कृषि तथा पशुपन्छी अंकित प्रतिमा बन्नु कति ठिक कति बेठिक ? कुन ठाउँमा केको प्रतिमा ?

‘प्रतिमा बनाउँदैमा केही बिग्रेको छैन तर प्रतिमा बनाए जसरी नै स्थानीय तह कृषि उत्पादनमा आत्मनिर्भर हुनुपर्‍यो’

काठमाडौँ, १६ भदौ । कोरोना संक्रमणपछि सुरु भएको लकडाउनसंगै नेपालमा कृषि गर्नेहरु जमात ह्वात्तै बढेको छ । पर्यटन, होटल, शैक्षिक गतिविधि लगायत धेरै व्यावसायमा ह्रास आएपछि कृषितर्फ सर्वसाधरणदेखि औधिगिक घरानासम्मको नजर परेको छ । यसको प्रभाव स्थानिय तहमा नपर्ने कुरै भएन । ठाउँअनुसारको पहिचान बनाउनकालागि स्ट्याच्यु बनाउने पुरानै परम्परा हो तर पछिल्लो समयमा कृषि तथा पशुजन्य वस्तुका प्रतिमा पनि ठहडिन थालेका छन् । यसका क्रिया र प्रतिक्रिया सकारात्मक र नकारात्मक दुवै छन् । 

स्थानिय तहले गरेको यस्ता कदमहरुले कृषि पर्यटनको राम्रो गन्तव्य बनाउन सक्ने अपेक्षा उनीहरुको छ । कतै गुराँसको फूलको त कतै लसुनको प्रतिमा निर्माण गरिएका छन् । कतै बिरालोको त कतै सुँगुरको प्रतिमा ठहडिएका छन्। यसअघि कृषि तथा पशुपन्छी क्षेत्र अपहेलनामा परेका कारण कृषि वस्तुको प्रतिमा बनाउने प्रचलन खासै थिएन । तर पछिल्लो समय यसको प्रयोग बढ्दै गइरहेको छ ।

विकसित देशहरूमा त वर्षौअघिदेखि कै प्रचलनमा आइसकेका थिए । मलेसिया गर्मी ठाउँ हो तर त्यहाँको सरकारले क्याम्ब्रुङ हाइल्याण्डको एउटा पहाडलाई नै काटेर कृषि पर्यटन क्षेत्र बनाइएका छन् । त्यहाँ चिसो त छ नै तर आधुनिक कृषिको नमुना केन्द्र बनाइएका छन् । धरान, विराटनगरबाट छोटो दुरीमा रहेको भेडेटारमा गर्मी छल्न गएजस्तै मलेशियाले पनि यस्ता थुप्रै ठाउँलाई कृषि पर्यटन बनाएका छन् । क्याम्ब्रुङ हाइल्याण्डमा विशेषगरि भर्टिकल स्ट्रोबेरी खेतिलाई प्रोत्साहन गरिएको देखिन्छ । यहाँ थुप्रै स्ट्रोबेरीदेखि अन्य थुप्रै कृषिजन्य वस्तुको प्रतिमा बनाइएका छन् ।  

धनकुटाको हिलेमा खडा गरिएको एभोकाडोको प्रतिमाको धेरैले प्रसंशा गरे । त्यहाँ फोटो खिच्नेको लर्को नै लाग्यो । पूर्वाञ्चलका वासिन्दाले त्यस ठाउँमा गएर फोटो खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्ने होडबाजी नै चल्यो । 

तर, उदयपुरमा निर्माण गरिएको बंगुर÷बदेलको प्रतिमामा भने धेरैले मिश्रित प्रतिक्रिया आएका छन् । सामाजिक संजालमा खुलेरै तर्क गर्नेहरुको कमी छैन । कसैले त्यही कुराको समर्थन गरिरहेका हुन्छन् त कसैले त्यही विरोध। तर जसले जे–जे भनेपनि आफ्नो मत राख्न पाउने उनीहरूको हक हो । विशेषगरि चोक अथवा पार्कमा कतै सांस्कृतिक महत्त्व त कतै उत्पादकत्वका आधारमा तरकारी, फलफूल, जनावरका प्रतिमा निर्माण गरिरहेका छन् ।

सामाजिक संजालमा कसले कस्तो प्रतिक्रिया दिन्छन् त ?
विनोद धिमाल आफ्नो फेसबुक पेजमा सुँगुर, दुम्सी, आलु, काउली लगायतको प्रतिमाको फोटो राख्दै लेख्छन्, ‘उत्पादनमूलक क्षेत्रमा लगानी, उद्यमीलाई प्रोत्साहन, कृषि प्रविधिको विकासगरि उत्पादन बढाएर रोजगारी सृजनागरि आत्मनिर्भरसहितको समृद्धि हासिल गर्ने कि सिमेन्टको आलु, बन्दा, मुला, काउली, दुम्सी, सुँगुर, जरायोको स्तम्भ ।

दुनियाँका सालिक अर्थ न बर्थका स्वागतद्दार, करोडौँ करोडका भ्यु टावर इत्यादि बनाएर जनताले तिरेको बजेट सत्यानाश गर्ने अनि भारत लगायत बाहिरी देशबाट अर्बैको कृषिजन्य उत्पादन ल्याउने व्यापार घाटा बनाउने नेपाली उद्यमी व्यवसायीलाई विदेश लखेट्ने कहिलेसम्म हो ? यस्तै भय भावी पुस्तालाई काउली चोक, आलु चोक, सुँगुर चोकमा गएर काउली यस्तो हुन्छ, आलु यस्तो हुन्छ भन्दै देखाउने हो ? यस्ता काम गर्ने जनप्रतिनिधि, स्थानीय सरकार यिनीहरूको गोबर भरिएको टाउकोमा गिदी कहिले पलाउला खै ?’

यता प्रगतिशील युवा कृषि फर्म नाम गरेको फेसबुकमा पनि त्यस्तै फोटो सेयर गर्दै लेख्छन्, ‘आफ्नो पैसा गरे जस्तो कुरा नगर्नु, विरोध गर्नु छ भने, अर्ब–खर्बको अनुदान लुट्दा किसानले दिनु सत्त्व नेता र चतुरे किसानले खान्छ, त्यसको गर्नु । इन्डियाबाट विषादी भएको सब्जी आउँछ  र नेपालको सब्जीले भाउ बाउँदैन र किसान डुब्छ । त्यसको विरोध गर्नु, फलेको सब्जी कोरोनाका समय छ भनेर बेच्नु दिँदैन र कुहिएर जान्छ, त्यसको विरोध गर्नु, जमिनमा लगानी गर्दा खेर जान्छ भने मूर्तिमा लगानी गर्नु पर्छ, खेर त जान्दैन, अर्ब खर्ब को भागवानको मूर्ति बन्छ नेपालमा अनि करोडौँको मन्दिर, खोइ विरोध रु त्यो सबै कृषि तथा अन्यमा लगानी गर्दा देशको विकास कहाँ पुग्थ्यो होला ।’ 

यता दिलीप राई लेख्छन्, ‘यो सब कमिसन खाने बाटो हुन । यस्ता अनुत्पादक क्षेत्रमा लगानी गर्नुभन्दा किसानलाई मल बीउ रोग किरा रोकथाम सिचाइमा लगाए हुने थिएन ।’

यस्तै सामाजिक संजालमा श्रीस मोम लेख्छन्, ‘कठै, यी नक्कली संरचना बनाउनुभन्दा त एउटा गतिलो कोल्ड स्टोर बनाइदिएको भए किसानहरूको उत्पादन भण्डारण गरी बिक्री नहुँदासम्मका उत्पादनहरू स्टोर गरेर राख्न सकिन्थ्यो, सायद कृषि क्रान्ति भनेको यही होला ।’

त्यस्तै आचार्य अर्जुन पौडेल लेख्छन्, ‘कृषिसँगको क्षेत्रभन्दा बाहिर, संस्कृति, कला, र पर्यटन क्षेत्रको कुरो हो, कृषि क्षेत्रले अहङ्कार नगरी यी उत्पादन गरुन् भन्ने सन्देश हो यो ना की दुरुपयोग ।’

कहाँ कहाँ कुन कुन कृषि वस्तुको प्रतिमा बने ?

१) मलेखुमा राखिएको माछाको प्रतिमा

माछाको परिकार र स्वादका लागि प्रसिद्ध मानिने धादिङको गजुरी गाउँपालिकास्थित मलेखुमा पर्यटन प्रवर्धनकालागि माछाको प्रतिमा राखिएको छ । गजुरी गाउँपालिकाको आर्थिक सहयोगमा मलेखुको माछा बजारका स्थानीयहरूले यो प्रतिमा राखेका हुन् । मलेखुमा राखिएको माछाको प्रतिमा ललितपुरस्थित विद्याधारी हस्तकला केन्द्रका बावुराजा महर्जन र उनका छोरा अनिश महर्जनले निर्माण गरेका हुन् । प्रतिमा निर्माण गर्न ६ लाख अठार हजार र राख्ने स्थानको निर्माण गर्न ४ लाख ६१ हजारसमेत गरी कुल १० लाख ७९ हजार खर्च भएको गजुरी गाउँपालिकाले जनाएको छ ।

२) धनकुटाको जितपुर बजारमा रुद्राक्षको स्तम्भ

धनकुटा जिल्लाको उत्तर–पूर्वमा रहेको जितपुर बजारमा रुद्राक्ष दानाको स्तम्भ बनाइएको छ । महालक्ष्मी नगरपालिका–७ मा रहेको जितपुर बजारमा करिब ८ लाखको लागतमा ६ मुखे चिल्लो थेप्चे आकारको रुद्राक्षको दानाको स्तम्भ बनाइएको हो । नगरपालिका क्षेत्रमा रुद्राक्षको व्यावसायिक खेतीलाई प्रोत्साहन गर्नसमेत स्तम्भ बनाएको नगरपालिकाले जनाएको छ । 

३) छथर जोरपाटी गाउँपालिकामा काउली 

धनकुटाको सिँधुवा बजारमा काउलीको स्तम्भ बनाइएको छ । तरकारी पकेट क्षेत्रका रूपमा चिनिएको सिँधुवा बजारमा काउलीको स्तम्भ बनाइएको हो ।गाउँपालिकाको आर्थिक वर्ष ०७३/७४ मा ६ लाख ४० हजार रुपैयाँमा उक्त स्तम्भ बनाइएको हो । 

४) शहीद भूमि गाउँपालिकामा सुन्तलाको स्तम्भ

धनकुटाकै शहीद भूमि गाउँपालिकामा सुन्तलाको स्तम्भ निर्माण गरिएको छ । खोकु बजारमा सुन्तलाको स्तम्भ निर्माण गरिएको हो । खोकुको सुन्तलाले नेपालमा मात्रै नभई अन्तर्राष्ट्रिय स्तरमा नाम कमाएको छ । प्रशस्त सुन्तला उत्पादन हुने यो क्षेत्रमा सुन्तलाको प्रवद्र्धन गर्न भन्दै गाउँपालिकाले १६ लाख रुपैयाँ खर्चेर सुन्तलाको प्रतिमा बनाएको छ ।

