महोत्तरी, १७ वैशाख । मधेस क्षेत्रमा बढ्दो गर्मीसँगै उखुको जुसको व्यापार उल्लेखनीय रूपमा फस्टाएको छ । विशेषगरी विदेशबाट फर्किएका युवाहरूले चोकबजार क्षेत्रमा यो व्यवसाय अपनाउँदै स्वदेशमै आत्मनिर्भर बन्ने बाटो रोजिरहेका छन् ।
सर्लाहीको ईश्वरपुर-१ का महम्मद अफजल चार वर्ष मलेसिया र साउदी अरबमा काम गरेर फर्किएपछि हाल महोत्तरीको बर्दिबास चोकमा उखुको जुस बेच्दै आएका छन् । उनले विगत तीन वर्षदेखि रिक्सा चलाउँदै जुस बिक्री गरेर परिवारको पालनपोषण, छोरीहरूको शिक्षादिक्षा र घरखर्च सहज रूपमा धानेको बताए। विदेश बसाइँमा अपेक्षित आम्दानी नभएपछि स्वदेशमै काम गर्नु उपयुक्त लागेको उनको भनाइ छ ।
त्यस्तै धनुषाको मिथिला-१ का जगदीश साह पनि दुई वर्षदेखि उखुको जुसको व्यापारमा संलग्न छन् । उनले अब विदेश नजाने निर्णय लिएको बताउँदै यसै व्यवसायबाट दैनिक खर्च धान्न सकिएको र परिवारसँगै बस्न पाउँदा सन्तुष्टि मिलेको उल्लेख गरे ।
गर्मी बढेसँगै जुसको माग तीव्र रूपमा बढेको व्यापारीहरू बताउँछन् । बर्दिबास क्षेत्रमा व्यवसाय गरिरहेका मोहम्मद नासिरका अनुसार दैनिक तीन हजार रुपैयाँभन्दा बढीको व्यापार हुने र करिब दुई हजार रुपैयाँसम्म बचत हुने गरेको छ । उखुसँगै पुदिना र तुलसी मिसाएर चिसो जुस बनाउँदा ग्राहकको आकर्षण अझ बढ्ने गरेको उनले बताए ।
महोत्तरीको बर्दिबास क्षेत्रमा मात्र करिब ३०-३५ जना यस व्यवसायमा संलग्न छन् भने जलेश्वर, गौशाला, रामगोपालपुरलगायत आसपासका बजारमा पनि जुस व्यापार विस्तार हुँदै गएको छ । करिब दुई लाख रुपैयाँ लगानीमा ठेला र मोटर जडान गरी यो व्यवसाय सुरु गर्न सकिने भएकाले पनि युवाहरू आकर्षित भएका छन् ।
स्वास्थ्यकर्मीका अनुसार उखुको रस प्राकृतिक, ऊर्जादायी र स्वास्थ्यका लागि लाभदायक पेय भएकाले गर्मीयाममा यसको माग बढ्ने गर्छ । यद्यपि, सडकमा घुमेर व्यापार गर्दा नगरपालिकाबाट अवरोध हुने गुनासो व्यापारीहरूले गरेका छन् । तर बर्दिबास नगरपालिकाले भने नियमानुसार सञ्चालन हुने व्यवसायलाई रोक्ने नीति नभएको स्पष्ट पारेको छ ।
















प्रतिक्रिया थप्नुहोस्