कञ्चनपुर, १० जेठ । धान खेतीको मुख्य सिजन नजिकिँदै जाँदा कृषि सामग्री कम्पनी लिमिटेड महेन्द्रनगर शाखाले मौज्दात रहेको रासायनिक मल किसानलाई वितरण गर्ने तयारी थालेको छ । शाखाले गोदाममा थन्किएको मल पुनः कोटा निर्धारण गरी सहकारी संस्थामार्फत किसानसम्म पुर्याउने प्रक्रिया अघि बढाएको जनाएको छ ।
हाल शाखाको गोदाममा एक हजार मेट्रिक टन युरिया, ५०० मेट्रिक टन डिएपी र १५० मेट्रिक टन पोटास मौज्दात रहेको छ । शाखा प्रबन्धक हेमराज जोशीका अनुसार सहकारी संस्थामार्फत कोटा प्रणालीअनुसार किसानलाई मल बिक्री–वितरण गरिने व्यवस्था मिलाइएको छ ।
उनले मौज्दात रहेको मल यसअघि नै सहकारी संस्थाका लागि छुट्याइएको भए पनि तोकिएको समयभित्र नउठाइएकाले गोदाममै थन्किएको बताए । “कार्यविधिअनुसार सहकारीले तोकिएको कोटाको मल दश दिनभित्र उठाइसक्नुपर्ने व्यवस्था छ,” उनले भने, “समयमै मल नउठाउँदा मौज्दात बढ्न गएको हो ।”
प्रबन्धक जोशीका अनुसार गत साउनदेखि हालसम्म शाखाले युरियाको नौ कोटा र डिएपीको सात कोटा वितरण गरिसकेको छ । उनका अनुसार एक कोटा बराबर ५०० मेट्रिक टन मल हुने गर्दछ । अहिले मौज्दात रहेको मल पुनः वितरण गर्न प्रदेश मल वितरण व्यवस्थापन समितिलाई नयाँ कोटा निर्धारणका लागि पत्राचार गरिएको उनले जानकारी दिए ।
“समितिबाट कोटा निर्धारणसम्बन्धी निर्णय आएपछि पुनः वितरण प्रक्रिया सुरु गरिनेछ,” उनले भने, “हाल मौज्दात रहेको मलले धान रोपाइँको मुख्य समयसम्म पुग्ने अनुमान गरेका छौँ ।”
उनले साल्ट ट्रेडिङ कर्पोरेशनसँग पनि केही मात्रामा मल मौज्दात रहेकाले यस वर्ष धान खेतीका लागि मलको अभाव नहुने विश्वास व्यक्त गरे । किसानलाई आवश्यक समयमा मल उपलब्ध गराउन थप आपूर्तिका लागि केन्द्रीय कार्यालयमा माग पठाइसकिएको शाखाले जनाएको छ । “थप मल असारभित्र आइपुग्ने आश्वासन प्राप्त भएको छ,” प्रबन्धक जोशीले भने ।
पछिल्ला वर्षहरूमा खेतीको मुख्य समयमा रासायनिक मल अभाव हुने समस्या दोहोरिँदै आएको अवस्थामा यस वर्ष पर्याप्त मौज्दात रहेको मलले किसानलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ । कृषि क्षेत्रका सरोकारवालाहरूले समयमै मल वितरण हुन सके धान उत्पादनमा सकारात्मक प्रभाव पर्ने बताएका छन् । रासस



2026-10-02-03-10-26.jpeg)












प्रतिक्रिया थप्नुहोस्