काठमाडौँ, ७ भदौ । भेटिभर लामो काँसजस्तै बास्नादार घाँस प्रजातिको वनस्पति हो । यसको बास्ना चन्दनकैजस्तो हुन्छ । यसको उद्गमस्थल दक्षिण एसिया हो । यो तमिल भाषाको शब्द हो, यसको अर्थ हुन्छ, जरे घाँस । यसको वैज्ञानिक नाम क्रिसोपोगोन जिजानोइडेज हो । यो पोएसिआई परिवारमा पर्दछ ।
यो बगर क्षेत्रमा पलाउने काँसजस्तै करिब दुई मिटरसम्म अग्लो हुन्छ भने जरा पनि तीन मिटरभन्दा बढी फैलन्छ । त्यसैले यसलाई पहिरो वा बाढी रोक्नमा प्रयोग गरिन्छ । सामान्यतया तातो हावापानी भएको ठाउँमा भेटिभर खेती गर्न सकिन्छ तर छिप्पिएपछि भने हिउँदमा शून्य डिग्रीसम्म तापक्रम झरे पनि यो मर्दैन ।
यसको घाँसलाई पशुपन्छीको दानाका रूपमा पनि प्रयोग गर्न सकिन्छ । यो निकै पोसिलो हुन्छ । यसको जराबाट सुगन्धित तेल निकालिन्छ ,जुन अत्तर बनाउनमा प्रयोग हुन्छ । यसलाई घरेलु ओखतीका रूपमा पनि प्रयोग गरिन्छ ।
यसको जरा लामो हुने भएकाले खोला नाला तथा पोखरीको पानी शुद्ध पार्न तथा मौसम परिवर्तनको असर कम पार्नमा पनि सहयोगीसिद्ध मानिएको छ ।
यसले वातावरणमा फैलिएको कार्बन डाइअक्साइड ग्यासलाई पनि आफूमा आकर्षित गरेर माटोमा मिलाइ दिन्छ । यसलाई अति कम वर्षा हुने तथा बढी वर्षा हुने दुवै स्थानमा खेती गर्न सकिन्छ । खास गरी बाँझो तथा बालुवा रहेको नदी क्षेत्रमा पनि यसको खेती गर्न सकिन्छ । छाडा पशुले खाएर पनि यो मासिँदैन ।

वर्षमा मात्र एक सय मिलिमिटर वर्षा हुने ठाउँमा पनि भेटिभर खेती गर्न सकिन्छ । एक हेक्टर, २० रोपनी वा डेढ बिघामा ८० हजार भेटीभरका बिरुवा लगाउन सकिन्छ । मलजल पुगे लगाएको एक वर्षमा बिरुवाको गाँज बढेर दुई मिटर मोटो बन्दछ ।
यसलाई सामान्यतया वर्षा याममा रोप्नुपर्दछ तर सिँचाइको सुविधा भए गर्मी चढेपछि रोप्न सकिन्छ । गाँज धेरै फैलिने भएकाले साढे दुई फिटको फरकमा रोप्नु राम्रो हुन्छ । प्रतिहेक्टर १२ हजार देखि १५ हजार केजी पाकेको मल हालेर रोप्नुपर्दछ । त्यस्तै खरानी पनि राख्नु असल मानिन्छ ।
बिरुवा रोपेको १८ महिनादेखि दुई वर्षबीचमा सुख्खा मौसममा यसलाई घाँस काटेर जरा खन्नुपर्दछ । एक हेक्टर जमिनमा लगाइएको भेटीभरबाट ३ देखि ५ टन ताजा जरा निकाल्न सकिन्छ । त्यस जराबाट १२ देखि १७ केजी तेल निस्कन्छ ।
सामान्यतया भारतीय बजारमा तेलको मूल्य प्रतिकेजी १५ देखि २५ हजार भारुसम्म पर्दछ । यसरी एक हेक्टर जमिनमा भेटिभर खेती गर्दा मानौँ १२ केजी तेल निस्कियो भने १५ हजार भारुका दरले १ लाख ७० हजार भारु भयो अथवा घाँसबाहेक तेलबाट मात्र २ लाख ७० हजार देखि ३ लाख रुपैयाँसम्म कमाइ गर्न सकिन्छ । घाँसबाट कामदारको ज्याला उठाउन सके अझ लाभ हुन्छ ।
यो घाँस बगर क्षेत्रमा नदी रोक्न प्रयोग गर्न सकिने भएकाले तराइका नदी तटमा लगाउन सकिन्छ । यसलाई आँप, नरिवल, सुपारी तथा कफी बगैँचामा घँसुवा बालिका रूपमा पनि प्रयोग गर्न सकिन्छ । यसो गरेमा थप कमाइ हुन्छ ।

.jpg)












प्रतिक्रिया थप्नुहोस्