दुई पाडीबाट सुरु, ३० भैँसीसम्म: रमेश आचार्यको प्रेरणादायी कृषियात्रा

गण्डकी प्रदेश, १० फागुन । पोखरा महानगरपालिका–३३ भरतपोखरीका रमेश आचार्यले सात वर्षअघि दुई पाडीबाट सुरु गरेको भैँसीपालन अहिले व्यावसायिक रूपमा विस्तार भएको छ । समाजमा कृषिप्रति नकारात्मक धारणा रहेको समयमा स्नातकोत्तरसम्म अध्ययन गरेका उनले सुरौदीको तिखेढुङ्गामा सामान्य अवस्थाबाट व्यवसाय सुरु गरेका थिए ।

सुरुवाती दिनमा छिमेकी तथा आफन्तबाट होच्याइँ सहनुपरे पनि आचार्यले हार मानेनन् । झाडी फाँडेर पाल टाँगेर सुरु गरिएको व्यवसाय अहिले व्यवस्थित गोठसहित ३० भैँसीसम्म पुगेको छ । “जङ्गलबीच पाल टाँगेर सुरु गरेको थिएँ, अहिले व्यवस्थित गोठ बनेको छ,” उनले भने ।

आचार्यले हरेक वर्ष लैनो भैँसी बिक्री गर्दै आएका छन् । गत वर्ष मात्रै उनले १८ लैनो भैँसी बिक्री गरे। एउटा लैनो भैँसी करिब एक लाख रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । शिक्षण पेसा, वैदेशिक रोजगारी र विद्युत् प्राविधिकको अनुभव समेटेका आचार्य अहिले पूर्ण रूपमा कृषिमा समर्पित छन् ।

विसं २०७८ मा ‘तिखेढुङ्गा बागमारा पशुपालन तथा कृषि फार्म’ दर्ता गरी उनले भैँसीपालनसँगै तरबुजाखेती, तरकारी तथा फलफूल उत्पादन सुरु गरेका हुन् । हाल फार्ममा मकै, तरबुजा, काँक्रो, लसुन र प्याज उत्पादन हुँदै आएको छ । प्रारम्भमा साना किसानबाट तीन लाख रुपैयाँ ऋण लिएर सुरु गरिएको व्यवसाय विस्तारका लागि पछि कृषि विकास बैंकबाट ऋण लिइएको उनले बताए ।

नयाँ प्रयोगमा रुचि राख्ने आचार्यले सुरुमा १५-२० बोट तरबुजा परीक्षणका रूपमा रोपे। उत्पादन राम्रो भएपछि विस्तार गर्दै करिब ३५ रोपनी क्षेत्रफलमा खेती गरेका छन् । श्रीमती धनलक्ष्मी र स्नातक तहमा अध्ययनरत छोराछोरीको साथले उनलाई थप उत्साह दिएको छ ।

यद्यपि सुरौदी खोलाको कटान, सिँचाइ अभाव, बाँदरको समस्या तथा बाटो र पुलको अभाव चुनौतीका रूपमा रहेका छन् । दूध बजारसम्म पुर्‍याउन कठिनाइ हुने गरेको उनको गुनासो छ । टुनिखोलामा पुल निर्माण र सडक स्तरोन्नति भए उत्पादित वस्तु पोखरा तथा तनहुँको दुलेगौँडासम्म सहजै पुर्‍याउन सकिने उनले बताए ।

सुरौदी खोला क्षेत्रमा पर्याप्त पानीको स्रोत हुँदाहुँदै पनि व्यवस्थापन अभावमा सिँचाइ समस्या झेल्नुपरेको आचार्यको भनाइ छ । कटान नियन्त्रण र सिँचाइ व्यवस्थापन प्रभावकारी भए यहाँको उब्जाउ जमिन संरक्षणसँगै उत्पादन वृद्धि गर्न सकिने उनको विश्वास छ । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै