झापाको कृषि विकास फार्म चन्द्रडाँगीलाई थप व्यवस्थित गरिने

२०७५ पौष १८ बुधबार १६:२६:०० मा प्रकाशित

हलोखबर

halokhabar

झापा, १८ पुस । झापाको शिवसताक्षी नगरपालिका–७ मा रहेको कृषि विकास फार्म चन्द्रडाँगीलाई थप व्यवस्थित गरिने भएको छ । नेपाल कृषि अनुसन्धान परिषद्ले सिफारिस गरेका धान, मकै र गहुँको मूल बिउ उत्पादन गरी नयाँ जातको बिउ कृषकलाई उपलब्ध गराउँदै आएको सो फार्मलाई थप व्यवस्थित गरिने भएको हो । 

नगरपालिका प्रमुख चन्द्रकुमार शेर्माले फार्मबाट कृषकले जुनसुकै जातका बिउबिजन तथा माछाका भुरा उपलब्ध गराउन नयाँ कार्यक्रम शुरु गरिने जानकारी दिए । जसका लागि नगरपालिकाले केन्द्र सरकार र प्रदेश सरकारसँग बजेट माग गरिसकेको छ नगरप्रमुख शेर्माले भने । चौरासी बिघा अर्थात ५२ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त फार्मको २५ हेक्टर क्षेत्रफलमा विभिन्न जातका बिउ उत्पादन गरी कृषकलाई वितरण गर्ने गरेको फार्मका प्रमुख धनबहादुर थापा मगरले बताए ।उनका अनुसार फार्ममा अहिले तीन हेक्टर क्षेत्रफलमा माछा पोखरी रहेको छ । बाह्र हेक्टर क्षेत्रफलमा कार्यालय भवन, बाटो, कुलो, आवासगृह निर्माण गरिएको छ भने पाँच हेक्टर क्षेत्रफलमा सुकुमबासी बसोवास गर्दै आएका छन् । त्यस्तै छ हेक्टर क्षेत्रफल सताक्षी खोलाले कटान गरेको कार्यालय प्रमुख मगरले बताए । अहिले फार्मको सात हेक्टर क्षेत्रफलमा गहुँ, तीन तीन हेक्टर क्षेत्रफलमा तोरी र मुसुरो दालको बीउ, आठ हेक्टरमा चैतेधान लगाइएको कार्यालय प्रमख मगरले बताए। उनका अनुसार २५ हेक्टर क्षेत्रफलमा वर्षे धान लगाइएको छ । 

नेपाल सरकारले विसं २०५२ मा स्थानीय कृषकलाई आवश्यक पर्ने विभिन्न जातका कृषि उपजको बिउ सहजरूपमा उपलब्ध गराउन र कृषि अनुसन्धान केन्द्र बनाउन यो क्षेत्रको निर्धारण गरेको थियो । सोही अनुसार अहिले पनि सो फार्मले स्थानीय जाताका बिउको उत्पादन र संरक्षण गर्दै आएको नगरपालिका प्रमुख चन्द्रकुमार शेर्माले जानकारी दिए । विसं २०३२ मा कन्काई सिँचाइ योजनाअन्तर्गत स्थापना भएको कृषि विकास फार्मलाई २०४८ सालमा सिँचाइ योजना विघटन भएपछि चार वर्ष कृषि मन्त्रालयले आफ्नो स्वामित्वमा सञ्चालन गरेको थियो । 

विसं २०५२ मा मन्त्रालयले चन्द्रडाँगी बिउबिजन तथा दूग्ध विकास समिति बनाएर समुदायमा हस्तान्तरण गरेसँगै सरकारी लगानी बन्द भएका थिए । एशियाली विकास बैंकको सहयोगमा कोरियाली ठेकेदार कम्पनीले फार्मका दुई दर्जन भन्दा बढी भवन निर्माण गरेको थियो । 

तत्कालीन (नेकपा)माओवादीले जनयुद्धका क्रममा २०६० साल कात्तिक ४ गते सो फार्ममा आगजानी गरेपछि झण्डै ७८ लाख बराबरको भौतिक संरचनामा क्षति पुगेको थियो । क्षतिको विवरणसहितको लागत अनुमान कृषि मन्त्रालयमा पठाए पनि एक दशक बितिसक्दासमेत भवनको पुनःनिर्माण हुनसकेको छैन । अहिले पनि केन्द्रका २५ वटामध्ये अधिकांश भवन मर्मत सम्भारको अभावमा कामै नलाग्ने भएका छन् । मल, बिउ, माछाका भुरा उत्पादन गरेर सङ्घ संस्थालाई दिने, पशु नश्ल सुधार गर्ने र प्राविधिक सल्लाह दिने काम गर्दै आएको कार्यालय प्रमुख मगरले बताए । 

फार्मले वार्षिक ८० टन धानको बिउ, १० टन मकै, १० टन गहुँ र चार टन जै घाँसको बिउ उत्पादन गर्ने गरेको बताइन्छ । फार्मले कृषि अनुसन्धान केन्द्र (नार्क) ले सिफारिस गरेको मन्सुली, राधा ११, राधा १२, आरपी १०१७, हर्दीनाथ, लालका बासमती, चैते २, तरहरा १ लगायत जातका धानको बिउ उत्पादन गर्ने गरेको छ । रासस

प्रतिकृया दिनुहोस

उखु किसान मारमा, मालिक चिनीको भाउँ बढाउने दाउँमा !

नवलपरासी पश्चिम, ५ माघ । नवलपरासी पश्चिम जिल्लाका मुख्य तीनवटा चिनी मिलहरू सिजनको दुई महिना वितिसक्दा पनि अहिलेसम्म सञ्चालनमा नआएका कारण उखु

अनुदान दुरुपयोगको एउटा प्रमाण पेस गर्दै कृषि मन्त्रीलाई सञ्जय पन्थी प्रश्न, ‘कसरी अनुदान दुरुपयोग हुन्छ, जानकार हुनुहुन्छ मन्त्री ज्यू ?’

मन्त्री ज्यु, तपाईको निर्वाचन क्षेत्रको मतदाता भएकोले कृषि मन्त्रालयको अनुदान र कार्यक्रमबाट कसरी लाभान्वित बन्ने चेष्टा हुनुपर्ने हो ? तर, मलाई कसरी

विधेयक पारित भए, ‘खेतीयोग्य भूमि तीन वर्षसम्म बाँझो राख्नेलाई  जरिवाना’

सरकारले कृषियोग्य जमिनलाई घडेरीमा परिणत गर्ने प्रवृत्ति निरूत्साहित गर्नका लागि भन्दै खेतीयोग्य भूमिलाई बाँझो राख्न नपाइने प्रावधानसहितको कानुन