बुढाले प्रतिकिलो ५५ मा बगैँचामै बिक्री गर्नुपरेको बताए । वडाध्यक्ष रञ्जित बुढाका अनुसार, डोल्पाका किसानले यस वर्ष ५० हजारदेखि दुई लाखसम्म आम्दानी गरेका छन् । तर भेरी करिडोरको कच्ची सडक बर्खामा बन्द हुने भएकाले किसान अझै बोकेरै स्याउ बजारमा पु¥याउन बाध्य छन् ।


2026-08-11-12-08-56.jpeg)













प्रतिक्रिया थप्नुहोस्