काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्राप्त गुनासो व्यवस्थापनका लागि र्यापिड रेस्पोन्स मोडालिटीअन्तर्गत २०८३ साउन ४ गते ललितपुरको पाटन औद्योगिक क्षेत्रमा रहेका दुई खाद्य उद्योगमा आकस्मिक बजार अनुगमन गरेको छ ।
विभागका अनुसार अन्नपूर्ण इन्डस्ट्रिज (Aqua Anna प्रशोधित पिउनेपानी) र संयुक्त डेरी एण्ड फुड प्रालि (दही उत्पादन) मा गरिएको अनुगमनका क्रममा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम निरीक्षण गरिएको हो ।
अन्नपूर्ण इन्डस्ट्रिजमा उद्योगको सरसफाइ तथा कीट नियन्त्रणको अवस्था सामान्य रहेको, प्रशोधित पानी भर्ने, बोतल सफा गर्ने र बिर्को लगाउने कार्य स्वचालित मेसिनबाट भइरहेको तथा पानीको नियमित गुणस्तर परीक्षण प्रतिवेदन सन्तोषजनक रहेको पाइएको विभागले जनाएको छ । साथै, विभागको २०८२ चैत ३० गतेको निर्णयअनुसार प्रयोग नगर्न भनिएको ‘नेक सिल’ प्रयोग बन्द गरिएको पनि अनुगमनमा देखिएको छ ।
विभागले थप अनुसन्धानका लागि उद्योगबाट उत्पादित प्रशोधित पिउनेपानीको नमुना संकलन गरेको छ । साथै खाद्य स्वच्छता कायम राख्न र प्रशोधित पिउनेपानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका, २०७४ बमोजिम कार्य गर्न निर्देशन दिएको छ ।
त्यसैगरी, संयुक्त डेरी एण्ड फुड प्रालि मा सरसफाइ तथा कीट नियन्त्रणको अवस्था सामान्य रहेको, उत्पादित दहीमा आवश्यक लेबल विवरण उल्लेख गरिएको तथा उद्योगकै प्रयोगशालाबाट गुणस्तर परीक्षण भइरहेको पाइएको छ ।
विभागले थप अनुसन्धानका लागि उद्योगबाट उत्पादित दहीको नमुना संकलन गर्नुका साथै दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर सम्बन्धी मापदण्ड, २०७५ बमोजिम उत्पादन प्रक्रिया सञ्चालन गर्न निर्देशन दिएको जनाएको छ ।
विभागका अनुसार उक्त अनुगमन अभियानमा कुल दुई खाद्य व्यवसायको निरीक्षण गरिएको हो ।















प्रतिक्रिया थप्नुहोस्