ललितपुर, १६ फागुन । कौशी खेती प्रवर्द्धनका लागि ललितपुरमा 'कौशी तालिम' सुरु भएको छ ।
कौशी, बरण्डा तथा छतमा खेती गरिरहेका स्थानीय बासिन्दालाई दुई दिने कौशी खेती तथा करेसाबारीसम्बन्धी तालिम आजदेखि सुरु भएको हो ।
प्रज्ञान क्रिएसन प्रालिद्वारा सञ्चालित हलोखबर डटकमको आयोजनामा महालक्ष्मी नगरपालिकाको वडा नं-५ मा आज र भोलि तालिम दिइँदै छ । तालिममा ५ जना वडासदस्य र ५५ जना स्थानीय गरी कूल ६० जनाको सहभागिता रहेको छ ।

तीव्र शहरीकरणका कारण कृषियोग्य जमिन मासिँदै गएकाे अवस्थामा आफ्नो घरमा उत्पादन गरिएका ताजा तरकारी आफैँले उपभोग गर्न स्थानीयलाई प्रोत्साहनस्वरूप कौशी खेती र करेसाबारीसम्बन्धी तालिमको व्यवस्था गरिएको निकी महर्जनले बताएकी छिन् । उनका अनुसार सहभागीहरूलाई कौशी खेती गर्ने तरिका सिकाइने छ । उक्त तालिममा कौशी क्वीन तथा कृषि अभियान्ता राधा ढकाल मुख्य प्रशिक्षक रहेकी छिन् ।
महालक्ष्मी नगरपालिकाको ४ लाख आर्थिक सहयोगमा सञ्चालित तालिमले सानो एकाइमा कौशीमा तरकारी उत्पादन गरिरहेका स्थानीयले ताजा तरकारी खान पाउनुका साथै हरित शहर निर्माणमा समेत टेवा पुग्ने बताइएको छ ।
नगरपालिकाले वडा नं-४ का स्थानीय ५० जनालाई यसअघि कौशी खेती तथा करेसाबारीसम्बन्धी तालिम दिइसकेको छ ।











प्रतिक्रिया थप्नुहोस्