ऊन  उत्पादनको लागि नेपालको हावापानी  विश्व प्रशिद्ध

हिमाली भेगमा याक, चौरी र च्याङ्ग्रा पालनगरी ऊन तथा पश्मिना उत्पादन गर्न सकिने

१.परिचय :
नेपालको हिमाली भेगमा याक चौरी पालन र च्याङ्ग्रा पालन गरी ऊन तथा पश्मिना उत्पादन गर्न सकिने प्रवल संभावना रहेको छ भने पहाडी भेगमा अंगोरा जातको खरायो पालन गरी ऊन उत्पादन गर्न सकिन्छ । त्यसै गरी तराई भेगमा लामपुच्छ्रे भेडा पालन गरी ऊन उत्पादन गरी नेपाललाई विश्वको सबै भन्दा बढी ऊन उत्पादन गर्ने देशहरुको पंतिमा दर्ज गर्न सकिन्छ । ऊनबाट टोपी, मोजा, पञ्जा, ज्याकेट, कोट, गलबन्दी, सल, पन्छु, राडी, पाखी, कम्बल, गलैंचा  आदि लुगाहरु तथा अन्य समानहरु बनाउन सकिन्छ ।

ऊनी लुगाहरु न्यानो र बलियो एवम् गुणस्तरीय हुन्छन । विदेशीहरुका लागि निकै आकर्षक हुन्छन र बिदेशी मुद्रा आर्जनको मुख्य स्रोत बन्न सक्छ । नेपालको गलैचा युरोपियन र अमेरिकी मुलुकमा प्रसिद्ध छ । नेपाल विश्व व्यापार संगठनको सदस्य बनिसकेको अवस्थामा नेपाली उत्पादनलाई विश्व बजारमा लैजानको लागि कम्तिमा पनि ८ प्रतिशत स्वदेशी कच्चा पदार्थ हुनु पर्ने प्रावधानले अन्यौल बनाई रहेको अवस्थामा नेपालको सबै भुगोल तथा हावापानीमा ऊन उत्पादन गर्न सकिने प्रयाप्त संभावना रहेको छ । ऊन उत्पादन हुने चौपायाहरुको व्यवसायिक पालनगरी यस बाट स्वरोजगार प्रवर्द्धन गरी आय आर्जन गर्नुको साथै विदेशी मुद्रा आर्जनको मुख्य श्रोत पनि बनाउन सकिन्छ । 

२.भू बनावट : 
नेपालको भू वनावट अनुसार हिमाल पहाड र तराई रहेको छ । हिमाली प्रदेश समुद्र सतहदेखि ३३०१ देखि ८८४८मिटर उचाई रहेको छ । पशुपालनको लागि ५००० मिटर उचाई मात्र उपयुक्त हुन्छ । हिमाली भुभाग १५ प्रतिशत रहेको छ । यस प्रदेशमा १६ जिल्ला रहेका छन् ।

पहाडी प्रदेश समुद्र सतहदेखि ६०१ देखि ३३०० मिटर उचाई रहेको छ । पहाडी भुभाग ६८ प्रतिशत रहेको छ । यस प्रदेशमा ६९ जिल्ला रहेका छन् । 
तराई प्रदेश समुद्र सतहदेखि ५८ देखि ६०० मिटर उचाई रहेको छ । तराई भुभाग १७ प्रतिशत रहेको छ । यस प्रदेशमा २१ जिल्ला रहेका छन् । 

३. हावापानी :
भौगोलिक बनावटको आधारमा नेपाललाई पाँच हावापानीको क्षेत्रमा विभाजन गर्न सकिन्छ ।

१.उष्ण मनसुनी हावापानी (Tropical Monsoon Climate ): उष्ण तथा उपोष्ण हावापानी भनिने यस्तो हावापानी नेपालको तराई भावर दून र चुरे क्षेत्रको १२०० मिटर (४००० फिट) सम्मको उचाईमा पाइन्छ । गर्मीमा यहाँको हावापानी ३८ देखि ४२ डिग्री सेन्टिग्रेड सम्म पुग्दछ भने जाडोमा १५ देखि ५ डिग्री सेन्टिग्रेड सम्म पुग्दछ ।

२. न्यानो समशीतोष्ण हावापानी (Warm Temperate  Climate ): चुरे पहाड र महाभारत पर्वत क्षेत्रको १२०० मिटर देखि २१०० मिटर  (४००० देखि ७००० फिट ) सम्मको उचाईमा पाइन्छ । गर्मीमा यहाँको हावापानी न्यानो २४ देखि ३५ डिग्री सेन्टिग्रेड सम्म पुग्दछ भने जाडोमा बढी ठण्डी शुन्य डिग्री सेन्टिग्रेड सम्म पुग्दछ ।

३. ठण्डा समशीतोष्ण हावापानी (Cold Temperate  Climate ) : महाभारत पर्वत क्षेत्रको २१०० मिटर देखि ३३५० मिटर  (७००० देखि ११००० फिट ) सम्मको उचाईमा पाइन्छ । गर्मीमा यहाँको हावापानी न्यानो १५ देखि २० डिग्री सेन्टिग्रेड सम्म पुग्दछ भने हिउदमा ज्यादै ठण्डी शुन्य डिग्री सेन्टिग्रेड भन्दा कम तापक्रम तथा हिउ पर्दछ ।

४.लेकाली हावापानी (Alpine Climate ) : हिमाली क्षेत्रको शुष्क क्षेत्रको ३३५० मिटर देखि    ५०००मिटर  (११००० देखि १६००० फिट ) सम्मको उचाईमा पाइन्छ । यहाँको तापक्रम चैत्र, बैशाख र जेठ महिनामा १५ डिग्री सेन्टिग्रेड सम्म पुग्दछ भने अरु समय शुन्य डिग्री सेन्टिग्रेड भन्दा कम तापक्रम तथा हिउ पर्दछ ।

५. ध्रुवीय वा हिमाली हावापानी (Polar or Himalayan Climate ) : हिमाली क्षेत्रको अत्यन्तै चिसो र शुष्क हावापानीलाई हिमाली ध्रुवीय वा टुण्डा हावापानी भनिन्छ । यहाँ सधैं जसो हिमपात भइरहन्छ भने वर्षाको रुपमा हिउँ नै पर्दछ ।  यो क्षेत्र ५०००मिटर  (१६००० फिट ) भन्दा माथिको उचाईमा पाइन्छ । यहाँको तापक्रम शुन्य डिग्री सेन्टिग्रेड भन्दा कम हुन्छ । यहाँ मध्यान्ह पछि हिउँको भिषण हुरी चल्दछ । यहाँको हावापानीलाई हिमाली मरभूमी जलवायु (Himalayan Desert Climate) भनिन्छ।

४. हावापानी अनुसार ऊन उत्पादनको लागि पालिने चौपाया
क्र.स.    हावापानी    समुन्द्र सतह देखिको उचाई    तापक्रम    पालिने पशुको किसिम

. हावापानी अनुसार ऊन उत्पादनको लागि पालिने चौपाया

क्र.स.

हावापानी

समुन्द्र सतह देखिको उचाई

तापक्रम

पालिने पशुको किसिम

१

न्यानो समशीतोष्ण हावापानी (Warm Temperate  Climate )

१२०० मिटर (४००० फिट)

गर्मीमा ३८ देखि ४२ डिग्री सेन्टिग्रेड र जाडोमा १५ देखि ५ डिग्री सेन्टिग्रेड सम्म

लाम्पुछ्रे भेडा

२

न्यानो समशीतोष्ण हावापानी (Warm Temperate  Climate )

१२०० मिटर देखि २१०० मिटर  (४००० देखि ७००० फिट )

गर्मीमा २४ देखि ३५ डिग्री सेन्टिग्रेड सम्म र जाडोमा बढी ठण्डी शुन्य डिग्री सेन्टिग्रेड सम्म

अंगोरा खरायो

३

ठण्डा समशीतोष्ण हावापानी (Cold Temperate  Climate )

२१०० मिटर देखि ३३५० मिटर  (७००० देखि ११००० फिट )

१५ देखि २० डिग्री सेन्टिग्रेड सम्म

च्याङ्ग्रा

४

लेकाली हावापानी (Alpine Climate )

३३५० मिटरदेखि    ५०००मिटर  (११०००देखि १६००० फिट)

चैत्र, बैशाख र जेठ महिनामा १५ डिग्री सेन्टिग्रेड सम्म र  अरु समय शुन्य डिग्री सेन्टिग्रेड भन्दा कम तापक्रम

याक / चौरी गाई

५

ध्रुवीय वा हिमाली हावापानी (Polar or Himalayan Climate )

५०००मिटर  (१६०००फिट) भन्दा माथि

शुन्य डिग्री सेन्टिग्रेड भन्दा कम

 

 

५. ऊन उत्पादनको लागि पालिने चौपाया
१. याक तथा चौरीपालन :
कृषि डायरी २०७६ को तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७४/७५  नेपालमा याक चौरी संख्या ६९९७८ रहेको छ । नेपाका २८ जिल्लाहरुमा याक र चौरीपालन भइरहेको छ ।
 याक : यो समुद्र सतहबाट ३००० देखि ४५०० मिटर उचाई सम्म सजिलै पाल्न सकिन्छ । यसको भालेलाई याक र पोथिलाई नाक भनेर चिनिन्छ । यसको दूध उत्पादन क्षमता कम भएपनि घृताङस ६.६ % सम्म हुन्छ । यसको                                                                                                                                                                                                                                                                                                                                                                                                                                                   काध सिधा, रौ लामा, सिङ्ग तिखो, लामो र बलियो , अत्यधिक चिसो सहन सक्ने क्षमता भएको, यो करिव ३ बर्षको उमेरमा बयस्क भई ४ बर्षको उमेरमा पहिलो वेत व्याउछ । गर्भधारण अवधि २५२ देखि २५५ दिनको हुन्छ । नाकलाई व्याएको दुई महिना सम्म दुहिदैन नवजात बाछाको लागि छोडिन्छ र त्यसपछि मात्र दुहिन्छ । यसले १६७ दिनको दुहुनो अवधिमा औसत दैनिक दूध उत्पादन १.३ के.जी. हुन्छ ।  वयस्क याकको शारिरीक तौल औषत ३५५के.जी. र नाकको तौल ३२५के.जी. सम्म हुन्छ । 

चौरी : यो नेपालको उच्च पहाडी क्षेत्रमा ९ हजार देखि १५ हजार  फिटसम्म पालन गरिन्छ । शुद्ध जातको भालेलाई याक र पोथीलाई नाक भनिन्छ भने वर्णशंकरलाई चौरी भनिन्छ । चौरीको भालेलाई झोपा भनिन्छ । यो नपुंसक हुन्छ , भारी बोक्ने र खेत जोत्न प्रयोग गरिन्छ भने पोथीलाई झुमा भनिन्छ नाक र स्थानीय जातको वहरको क्रसवाट जन्मेको डिम्जो चौरी र याक र स्थानीय गाईको क्रसवाट जन्मेको लाई उराङ्ग चौरी भनिन्छ । डिम्जो चौरी उचाईमा गएर चर्न सक्ने, ठण्डी सहन सक्ने र दूध उत्पादन राम्रो दिन्छ । उराङ्ग चौरी उचाईमा गएर चर्न नसक्ने, ठण्डी सहन नसक्ने र दूध उत्पादन कम हुन्छ । चौरीको दूध, चिज, बटर, घिऊ, दही, छेना, छुर्पी,चमर,छाला प्रयोगमा ल्याईन्छ । चौरी चीज ( Yak Cheese) पर्यटकहरु निकै रुचाउछन् र बिदेशी मुद्रा आर्जनको राम्रो स्रोत हो ।

२. बाख्रापालन : नेपालको सबै हावापानीमा बाख्रापालन गरिएको छ । कृषि डायरी २०७६ को तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७४/७५  नेपालमा बाख्रा संख्या ११६४७३१९ रहेको छ । नेपाका पालिएका बाख्राहरु मध्ये च्याङ्ग्राको संख्या करिव १ प्रतिशत रहेको छ । नेपालमा पाइने स्थानीय जातका बाख्राहरु खरी तथा ‌औले, च्याङ्ग्रा, सिन्हाल र तराई बाख्रा गरी ४ किसिमका बाख्रा पाइन्छन । यी मध्ये च्याङ्ग्रा पश्मिना उत्पादनको लागि विश्व प्रसिद्ध छ।
च्याङग्रा : यो जातको बाख्रा हिमाली क्षेत्रमा पाईन्छ । यसको टाउको सानो तर लामो, नाक सिधा, थुतुनो साघुरो, सिङ बटारिएको र कसिलो शरीर हुन्छ । यसको पश्मिना भुवादार नरम र न्यानो हुने भएकोले विश्व प्रसिद्ध छ । वयस्क च्याङग्राको औषत शारीरिक तौल २५ देखि ३० के.जि.सम्म हुन्छ । करिव २ वर्षको उमेरमा पहिलो पटक व्याउछ । सामान्यतया यो १ बर्षमा १ पटक व्याउने  र एक पाठा वा पाठी मात्र पाउने गर्दछन ।यसले आफ्नो शारीरिक तौलको ३०%बराबर वजनको भारी बोक्न सक्दछ । नेपालको हिमाली क्षेत्रका ( २५०० मिटरभन्दा माथि ) लागि उपयुक्त जात मानिन्छ । 

३. भेडापालन : नेपालको २ देखि २५ डिग्री सेल्सियस तापक्रम तथा ५० देखि ९० प्रतिशत सापेक्षित आद्रता भएको हावापानीमा भेडापालन गरिएको छ । कृषि डायरी २०७६ को तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७४/७५  नेपालमा भेडा संख्या ८००७४९ रहेको छ भने यी मध्ये लामपुछ्रे १२%, कागे २१%,  बरुवाल ६३% र भ्याङ्लुङ ४%,  संख्या रहेको छ ।  ऊन उत्पादन ५९४६३९ किलोग्राम रहेको छ ।
 

नेपालमा पालिने स्थानीय जातका भेडा : 
१)लामपुच्छ्रे :
यो जातको भेडा तराईमा पाईन्छ । यसको पुच्छर लामो हुने भएकोले यसलाई लामपुच्छ्रे भेडा भनिएको हो । यो बिभिन्न रंगका भएपनि सेतो, खैरो वा कालो हुन्छ । वयस्क थुमाको औषत शारीरिक तौल ३० देखि ४० के.जि.सम्म र वयस्क भेडीको औषत शारीरिक तौल २० देखि २५के.जि.सम्म हुन्छ । यो वर्षको एक पटक व्याउछ र २५ देखि ३० % जुम्लयाहा पाठापाठी पाउछ । प्रति भेडा प्रति वर्ष ५०० देखि ७५० ग्राम उन उत्पादन हुन्छ । यसको उन खैरो र खस्रो हुने भएकोले सेतो उन संग मिसाएर राडी, पाखी, कम्बल बनाउन प्रयोग गरिन्छ ।नेपालको पश्चिमाञ्चल र मध्य पश्चिमाञ्चल विकास क्षेत्रमा बढी मात्रामा पाईन्छ ।

२) कागे : यो स्थानीय जातका भेडा मध्ये सबै भन्दा सानो हुन्छ । यसको टाउको काग जस्तो देखिने भएकोले यसलाई कागे भेडा भनिएको हो । यो भेडा मासु र उन उत्पादनको लागि पालिन्छ । वयस्क थुमाको औषत शारीरिक तौल २० देखि ३० के.जि.सम्म र वयस्क भेडीको औषत शारीरिक तौल १५ देखि २० के.जि.सम्म हुन्छ । यो दुई वर्षमा तीन पटक व्याउछ र २५ देखि ३० % जुम्लयाहा पाठापाठी पाउछ । यो भेडा वर्ष भरी प्रजनन् हुने गर्दछ । प्रति भेडा प्रति वर्ष ५०० ग्राम उन उत्पादन हुन्छ । यसको उन खस्रो र कमसल खालको र हुने भएकोले राडी, पाखी बनाउन प्रयोग गरिन्छ । नेपालको पश्चिमाञ्चल ( कास्की, पर्वत र लम्जुङ्ग ) तथा ३००मिटर देखि १५०० मिटर उचाईमा पालेको पाईन्छ । यो आनुवांशिक संरक्षणको लागि पशु विकास फार्म पोखरामा पाल्दै आएकोछ ।

३) बरुवाल : यो स्थानीय जातका भेडा मध्ये सबै भन्दा बढी संख्यामा रहेको हुन्छ । कुल भेडाको संख्या मध्ये ६० % भन्दा बढी यसको संख्या रहेकोछ । यसको रंग सेतो,कालो वा सेतो –कालो हुन्छ ।यो भेडा मासु र उन उत्पादनको लागि पालिन्छ । वयस्क थुमाको औषत शारीरिक तौल ३० देखि ४० के.जि.सम्म र वयस्क भेडीको औषत शारीरिक तौल ३० देखि ३५ के.जि.सम्म हुन्छ । स्थानीय जातका भेडा मध्ये सबै भन्दा ठूलो हुन्छ । यो एक वर्षमा एक पटक व्याउछ र एक पाठापाठी पाउछ । यो भेडा वर्ष भरी प्रजनन् हुने गर्दछ । प्रति भेडा प्रति वर्ष ७५० ग्राम उन उत्पादन हुन्छ । यसको उन खस्रो हुने भएकोले राडी, पाखी, लिउ, कम्बल, लुकुनी र खस्रो गलैचा  बनाउन प्रयोग गरिन्छ । भारी बोक्नको लागि पनि यसको प्रयोग गरिन्छ । नेपालको जुम्ला,मुगु, कालिकोट, डोल्पा,गोरखा, लम्जुङ्ग, रसुवा ओखलढुङ्गा आदि जिल्लामा पाईन्छ । यो भेडा विकास फार्म पानशय खोला नुवाकोटमा पाल्दै आएकोछ ।

४) भ्याङ्गलुङ्ग : यो जातको भेडा २५०० मिटरभन्दा माथि उच्च पहाड तथा हिमाली भेगमा पालन गरिन्छ ।मनाङ्ग, मुस्ताङ्ग,डोल्पा र जुम्ला जिल्ला लाई भ्याङ्गलुङ्ग जोन भनिन्छ । स्थानीय जातका भेडाहरु मध्ये सबै भन्दा कम संख्यामा रहेको छ । कुल भेडाको संख्या मध्ये ५ % भन्दा कम संख्यामा रहेकोछ । यसको औषत शारीरिक तौल २५ देखि ३५ के.जि.सम्म हुन्छ । प्रति भेडा प्रति वर्ष ७५० ग्राम देखि ११०० ग्रामसम्म उन उत्पादन हुन्छ । यसको उन मसिनो हुने भएकोले गलैचा,मफलर, सल, पन्जा, टोपी,मोजा आदि  बनाउन उपयुक्त मानिन्छ । नेपालको जुम्ला,मुगु, कालिकोट, डोल्पा,गोरखा, लम्जुङ्ग, रसुवा ओखलढुङ्गा आदि जिल्लामा पाईन्छ । कार्पेट उन उत्पादनको लागि योजातको भेडाको संख्यामा बृद्धि गर्न आवश्यक देखिन्छ ।

४. खरायो पालन :  नेपालको १० देखि २५ डिग्री सेल्सियस तापक्रम तथा ६० देखि ८० प्रतिशत सापेक्षित आद्रता भएको हावापानीमा खरायोपालन गर्न सकिन्छ । कृषि डायरी २०७६ को तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७४/७५  नेपालमा खरायो संख्या ७५७४० रहेको छ । खरायो खासगरी ऊन , मासु र मनोरञ्जनको लागि पालिन्छ । खरायोको उनबाट बनेका कपडा वाथ रोग लागेका जोर्नी दुख्ने, मासुदुखने विरामीको लागी उपयगी हुन्छ ।
उन उत्पादनका लागि पालिने खरायोका जातहरु :
अंगोरा : ऊन उत्पादनको लागि विश्व प्रसिद्ध जात हो । यिनको ऊन साह्रै मुलायम र मोटाई करिब ११ माईक्रोन जति हुन्छ । विभिन्न रंगका पाइएतापनि सेतो रंग लोकप्रिय छ ।यसको उत्पत्ति  जर्मनी भए तापनि हाल विभिन्न देशहरुले यसको विकास गरेको पाइन्छ । यसको आधारमा जर्मन, रसियन, व्रिटिस, चाइनीज, जापानिज र फ्रेन्च जातका अंगोरा
 

१. फ्रेन्च अंगोरा : यसको उत्पत्ति फ्रान्समा भएको हो । अंगोरा जातका खरायो मध्ये सबै भन्दा ठूलो खरायो हो । यो जातको अंगोराको शारिरीक तौल करिब ३.५ देखि ४.५ के.जी.सम्म हुन्छ । यसको अनुहारमा कुनै रौं हुदैन । यसको रौं मुलायम हुन्छ ।

२. इंगलिस अंगोरा :  यसको उत्पत्ति बेलायतमा भएको हो । उन उत्पादनको लागि पालिने अंगोरा मध्ये सबै भन्दा सानो खरायो हो । यो जातको अंगोराको शारिरीक तौल करिब २ देखि ३.५ के.जी.सम्म हुन्छ । यसको शरिरको रंग सेतो र कालो वा टाटेपाटे हुन्छ । यसको अनुहार रौं ले ढाकेको हुन्छ । 

३. जायन्ट अंगोरा : यस खरायोको शरिर अरु भन्दा केहि ठूलो हुन्छ । यसको रौं पनि तीन किसिमको रुबी धातु जस्तो हुन्छ । यस खरायोलाई अल्बिनो खरायोको नामले पनि चिनिन्छ । यसको शारिरीक तौल कम्तिमा पनि ५.४ के.जी. हुन्छ ।

४. स्याटिन अंगोरा : यो जातको अंगोरा सन १९७० को दशकपछि विकास गरिएको थियो । यो फ्रेन्च र स्याटिन जातको खरायोको क्रस गरी बनाइएको हो । यसको रौं को रंग सेतो, कालो र बिभिन्न हुन्छ । यसको अनुहार हिंउको डल्लो जस्तो हुनुको साथै कान र खुट्टामा सेतो भुत्लाका झुप्पा हुन्छन । यसको औसत शारिरीक तौल ३ के.जी. हुन्छ । 


६.

. विभिन्न पशहरुको उन उत्पादन क्षमता तथा ऊनको गुणस्तर :

क्र.सं.

पशुको किसिम

जात

ऊनको किसिम

ऊन उत्पादन परिमाण प्रति पशु प्रति वर्ष

ऊन विशेषता

१

याक / चौरी गाई

याक / चौरी गाई

पु

३०० -६०० ग्राम

ढाडमाथिको भुत्ला भएकोले खस्रो हुन्छ ।

चिर्पा

१००० – २००० ग्राम

पेट मुनीको रौं भएकोले मसिनो हुन्छ ।

२

च्याङ्ग्रा

च्याङ्ग्रा

पश्मिना

५० – २००ग्राम

मसिनो ऊन

३

भेडा

लामपुच्छ्रे

ऊन

५०० – ७५०ग्राम

खस्रो ऊन

स्थानीय जात

कागे

ऊन

५००ग्राम

खस्रो र कमसल खालको ऊन

बरुवाल

ऊन

७५०ग्राम

खस्रो ऊन

भ्याङलुङ्ग

ऊन

७५० – १०००ग्राम

मसिनो ऊन

विदेशी जात

मेरिनो

ऊन

४००० – ५०००ग्राम

मसिनो ऊन विश्व प्रसिद्ध

कोरिडेल

ऊन

५०००ग्राम

 

रोम्नी मार्स

ऊन

५०००ग्राम भन्दा बढी

सबै भन्दा मसिनो र लामो ऊन

कुपवर्थ

ऊन

५०००ग्राम

 

४

खरायो

जर्मन अंगोरा

भुवा (Fur)

७०० – ८०० ग्राम

मसिनो

जायन्ट अंगोरा

भुवा (Fur)

३४० – ५१० ग्राम

मसिनो

ऊन उत्पादनमा पशुको जात, उमेर, लिङ्ग, ऊन काट्ने तरिका र मौसमले फरक पर्दछ ।

७.  विश्वमा सबै भन्दा बढी ऊन उत्पादन गर्ने दश वटा देश र ऊनको उत्पादन विवरण :

क्र. सं.

 सबै भन्दा बढी ऊन उत्पादन गर्ने देश

ऊन उत्पादन मेट्रिक टन

उत्पादनमा योगदान प्रतिशत

१

अष्टेलिया

४७८४९२

२५

२

चीन

२३५९२७

१८

३

अमेरिका

१५०८७३

१७

४

न्यूजिल्याण्ड

१०२४५७

११

५

अर्जेन्टिना

८८८९७

३

६

टर्की

७४३९४

२

७

इरान

५६९९०

२

८

बेलायत

४९६२३

२

९

भारत

३१७८३

२

१०

सुडान

२०७३९

२

 ८.  निष्कर्ष : नेपाल विश्वमा ऊन उत्पादन गर्न सक्ने प्रवल संभावना बोकेको देश मध्ये एक हो । विविधतापूर्ण हावापानी भएको हुनाले सबै हावापानी तथा भूभागमा ऊन उत्पादनको लागि पशुहरु पालन गर्न सकिन्छ । बजारको माग अनुसारको परिमाण र गुणस्तरको ऊन उत्पादन गरी बजारिकरण गर्ने हो भने ऊनमा आत्मनिर्भर हुनुको साथै निर्यात गरी बिदेशी मुद्रा आर्जन गर्न सकिन्छ ।

