मनसुनमा भिजेको ढुसी लागेको घाँस खुवाउँदा गाईवस्तु बिरामी हुन सक्छन्, यी सावधानी अपनाउनुस्

काठमाडौं वर्षायाममा गाईवस्तुलाई भिजेको, कुहिएको वा ढुसी लागेको घाँस खुवाउँदा पाचनसम्बन्धी समस्या, फंगल संक्रमण, दूध उत्पादनमा कमी तथा अन्य गम्भीर रोगको जोखिम बढ्ने भएकाले विशेष सावधानी अपनाउन पशु स्वास्थ्य विज्ञ डा. केदार कार्कीले सुझाव दिएका छन् ।

उनका अनुसार नेपालमा मनसुनको समयमा उच्च आर्द्रता, पानी जम्ने अवस्था र तापक्रमको उतारचढावका कारण गाईवस्तुमा विभिन्न संक्रामक रोग, परजीवी संक्रमण तथा पाचनसम्बन्धी समस्या बढ्ने गर्छ । यस्तो अवस्थामा दूषित घाँस र झारपातले पशुको स्वास्थ्यमा थप जोखिम निम्त्याउने भएकाले पशुपालकले चाराको छनोटदेखि भण्डारणसम्म विशेष ध्यान दिन आवश्यक छ ।

डा. कार्कीका अनुसार वर्षायाममा लान्टाना, सानो धतुरा, दुधे झार, गोखुर झार, गाजर घाँस, जंगली जुनेलो लगायतका केही विषालु झारपात पशुका लागि हानिकारक हुन्छन् । यस्ता झारपात खाँदा पखाला, जन्डिस, श्वासप्रश्वासमा समस्या, शरीर कमजोर हुने, गर्भपतन हुने तथा अन्य स्वास्थ्य समस्या देखिन सक्छ ।

उनले वर्षायाममा ढुसी लागेको वा कुहिएको घाँसमा माइकोटोक्सिन नामक विषाक्त पदार्थ बन्ने भएकाले यस्तो घाँस खुवाउँदा खानामा विषाक्तता, पखाला, पेट फुल्ने, भोक नलाग्ने, कलेजोमा असर पर्ने र दूध उत्पादन घट्ने समस्या देखिन सक्ने बताए ।

त्यसैले पशुपालकले घाँसलाई सधैं सफा, सुख्खा र राम्रो हावा चल्ने स्थानमा भण्डारण गर्नुपर्ने, दुर्गन्ध आएको, रङ परिवर्तन भएको वा ढुसी देखिएको घाँस कुनै पनि अवस्थामा गाईवस्तुलाई नखुवाउनुपर्ने उनको सुझाव छ ।

विज्ञका अनुसार पानी जमेको खेत, दलदल, नाली वा फोहोर क्षेत्रबाट काटिएको घाँस पनि प्रयोग गर्नुहुँदैन। यस्ता स्थानमा ब्याक्टेरिया, भाइरस, परजीवी तथा फङ्गस बढी हुने भएकाले पशुमा संक्रमण फैलिन सक्छ ।

गाईवस्तुको गोठ पनि सधैं सफा, सुख्खा र हावा चल्ने बनाउनु आवश्यक रहेको उनले बताए। वर्षामा भिजेका जनावरलाई लामो समय भिजेको अवस्थामा नराखी तुरुन्त सुकाउने, सफा पिउने पानी उपलब्ध गराउने र असामान्य लक्षण देखिएमा तुरुन्त पशु चिकित्सकसँग परामर्श गर्न उनले आग्रह गरेका छन् ।

डा. कार्कीका अनुसार नेपियर, मकै, जुवा लगायतका ताजा तथा ढुसीरहित हरियो घाँस वर्षायाममा तुलनात्मक रूपमा सुरक्षित र पौष्टिक मानिन्छ । साथै भ्यागुते, चरचरे ज्वरोलगायत संक्रामक रोगविरुद्ध समयमै खोप लगाउने, नियमित स्वास्थ्य परीक्षण गर्ने र सन्तुलित आहार उपलब्ध गराउने हो भने वर्षायाममा पनि गाईवस्तुलाई स्वस्थ राख्न सकिन्छ ।

उनले वर्षायाम र बाढीको समयमा चारा व्यवस्थापन, गोठको सरसफाइ, रोगको रोकथाम तथा सुरक्षित चाराको प्रयोगमा विशेष ध्यान दिए पशुपालनबाट हुने आर्थिक क्षति कम गर्न सकिने उल्लेख गरेका छन् ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै