खुमलटार, १२ मंसिर । मकै खेतीमा कृषि यान्त्रिकीकरण विस्तार गर्न कृषि मेसिन भाडामा उपलब्ध गराउने केन्द्रको स्थापना, सञ्चालन तथा व्यवस्थापनसम्बन्धी नीति र कार्यविधि निर्माण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।
राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रद्वारा कृषि यान्त्रिकीकरणसम्बन्धी अन्तर्राष्ट्रिय संस्थाको आर्थिक सहयोगमा शुक्रबार ललितपुरको खुमलटारमा आयोजित राष्ट्रिय कार्यशाला गोष्ठीमा सहभागीले यस्तो बताएका हुन्।
कार्यक्रममा राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रका प्रमुख डा. शिवकुमार झा, कृषि, वन तथा पर्यावरण मन्त्रालयका इन्जिनियर सञ्जिव बिमली, सगुन कस्टम हायरिङ केन्द्रका संस्थापक अध्यक्ष टीकादत्त वन र नेपाल कृषि मेसिनरी व्यवसायी संघका अध्यक्ष कृष्ण शर्माले विभिन्न विषयमा प्रस्तुति दिएका थिए।
नेपाल कृषि अनुसन्धान परिषद्का योजना तथा समन्वय निर्देशक डा. भानुभक्त पोखरेलको सहजीकरणमा कृषि मेसिन भाडामा उपलब्ध गराउने प्रणालीको नीति निर्माण तथा सञ्चालन कार्यविधिबारे समूहगत छलफल गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि नार्कका कार्यकारी निर्देशक डा. श्रीमत श्रेष्ठले कृषि मेसिनको सेवा शुल्क र गुणस्तर निर्धारण गर्नुपर्ने बताए। उनले नतिजामा आधारित अनुदान प्रणालीलाई प्रोत्साहन गर्नुपर्ने उल्लेख गर्दै कृषि यान्त्रिकीकरणबाट उत्पादन लागत घटाउन सके भविष्यमा अन्य अनुदानसमेत न्यूनीकरण गर्न सकिने धारणा राखे।
उनले यान्त्रिकीकरणका लागि जग्गा व्यवस्थापन महत्त्वपूर्ण रहेको बताउँदै मेसिन सञ्चालक र उपभोक्ताको सुरक्षामा ध्यान दिएर सेवालाई व्यावसायिक तथा नाफामूलक बनाउनुपर्नेमा जोड दिए।
नार्कका परिषद् सदस्य ज्योति ढुङ्गानाले भूगोल र भू-बनोटअनुसारका कृषि मेसिनको प्रवर्द्धन, जग्गा एकीकरण तथा बाली उत्पादनका सबै चरणमा यान्त्रिकीकरण आवश्यक रहेको बताए। उनले सार्वजनिक–निजी साझेदारीको सम्भावना अध्ययन गर्न र सफल कृषि मेसिन भाडा केन्द्रका नमुना अभ्यास विस्तार गर्नुपर्ने धारणा राखे।
कार्यक्रमका अध्यक्ष तथा बाली तथा बागवानी अनुसन्धान निर्देशक डा. टीकाराम चापागाईंले किसानको आवश्यकताअनुसारका मेसिनलाई प्राथमिकता दिनुपर्ने बताए। उनले कृषि यान्त्रिकीकरणको निरन्तर प्रगति र अनुगमनका लागि छुट्टै कार्य समूह गठन गर्नुपर्नेमा जोड दिए।
नार्कका योजना तथा समन्वय निर्देशक डा. भानुभक्त पोखरेलले नीति निर्माणमा सबै सरोकारवालालाई परिषद्ले सहयोग र समन्वय गर्ने बताए। उनले कृषि उत्पादनमा यान्त्रिकीकरण विस्तार गर्न कृषि मेसिन भाडा केन्द्रको प्रवर्द्धनसँगै नीतिगत हस्तक्षेपमार्फत जग्गा खण्डीकरण रोक्नुपर्ने आवश्यकता औँल्याए।
राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाका प्रमुख हिक्मतकुमार श्रेष्ठले कृषि मेसिन भाडा केन्द्रलाई समेट्न विद्यमान नीतिमा सुधार तथा संशोधन आवश्यक रहेको बताए। उनले परियोजनाले धान रोप्ने मेसिन र कृषि ड्रोनजस्ता नवीन प्रविधिको प्रवर्द्धनका लागि ८५ प्रतिशतसम्म अनुदान उपलब्ध गराउँदै आएको जानकारी दिए।
उनले कृषि मेसिनको गुणस्तर परीक्षण केन्द्र स्थापना गर्नुपर्ने आवश्यकता औँल्याउँदै यान्त्रिकीकरणमा संलग्न सबै सरोकारवालालाई परियोजनाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
राष्ट्रिय कृषि नीति अनुसन्धान केन्द्रका प्रमुख डा. कृष्णप्रसाद तिम्सिनाले कृषि मेसिनको सञ्चालन दक्षता प्रमाणित गर्न कार्यविधि र तथ्याङ्कमा आधारित प्रमाण आवश्यक रहेको बताए। उनले यान्त्रिकीकरणको प्रभावसमेत मापन गर्नुपर्ने धारणा राखे।
कार्यक्रममा राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठानका निर्देशक डा. विनोद लुइँटेल, परिषद्अन्तर्गतका कार्यालय प्रमुख, वैज्ञानिक, प्राविधिक, CIMMYT नेपालका प्रतिनिधि तथा पत्रकारहरूको उपस्थिति थियो।















प्रतिक्रिया थप्नुहोस्