काठमाडौं । बर्डफ्लुको हल्लाले आत्मनिर्भर मानिएपनि कुखुरा र अण्डा उत्पादक किसानहरु विगत नौ महिनादेखि थलिएका थिए । यसबीचमा बर्ड फ्लूका कारण ९ जिल्लामा १ लाख २० हजार ६६६ किलो बराबरको कुखुरा तथा २१ हजार १८२ किलो दाना र ५० हजार ७६६ वटा अण्डा नष्ट गरिएको थियो । विक्री त परको कुरा, भएका कुखुरा र अण्डा पनि नष्ट गरिएपछि साना तिना व्यापारीहरु यस क्षेत्रबाट विस्थापित नै भएका थिए । ‘तर, सरकारले उनीहरुलाई क्षतिपूर्ति दिने व्यवस्था गरेपछि केही राहत पाएका छन्’, अण्डा उत्पादक किसान संघका अध्यक्ष त्रिलोचन कँडेलले भने, ’सरकारले क्षतिपूर्ति दिन थालेसंगै विस्तारै कुखुरा र अण्डा उत्पादक किसानहरु तंग्रीन थालेका छन् । र, यो व्यवसाय फेरि उठ्न थालेको छ ।’
बर्डफ्लूका कारण क्षति व्यहोरेका किसानलाई पशुसेवा विभागले ८ करोड क्षतिपूर्ति दिने भएको छ । यो काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, रसुवा, नवलपरासी, मोरङ, सुनसरी र कास्कीका किसानकालागि दिइन लागेको क्षतिपूर्ति हो । यसअघि चितवन, हेटौडा लगायतका जिल्लाका किसानलाई पनि क्षतिपूर्ति वितरण गरिसकेको छ ।
किसानले बढी क्षति व्यहोर्नु परेपछि कुखुराको बजार मूल्यको ७५ प्रतिशत पशुसेवा विभाग मार्फत सरकराले क्षतिपूर्ति दिन थालोको हो । उपत्यकाका ललितपुर, भक्तपुर र काठमाडौंका किसानले क्षतिपूर्तिको रकम बुझिरहेका छन् ।
साउनभित्र क्षतिपूर्ति रकम वितरण गरिसक्ने योजना विभागको छ । काठमाडौंका कुखुरापालक किसानका लागि २ करोड ७५ लाख २५ हजार, भक्तपुरका लागि ७४ लाख ६६ हजार, ललितपुरका लागि १८ लाख ८३ हजार वितरण गर्नेछ ।
नेपालमा पहिलोपटक २०६७ साल माघ २ गते झापाको काकडभिट्टामा बर्ड फ्लूको संक्रमण फेला परेको थियो । कुखुराको मासु तथा अण्डा उत्पादनमा आत्मनिर्भर नेपालमा विगत छ महिनादेखि यो क्षेत्र थलिएको थियो । उत्पादन ५० प्रतिशतभन्दा बढी कम गरिएको अण्डा उत्पादक किसान महासंघका अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिए ।
बल्लबल्ल माग बढ्न थालेपछि उत्पादन गर्न फेरि किसान लागि परेको अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिए ।














प्रतिक्रिया थप्नुहोस्