छिम्लीश्वारा चण्डेनी फलफूल तथा तरकारी उत्पादक कृषक समूहमा आबद्ध २३ महिलाले सामूहिक रूपमा १६ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती गरेका थिए । तिहारका समयमा मात्रै समूहले दुई हजार ७६० किलो फूल बिक्री गरेको समूहकी अध्यक्ष जितमाया रानाले जानकारी दिइन् ।
उनका अनुसार यस वर्ष उत्पादित फूल दमौली, म्याग्दे, खैरेनीटार, पोखरा र आँबुखैरेनीसम्म बिक्री भएको छ । बजारमा प्रतिकिलो ३०० रुपैयाँ र बारीमै आएर खरिद गर्ने ग्राहकलाई प्रतिकिलो २०० रुपैयाँमा फूल बिक्री गरिएको छ ।
“फूल उत्पादन भएपछि कहाँ लगेर बिक्री गर्ने भन्ने चिन्ता लागेको थियो । तर बजारको समस्या भएन । ग्राहक आफैँ बारीमा आएर फूल किने । सबै फूल बिक्री भयो, यसले हामीलाई निकै उत्साहित बनाएको छ”, अध्यक्ष रानाले भनिन् ।
किसानले फूलसँगै माला बनाएर पनि बिक्री गरेका छन् । फूल र मालाको माग राम्रो भएपछि आम्दानीको थप अवसर सिर्जना भएको उनीहरूको भनाइ छ । तिहारपछि पनि विभिन्न धार्मिक तथा सांस्कृतिक अवसरमा फूलको माग रहने भएकाले बाँकी उत्पादनसमेत बिक्री हुने किसानको अपेक्षा छ ।
केही वर्षअघिसम्म छिम्लीश्वाराका किसानले आफ्ना बारीमा मकै, मास र बोडीखेती गर्दै आएका थिए । परम्परागत खेतीबाट अपेक्षित आम्दानी हुन नसकेपछि उनीहरूले वैकल्पिक खेतीका रूपमा गत वर्षदेखि सामूहिक सयपत्री फूलखेती सुरु गरेका हुन् ।
विदेशबाट ठूलो परिमाणमा फूल आयात भइरहेको देखेपछि आफ्नै गाउँमा उत्पादन गरेर स्थानीय बजारको माग पूरा गर्ने र किसानको आम्दानी बढाउने उद्देश्यले फूलखेती सुरु गरिएको अध्यक्ष रानाले बताइन् ।
समूहले पहिलो वर्ष छ रोपनी क्षेत्रफलमा सयपत्री खेती गरेको थियो । उत्पादन भएको फूल तिहारमा सहजै बिक्री भएपछि यस वर्ष खेती विस्तार गरी १६ रोपनी पुर्याइएको हो । गत वर्ष मागअनुसार फूल पुर्याउन नसकिएको अनुभवले पनि किसानलाई खेती विस्तार गर्न प्रेरित गरेको थियो ।
फूलखेती विस्तारका लागि गाउँपालिकाले ७५ प्रतिशत अनुदान उपलब्ध गराएपछि थप हौसला मिलेको समूहकी कोषाध्यक्ष सन्सरी रानाले बताइन् । उनका अनुसार यस वर्ष बारीबाटै फूल बिक्री हुँदा ढुवानी, बजार व्यवस्थापन र बिक्री नभएर फूल बिग्रिने समस्यासमेत कम भएको छ ।
सामूहिक खेतीका कारण कामको बाँडफाँट, उत्पादनको हेरचाह र बिक्री व्यवस्थापन गर्न पनि सहज भएको किसानको अनुभव छ । एउटै क्षेत्रमा धेरै फूलखेती हुँदा ग्राहकलाई समेत आवश्यकताअनुसार फूल खरिद गर्न सजिलो भएको छ ।
परम्परागत खेतीबाट अपेक्षित आम्दानी लिन नसकेका महिलाका लागि सयपत्री फूलखेती अहिले आम्दानीको नयाँ आधार बनेको छ । आफ्नै खेतबारीमा उत्पादन गरेको फूलले बजार पाउन थालेपछि उनीहरू व्यावसायिक फूलखेतीलाई थप विस्तार गर्ने योजनामा छन् । रासस















प्रतिक्रिया थप्नुहोस्