हाल नेपालमा न्यूजिल्याण्डबाट वार्षीक करिव ४००० मेट्रिक टन र तिब्वतबाट करिव २००० मेट्रिक टन भन्दा बढी कच्चा ऊन आयात हुदै आएकोले नेपालमा ऊनको बजार प्रशस्त छ । यसको माध्यमबाट विश्वलाई ऊन उत्पादनको देशको रुपमा चिनाउन सकिन्छ ।

नेपालमा ऊन उत्पादन गरीने सबै खालका चौपाया पालन गर्न सकिने हावापानी भएकोले यहाँ असल पशुपालन अभ्यास सहितको व्यवसायिक पशुपालन, भौतिकपुर्वाधार विकास, उपयुक्त प्रजनन् पद्धति अवलम्वन,  हावापानी सुहाउदो नश्लका चौपाया पालन, उचित आहारा व्यवस्थापन, उचित बजार व्यवस्थापन, उत्पादनमा अनुदान दिने, सरल कर्जा उपलब्ध गराएर ऊनि कपडा उद्योग सञ्चालन गर्न सकेमा युवा हरुलाई स्वदेशमा नै रोजगारको प्रयाप्त अवसर प्राप्त गरी देशलाई ऊन उत्पादनमा आत्मनिर्भरको साथै ऊनको आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गरी यसैको माध्यमबाट नेपाल सरकारले लिएको ''सुखी नेपाली, समृद्ध नेपाल '' नारा साकार पार्न सकिने प्रवलसंभावना रहेको छ ।

सन्दर्भ सामाग्री 
    नेपालमा भेडापालन केन्द्रीय भेडाबाख्रा प्रवर्द्धन कार्यालय हरिहरभवन ललितपुर, २०७२ फाल्गुन
    बाख्रापालन पुस्तिका केन्द्रीय भेडाबाख्रा प्रवर्द्धन कार्यालय हरिहरभवन ललितपुर, आ.व.२०६७/६८
    कृषि डायरी २०७६ कृषि सूचना तथा प्रशिक्षण केन्द्र हरिहरभवन ललितपुर
    पशुपन्छी डायरी २०७५ पशु सेवा तालिम तथा प्रसार निर्देशनालय हरिहरभवन ललितपुर
    शर्मा, डा. भुवनेश्वर, चौरीपालन पशु सेवा तालिम तथा प्रसार निर्देशनालय हरिहरभवन ललितपुर , २०६४ चैत्र
    नाथ, बासुदेव, नेपालमा चौरीपालनको अवस्था दैमासिक कृषि, कृषि सूचना तथा प्रशिक्षण केन्द्र हरिहरभवन, ललितपुर वर्ष ५४ असार - श्रावण २०७४ अंक २
    नाथ, बासुदेव, खरायोपालन सहकारी संवाद राष्ट्रिय सहकारी विकास बोर्ड हरिहरभवन, ललितपुर वर्ष २९ अंक ७ २०७५ बैशाख पूर्णाङ्क २०२
    लाइभष्टक , नेपाल एनिमल साइन्स एशोसिएसन काठमाडौ नेपाल, वर्ष १८ अंक १६ कार्तिक २०७५
    Banerjee, G.C.A Textbook of Animal Husbandry Eighth Edition New Delhi, India, 2011
    https://www.worldblaze.in/largest-wool-producing-countries/
    https://www.bizvibe.com/blog/textiles-and-garments/top-10-largest-wool-producing-countries/
( लेखक राष्ट्रिय पशुपन्छी श्रोत व्यवस्थापन तथा प्रवर्द्धन कार्यालय हरिहरभवन ललितपुरमा पशु विकास अधिकृत पदमा कार्यरत हुनु हुन्छ । )
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै

↑