५) धनकुटाको कागतेमा कागतीको स्तम्भ

धनकुटाको कागतेमा कागतीको स्तम्भ निर्माण गरिएको छ । धनकुटा नगरपालिका वडा नम्बर तीन कागतेमा हाल अमिलो जातका फलफूल जस्तै सुन्तला, जुनार, कागती, निबुवा, नाईटे, ज्यामिर लगायतका फलफूलमा आत्म निर्भर वडा भएकाले उक्त वडा मा वडा कार्यालय कै अगाडि कागतीको स्तम्भ निर्माण गरिएको वडाले जनाएको छ । उक्त क्षेत्रमा परापूर्व कालदेखि नै कागती अत्यधिक मात्रामा फल्ने र सोही क्षेत्रमा कागज समेत बनाउने गरिएको हुँदा उक्त क्षेत्रलाई कागते भनिने गरिएको किवदन्ति समेत रहेको छ । नगरपालिकाले आठ लाख २० हजार लागतमा उक्त प्रतिमा बनाएको हो ।

६) धनकुटा सदरमुकामको निशान मन्दिर अगाडी एभोकडोको स्तम्भ 

हावापानी, भूवनोटको हिसाबले धनकुटा एभोकाडो उत्पादनको हिसाबले नेपालमै उत्कृष्ट छ । एभोकाडोको खेती सबै भन्दा बढी धनकुटा नगरपालिका क्षेत्रमा हुने गरेको छ । त्यसैलाई मध्यनजर गर्दै एभोकाडो ख्यातिलाई प्रोत्साहन गर्न धनकुटा नगरपालिकाले नगरक्षेत्रलाई एभोकाडोको राजधानी घोषणा नै गरेको छ । एभोकाडो पार्क निर्माण गरी स्तम्भ समेत निर्माण गरिएको छ । धनकुटा नगरपालिकाका अनुसार नगरपालिकाले ३ लाख ७० हजार खर्चेर एभोकाडोको स्तम्भ बनाएको छ । उत्पादनको हिसाबले धनकुटा एभोकाडो र सुन्तला प्रशस्त उत्पादन हुने ठाउँ हो । त्यसकारण एभोकाडोको प्रचारका लागि उक्त स्तम्भ खडा गरिएको नगरपालिकाले जनाएको छ । 

७) लालीगुराँस नगरपालिकास्थित लसुने बजारका ‘लसुन स्तम्भ’

तेह्रथुमको लालीगुराँस नगरपालिकास्थित लसुने बजारका लसुन स्तम्भ निर्माण गरिएको छ । लसुने बजारको ऐतिहासिक पहिचानसमेत झल्काउने र पर्यटकलाई आकर्षण गर्न भन्दै स्तम्भ निर्माण गरिएको हो । बाउबाजेले खोरिया फाँडेर लसुन खेती गर्ने गरेको र लसुनका लागि ख्याति प्राप्त ठाउँमा बस्ती विकास भएपछि बजारको नाम पनि लसुने बजार राखिएको थियो । स्तम्भ स्थानीयवासी, गाविस र अन्य दाताको सहयोगबाट गरी कुल रु नौलाख सातहजार एकसय ५५ लागतमा निर्माण गरिएको हो ।

८) भिरगाउँमा गाजरको स्तम्भ 

धनकुटा नगरपालिका वडा नं २ स्थित भिरगाउँमा गाजरको स्तम्भ बनाइएको छ । उक्त क्षेत्र गाजर उत्पादनको लागि उर्वर मानिन्छ । त्यहाँ उत्पादन हुने गाजर धरान, बिर्तामोड, विराटनगरलगायतका सहरमा बिक्री वितरण हुने गाउँपालिकाले जनाएको छ । गाजर धेरै उत्पादन हुने भएरै गाजरको स्तम्भ बनाएको हो । गाजर धेरै उत्पादन हुने भएरै २० लाख रुपैयाँ लागतमा नगरपालिकाले गाजरको स्तम्भ बनाएको हो । 

९) सिन्धुलीको बीचबजारमा जुनारको प्रतिमा 

सिन्धुली जिल्लालाई जुनारको राजधानी भनिन्छ । सिन्धुलीको बीचबजारको लोकतान्त्रिक चोकमा जुनारको प्रतिमा बनाइएको छ । रहरलाग्दा तीन दाना जुनार दिनमा भन्दा रातमा टिलिक्क टल्किएर झन् स्वादिला देखिन्छन् । पहिचान झल्काउन कमलामाई नगरपालिकाले जुनारको प्रतिमा बनाएको छ । १० लाख रुपैयाँ खर्चेर नगरपालिकाले  जुनारको प्रतिमा बनाएको हो ।

१०) उदयपुरको चौदण्डीगढी नगरपालिकामा बेलको स्तम्भ

उदयपुरको चौदण्डीगढी नगरपालिका–६ बेल्टारको पुष्पलाल चोकमा पर्यटकीय आकर्षण बढाउन भन्दै बेलको स्तम्भ निर्माण गरिएको छ । बजार सुरु हुँदाताका त्यहाँ हरेक बिहीबार हटिया लाग्ने गरेको थियो । बजारको बिचमा खाली जमिनमा बेलको रूख थियो । सोही रूख वरिपरि हटिया भर्न आउने व्यापारी र उपभोक्ता बसेर आराम गर्थे ।अहिले त्यही बेलको स्तम्भ निर्माण गरिएको हो । प्रदेश सांसद विमल कार्कीको संसदीय विकास कोषको २० लाख र स्थानीयको ५ लाख जनश्रमदानको लागतमा चौक निर्माण भएको हो ।

११) उदयपुरको बेलका नगरपालिकामा सुँगुरको मूर्ति

उदयपुरको बेलका नगरपालिकाले करिब ६० लाख रुपैयाँ खर्च गरेर सुँगुरको प्रतिमा बनाइएको छ । नगरपालिका– ७ मैनामैनीमा पर्यटन प्रवर्द्धन गर्ने भन्दै नगरपालिकाले बराह (सुँगुर) को प्रतिमा बनाएको हो । प्रतिमा बनाएपछि सामाजिक संजालमा यसको पक्ष र विपक्षमा बहस पनि धेरै भएको थियो । 

१२) दुम्सीचौरमा दुम्सीको मूर्ति निर्माण

तनहुँको व्यास नगरपालिका १० स्थित दुम्सी चौरमा पर्यटकलाई आकर्षण गर्न दुम्सीको मूर्ति निर्माण गरिएको छ । दुम्सीचौरको पहिचान र वडाले पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न लागेको देवी डाँडाको प्रचारका लागी प्रवेश द्धारमा दुम्सीको दुई वटा मूर्ति निर्माण गरिएको हो । वडा नं १० कार्यालयको रु तीन लाख र रु ६० हजारको श्रमदान गरी कूल रु तीन लाख ६० हजारको लागतमा दुम्सीको मूर्ति निर्माण गरिएको हो ।


१३. सुनसरीमा चिण्डोको प्रतिमा

सुनसरीको चिण्डोको प्रतिमा छ । धरान उपमहानगरपालिकाले त्यहाँको बुद्ध चोकमा चिण्डोको प्रतिमा बनाएको हो । राईहरूको बाहुल्य रहेको क्षेत्रमा उनीहरूको पहिचान झल्काउन भन्दै वडा नं। १८ मा चिण्डोको प्रतिमा बनाएको उपमहानगर बताउँछ । यो प्रतिमा बनाउन झन्डै १२ लाख रुपैयाँ खर्च गरिएको छ ।

यी त केही प्रतिनिधि पात्र मात्र हुन् । नेपालमा आफ्नो ठाउँको पहिचान र मुख्य उत्पादनका आधारमा चोक तथा पार्कहरूमा सिमेन्टका तरकारी, फलफूल, जनावर र अन्य चिज बनाइएका छन् । एक हिसाबले यी वस्तुको निर्माण गरेर आफ्नो जिल्ला तथा क्षेत्रको पहिचान स्थापना गर्नु राम्रो होला तर सोही स्थानमा भइरहेको रुख नै ढालेर सिमेन्टको प्रतिमा बनाउनु चाहिँ कत्तिको शोभनीय कुरा हो ?

के भन्छन् कृषिका विज्ञ ?
बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख समेत रहेका डा. राम कृष्ण श्रेष्ठले कृषि वस्तुको प्रतिमा के उदेश्यले बनाइदै छ भन्ने कुरा महत्वपुर्ण हुने बताए । ‘प्रतिमा बनाउनु ठिक वा बेठिक भन्नुभन्दा पनि उदेश्य अनुरुपको काम  कति भएको छ भन्ने कुरा म चै हेर्छु’ उनले भने, ‘त्यसरी हेर्दा काम खासै भएको पाइदैन । प्रचार प्रसारको लागि गर्ने तर वास्तवमै कृषिको प्रवद्र्धन भएको चै पाइएको छैन ।’

यसरी कृषि वस्तुको प्रतिमा निमार्ण गर्नु राम्रो भएपनि त्यले दिने प्रतिफल महत्वपुर्ण हुने उनले बताए । कतिपय ठाउँमा कृषिको प्रतिमा बनाए अनुरुप काम भएपनि कतिपय ठाउँमा प्रतिमा बनाएअनुरुप कृषि वस्तुको उत्पादन नभएको उनी बताउछन् । यता कृषि तथा पशुपक्षी विकास मन्त्रालयका पुर्वसचिव राजेन्द्र प्रसाद भारीले भने कृषि वस्तुको प्रतिमा बनाउदैमा गलत र नबनाउदैमा सहि भन्न नमिल्ने बताए । 

यस्तै उनी प्रतिमा बनाउँदैमा कृषि उत्पादन वृद्धि नहुने बताउछन् । ‘कृषि प्रधान देशमा कृषि वस्तुको प्रतिमा बन्नु राम्रो पक्ष हो तर उत्पादन पनि बढ्नु पर्छ’ उनले भने,‘करोडौँ रुपैयाँ खर्च गरेर प्रतिमा बनाएसँगै कृषि वस्तुको उत्पादन वृद्धि गरी आत्मनिर्भर बन्नु पर्छ । त्यसपछि त्यो प्रतिमा बनाइएको सही साबित हुन्छ ।’

प्रतिमा बनाउन होडबाजी चलेजस्तै कृषि उत्पादन बढाएर आत्मनिर्भर हुन हरेक स्थानीय तहले प्रतिस्पर्धा गरे सुनमा सुगन्ध थपिन्थ्यो । यसले नेपालको कृषि आत्मनिर्भर हुन मदत पुग्ने थियो । यसरी लाखौँ रुपैयाँ खर्च गरेर बनाइएको प्रतिमाले आर्टिस्टहरुलाई स्वदेशमै रोजगारीको अवसर दिएको छ । 

त्यति मात्र हैन कृषि पर्यटनतर्फ आकर्षित भएको छन् भने पर्यटन गतिविधि शून्य अवस्थामा यस्ता प्रतिमाले महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ । अर्को तर्फ हेर्ने हो भने कृषि वस्तुको उत्पादन बढाउन र आफ्नो ठाउँको पहिचान बढाउन बनाइएका कतिपय स्तम्भ बालुवामा पानी खन्यासरी भइरहेको छ । जुन उद्देश्यले प्रतिमा बनाइँदै छ, त्यो अनुसारको फल पाइए सुनमा सुगन्ध मिल्ने थियो की रु जसरी स्थानीय तहहरू प्रतिमा बनाउन होडबाजी गरिरहेका छन्, त्यसरी नै कृषि उत्पादनमा आत्मनिर्भर हुन प्रतिस्पर्धा गरे नेपाल कृषि क्षेत्रमा आत्मनिर्भर हुन टेवा पुग्ने देखिन्छ । 

 

 

 

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै