पुरै गाउँको आयस्रोत केराखेती

२०७५ माघ २५ शुक्रबार १४:४९:०० मा प्रकाशित

हलोखबर

halokhabar

म्याग्दी, २५ माघ । वर्षमा छ मुरी धान फल्ने खेतमा केराखेती गरेका बेनी नगरपालिका–२ खबराका यामबहादुर क्षेत्रीले महीनामा १० हजारभन्दा बढीको केरा बेच्नुहुन्छ ।
खबराकै जयन्ती घिमिरेले पनि धान, गहुँ, मकै, कोदो बालीको विकल्पमा १० रोपनी खेतबारीमा १०० घारी केरा लगाएको डेढ वर्षमै आम्दानी लिन थाल्नुभएको छ । ‘घरमा काम गर्ने मान्छे छैनन् । खेताला पाइन छाडे । खेती लगाएर लगानी पनि नउठ्ने भएकाले बाझै छोड्ने सोच बनाएको खेतमा केरा लगाएकी थिएँ’, उनले भने, ‘अन्नबालीको वर्षभरीको आम्दानी केराले दुई महीनामै उठायो ।’ अन्नबालीलाई जस्तो धेरै मेहनत र श्रम खर्च गर्नु नपर्ने केराखेती आम्दानीको गतिलो माध्यम बनेको कृषक क्षेत्रीले वताए । घिमिरे र क्षेत्री जस्तै डेढसय घरधुरीको बसोवास रहेको खबराका बासिन्दा केही वर्षयता खेतबारी, कान्ला, खोल्सा, खरबारी जताततै केराखेती गरेका छन् । केही वर्षअघिसम्म परम्परागत खाद्यान्न खेती हुने खबरा अहिले केराको बगँैचामा परिणत भएको छ ।

अनुकूल हावापानी, वातावरण, बजारको सुविधा र छिटो आम्दानी गर्न सकिने भएकाले व्यावसायिक केरा खेतीतर्फ आकर्षण बढेको अगुवा कृषक सोवित शर्माले बताए । करीब ५० जनाले बगैँचा नै बनाएर व्यावसायिक केराखेती गरेका छन् । दश÷पन्ध्र घारी केरा नलगाएको घरनै छैन् । मानबहादुर थापा, हीरा कुँवर, घनश्याम सापकोटालगायत केही कृषकले पाँच वर्षअघि खबरामा हजारी जातको केरा भित्¥याउनु भएको थियो । ‘परीक्षण सफल भएपछि केराखेतीले विस्तारै तीव्रता पाएको हो’, कुँवरले भने, ‘यसअघि घरायसी उपभोगका लागि बाइसे, मुङ्ग्रे, धुर्से जातको लगाउने गरेपनि बिक्री गर्ने चलन थिएन ।’ केरा बेचेर मासिक रु ३० हजार आम्दानी हुने कुँवरले बताए । मजदूर अभावमा खाद्यबाली हुने जमीन बाझिन थालेको अवस्थामा केराखेती प्रभावकारी विकल्प बनेको स्थानीयवासी श्रीलाल सापकोटाले बताए । खबराको केरा बेनीमा खपत हुन्छ । दैनिक पाँच भारिका अनुपातमा खबराबाट बेनीमा केरा बिक्रीका लागि ल्याउने गरेका छन् ।

पकाएकोप्रति १२ कोसा एक सय रुपैयाँका दरले बिक्री हुने गरेको छ । एउटै घारीबाट एक हजार कोसासम्म उत्पादन लिन सकिने कृषक रुपा सापकोटाले बताए । बिरुवा लगाएको डेढवर्षमै उत्पादन लिन सकिन्छ । पूर्व फर्किएको भिरालो पाखोमा अवस्थित खबराको हावापानी केराखेतीका लागि अनुकूल मानिन्छ । बेनी नजिकै भएकाले कृषकलाई बजारको समस्या छैन् । खबरामा उत्पादन हुन थालेपछि बेनीमा बाह्य जिल्लाबाट केराको आयात घटेको फलफूल व्यापारी श्रीकृष्ण सुवेदीले बताए । बेनी नगरपालिकाले खबरालाई केरा गाउँ बनाउने लक्ष्यसहित ‘एक वडा एक उत्पादन कार्यक्रम’ सञ्चालन गरेको वडा अध्यक्ष हीराबहादुर थापाले बताए । केराखेतीसम्बन्धी कार्यक्रमका लागि यसवर्ष पनि रु तीन लाख विनियोजन भएको छ । रासस
 

प्रतिकृया दिनुहोस

उन्नत बीउ र प्राङगारिक मलतर्फ किसान आकर्षित

म्याग्दी, १० फागुन । व्यावसायिक कृषिमा लागेका म्याग्दीका किसानहरु बढी उत्पादन दिने उन्नत जातका बीउबिजन र आधुनिक प्रविधिको प्रयोगतर्फ आकर्षित भएका

१८ वर्षदेखि जडीबुटी प्रशोधन केन्द्र बन्द 

जाजरकोट, १० फागुन । १८ वर्षदेखि जडीबुटी प्रशोधन केन्द्र बन्द हुँदा डोल्पाका जडीबुटी व्यवसायी मर्कामा परेका छन् । जिल्लामै जडीबुटी प्रशोधन गर्ने

खाली जमिनमा महिला सामूहिक जडीबुटी खेती गरी राम्रो आम्दानी गर्दै 

परासी, १० फागुन । पश्चिम नवलपरासीको बर्दघाट–२ स्थित चिसापानी सामुदायिक वनले जडीबुटी उद्योग स्थापना गरी प्रशोधित सुगन्धित तेल उत्पादन गर्न थालेपछि