काठमाडौँ, २८ असार । पछिल्लो समय किसानहरु रुद्राक्ष खेतीमा आकर्षित भएका छन्। उत्पादित रुद्राक्षको बिक्रीमा कुनै समस्या नभएपछि किसानहरु यसतर्फ आकर्षित भएका हुन्। उत्पादनभन्दा माग बढी भएपछि किसानहरु यसतर्फ आकर्षित भएका हुन्। अन्य व्यापार व्यवसाय र खेती नै छाडेर गाउँघरका बारी, भित्तामा किसानले व्यावसायिक रूपमा रुद्राक्ष खेती लगाइरहेका छन् ।
बहुमूल्यबाहेका रुद्राक्षको माला बनाएर विक्री वितरण गर्दै आएका किसानहरुले प्रतिमाला एक सयका दरले बेचबिखन गर्दै आएका छन् । रुद्राक्षको माला हिन्दू धर्मालम्बीहरुले गीता पाठ गर्न र बौद्ध धर्मावलम्बीले ध्यान गर्नुअघि अनिवार्य लगाउने गर्छन्। यसका साथै पछिल्लो समय पाहुनाको स्वागत र कार्यक्रमका अतिथिलाई खादाको साटो रुद्राक्षको माला लगाइदिने चलन पनि बढ्दो छ । तर कोरोनाको समयमा रुद्राक्ष व्यवयास कस्तो अवस्थामा छ त भनी हामीले रुद्राक्ष व्यसायि संघका अध्यक्ष मनोज कुमार चापागाईसँग कुराकानी गरेका छौं ।
अहिले कोरोना महामारी छ । यस्तो अवस्थामा रुद्राक्षको व्यापार कस्तो छ ?
विश्वव्यापी कोरोना महामारीका कारण रुद्राक्ष व्यवसाय सङ्कटमा परेको छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भएको बन्दाबन्दी तथा निषेधाज्ञाका कारण रुद्राक्ष खरिद गर्ने व्यापारी भारत तथा चीनबाट आउन नसक्दा यो व्यवसाय सङ्कटमा परेको हो । जसले गर्दा रुद्राक्षखेती गरिरहेका किसान मारमा परेका छन्। नेपालमा उत्पादन हुने रुद्राक्षको सबैभन्दा ठूलो बजार चीन र भारत हो।
रुद्राक्षको मुख्य कारोबार हुने महिनामा नै कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भएको बन्दाबन्दीले यसको कारोबार ठप्प जस्तै भएको छ । गएको वर्ष र यस वर्ष पनि रुद्राक्षको मुख्य कारोबार हुने समयमा नै बन्दाबन्दि भयो । यसले अझ व्यवसायमा करोडौंको लगानी डुबिरहेको छ ।
नेपालमा रुद्राक्ष विदेशी मुद्रा आर्जन गर्ने प्रमुख वस्तु भए पनि यस्तो अवश्थामा सरकारले वास्था गरेन । लकडाउनका कारण व्यवसाय धरासयी भयो । सबै व्यवसाय धरासयि भएको हो तर रुद्राक्ष व्यवसाय बढी मारमा पर्यो ।
पहिला र अहिलेको निषेधाज्ञाको समयमा रुद्राक्ष व्यवसायमा केहि फरक छ ?
रुद्राक्ष भनेको सिजनेबल कुरामा भर पर्छ । यसको सिजन भनेको वैशाखदेखि साउनसम्म ४ महिना हो तर सिजनको समयमा कोरोनाको प्रभाव बढी देखिदा किसान थप मारमा परेका छन । यो समय भनेको रुद्राक्ष राप्ने किसानले ट्रीटमेन्ट, मल जल गर्ने, विरुवा राप्ने, ठेक्कापट्टा गर्ने समय हो । त्यसले अझ समस्या भयो । झापातिर साउनदेखि नै रुद्राक्ष पाकेर यसको संकलन हुनथाल्छ भने पहाडी भेगतिर केही ढिलो हुन्छ । साउनदेखि मंसिर महिनासम्म संकलन गरि रुद्राक्ष खरिदको लागि व्यापारीहरुको चहलपहल सुरु हुने गरेको छ। गएको वर्ष पनि सिजन सुरु हुनुअगावै कोरोना महामारी चलेपछि यसको व्यापार चौपट भएको छ । महंगोमा गाउँ–गाउँबाट संकलन गरेर राखिएको रुद्राक्ष व्यापारि आउन नसक्दा थन्किन पुगेको हो ।
यस वर्ष पनि जसले गर्दा यसैको व्यापार गरेर परिवार र आफ्नो गुजारा चलाउँदै आएका व्यापारीहरु अलमलमा परेका छन् । उनीहरु कोरोना कहिले नियन्त्रण होला र व्यापारी आउलान् भनेर प्रतीक्षा गरेर बसेका छन् ।
यसले गर्दा कति क्षती भइरहेको छ ?
रुद्राक्ष व्यवसायमा यति नै क्षती भयो भन्नु भन्दा पनि करोडौँको क्षती भएको छ । सिजनको समयमा नै व्यापार ठप्प जस्तै भएपनि नोक्सानी नहुने कुरै छैन । भारत र चीनमा बिक्री हुँदै आएको रुद्राक्ष पहिलाको वर्ष जस्तै यो वर्ष बिक्री वितरण ठप्प भएको छ । रुद्राक्षको व्यवसायबाट राम्रो आम्दानी गरेका व्यवसायी यस बर्षपनि आफ्नो करोडौंको लगानी डुब्ने होकि भन्ने चिन्तामा परेको छन् । कोरोना भाइरस संक्रमण र लकडाउनका कारण चिनियाँ भारतीय व्यापारी नेपाल आउन सम्भावना निकै कम भएको हो । अहिले पनि अधिकासं सामान स्टकमा छ । निर्यात गर्न सकेका छैनौं । नेपालबाट अधिकाशं निर्यात हुने मध्ये एउटा रुद्राक्ष हो । यो कुरामा सरकार गम्भीर हुनुपर्ने हो तर सरकारले चासो दिएन ।
नेपालमा कति रुद्राक्ष खेती गरिन्छ ?
३ वर्ष अघिसम्म नेपालमा व्यवसायि रुपमा ७/८ वटा जिल्लामा मात्र रुद्राक्ष खेती गरिन्थ्यो । अहिले लगभग ४५ वटा जिल्ला भन्दा बढिमा नगदे बालीको रुपमा खेती गरिन्छ । अरु खेती भन्दा यो खेती गर्न सजिलो पनि रहेको छ । बिरुवा रोपेको ४ वर्ष देखि उत्पादन दिन सुरु हुन्छ । यसमा कठिनाई भनेको टिपेर प्रशोधन गर्नु मात्र हो । अरु केहि समस्या छैन । त्यसैले पनि बुढापाकाले पनि यो खेती गरिरहेका छन् । यसलाई वार्षिक रुपमा टिज्ने बेलामा मात्र खेताला लगाए भइहाल्छ । साथै नगद आम्दानी हुने ककारण पनि यो खेतीमा आकर्षक बढ्दो रहेको छ । रोपेपछी वर्षमा एकपटक मात्र फलको आश गर्नु पर्ने र अरु खेती व्यवसायमा जस्तो स्याहार गोडमेल गरिरहनु पर्ने नभएकाले कृषकहरु रुद्राक्ष व्यवसाय प्रति लाभाम्वित भएका हुन् । यसले गर्दा सजिलो र सरल व्यवसाय भएकाले कृषकहरु यसको खेती तर्फ आकर्षण भएका हन् । धेरै परिश्रम, गोडमेल र मलजल गर्नु नपर्ने, बजार मूल्य पनि राम्रो पाइने भएकाले कृषकले खेतीयोग्य जमीन मासेर रुद्राक्ष खेती गर्ने मानिस पनि धेरै रहेका छन् । यस क्षेत्रमा मानिस आकर्षित भएसँगै धेरै युवा जनशक्ति समेत विदेशीनु परेको छैन । आफ्नै देशमा बसेर मनग्य आम्दानी गरिरहेका छन् ।
वार्षिक कति रुद्राक्ष निर्यात गरिन्छ ?
नेपालबाट वार्षिक २० देखि २५ लाख केजी बाहिर निर्यात हुन्छ । राम्रो ठुलो सुन्दर रुद्राक्ष बढी चीन जाने गरेको छ भने मालाको लागी धार्मिक क्षेत्रमा प्रयोग हुने खाल्को रुद्राक्ष भने भारत जाने गरेको छ ।२० देखि ३० प्रतिशत चीन जान्छ भने ७० देखि ८० प्रतिशत भारत निर्यात हुने गरेको छ । ठुलो मुखे भने गोटाको हिसाबमा बिक्रि हुन्छ । उतपादनको २० देखि २५ प्रतिशत नेपालमै खपत हुने गरेको छ ।
पछिल्लो समय मूल्य चै कस्तो पाउनु भएको छ ?
विशेषगरी रुद्राक्षको मुख, तौल र आकार हेरेर किनबेच हुने गर्छ । मुख र आकारले रुद्राक्षको मूल्य निर्धारण गर्छ । यसको मूल्य मुख र आकारका आधारमा कम तथा बढी तोकिने गरिन्छ । कोरोनाकै कारण मूल्यमा फरक छैन । रुद्राक्ष रातो, कालो, सेतो र पहेँलो रङको पाइएको छ ।
सरकारले यस क्षेत्रलाई कत्तिको प्राथमिकतामा राखेको पाइन्छ ?
सरकारले यस क्षेत्रलाई बिल्कुलै प्राथमिकता दिएको पाइदैन । सरकार २र३ वर्ष देखि खै कता असमली रहेको छ । यस क्षेत्र छायामा परेको छ । यस क्षेत्रमा धेरै मानिस आश्रीत भएर आयआर्जन गरिरहेको छन् । हामी सबै सामान हामी आयात गरिरहेका हुन्छौं तर यो निर्यात गरिरहेका छौं । त्यैले यस क्षेत्रलाई सरकारले विशेष प्राथमिकता दिनु पर्यो । यसलाई संरक्षण गर्नु पर्यो किनकि यसले प्रत्यक्ष रुपमा विदेशी मुद्रा आयआर्जन गरिरहेको छ । पछिल्लो समय अझ माग बढिरहेको छ । विदेश गएर आएर पनि रुद्राक्ष खेतीमा लागेका मानिस धेरै छन् । धेरै मानिस यस क्षेत्रमा लागेर आम्दानी गर्न सक्ने देखिन्छ ।
रुद्राक्ष क्षेत्रका समस्या र समाधानका उपाय के के हुन सक्छन् ?
रुद्राक्ष क्षेत्रमा समस्या छछ धेरै छन् । त्यसमा पनि अहिलेका मूख्य समस्या हेर्ने हो भने ६/७ वटा रहेका छन् । हामी संघको तर्फबाट पनि बारम्बार उठाइरहेका हुन्छौं । पहिलो माग भनेको किसानले कर तिरेर आफ्नो स्वामित्वमा रहेको जग्गामा खेती किसानी गर्ने भएका कारण यसलाई कृषिमा समायोजन गर्नु पर्यो । यो कुरा ५ वर्ष देखि माग गर्दै आएका छौं । यसलाई कृषिमा समेट्ने बित्तिरकै ३/४ वटा समस्या त्यतिकै समाधान हुन्छ ।अर्को कुरा हामीले कर तिरेका छौं । यहाँ कर तिर्ने र नतिर्नेको खासै केहि फरक भएन । कसरी भन्दा गैर व्यापारीहरुले पनि रुद्राक्ष बेचिरहेका छन् । त्यसकारण सरकारले व्यवसायिकरण गर्नु पर्यो, सिस्टम बसाल्नु पर्यो ।
परिचय पत्रको आधारमा व्यवसाय संचालन होस् भन्ने हाम्रो माग हो ।अर्को कुरा करको दायरा विभिन्न खाल्को रहेको छ । अर्को कुरा चेकजाच बिना बाटाघाटामा बिक्री भइरहेको हुन्छ । किसान भए किसानको परिचय पाउनु पर्यो । व्यापारि भए व्यापारीको परिचय हुनु पर्यो । एक ठाउँ कर तिरे पछिउसले नेपालभरी सहज रुपमा बिक्री गर्न पाउनु पर्यो । घरेलु सामाग्री निर्माणको लागी उपकरण खरीद, तालिमको व्यपस्था हुनु पर्यो । यसको औषधिय गुणको पनि धेरै चर्चा परिचर्चा छ । औषधिय गुण पत्ता लगाउन अनुसन्धान हुनु पर्यो । पछिल्लो समय यसतर्फ सबैको आकर्षण बढेकाले रुद्राक्षको दाना चोरी हुने, बोट काटिदिने समस्या बढिरहेको छ । कतिपय किसानले त यसको सुरक्षाका लागि बोटमै सिसी क्यामेरासमेत जडान गरेका हुन्छन् । प्रहरी प्रशासनले सुरक्षा दिने प्रयत्न गरे अझ राम्रो हुन्थ्यो । यस्का साथै तत्काल रुद्राक्ष व्यवसायी तथा किसानलाई कोरोनाको खोप उपलब्ध गराउन पनि माग गर्छु । सरकारले यस क्षेत्रलाई पनि अरु क्षेत्रलाई जस्तै मूख्य प्राथमिकतामा राखेर व्यवसायी तथा किसानलाई खोप उपलब्ध गराउनु पर्छ ।











प्रतिक्रिया थप्नुहोस्