विदेशबाट फर्केका युवालाई दोस्रो मैंका, निःशुल्क सीप परीक्षणका लागि पुनःआवेदन दिन सकिने 

२०७५ पौष १३ शुक्रबार ०९:२५:०० मा प्रकाशित

सातै प्रदेशका विभिन्न स्थानमा निवेदन दिन सकिने (स्थानसहित)

हलोखबर

halokhabar

काठमाडौँ, १३ पुस । सरकारले विदेशमा विभिन्न सीप सिकेर फर्केका युवाको निःशुल्क सीप परीक्षणका लागि पुनः आवेदन गर्न समयावधि थप गरिएको छ । विदेशमा विभिन्न सीप सिकेर फर्केका युवाको निःशुल्क सीप परीक्षणका लागि सरकारले तयारी गरे पनि लक्ष्यभन्दा निकै कममात्र युवाको आवेदन परेपछि पुनः आवेदन गर्न समयावधि थप गरिएको हो । 

सरकारले यस वर्ष एक हजारको सङ्ख्यामा वैदेशिक रोजगारीबाट फर्केका युवाको २० प्रकारका सीप परीक्षण गर्ने लक्ष्य लिएको थियो । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले गत मङ्सिर ११ गते वैदेशिक रोजगारीबाट विभिन्न सीप आर्जन गरी स्वदेश फर्केका कामदारको निःशुल्क सीप परीक्षणका लागि यही पुस ११ गतेसम्म निवेदन दिन सक्ने व्यवस्था गरेको थियो । बोर्डले बिहिबार एक सूचना जारी गर्दै सीप परीक्षणका लागि यही पुस ३० गतेसम्म निवेदन गर्न सकिने जनाएको छ । 
बोर्डका उपसचिव दीनबन्धु सुवेदीले सीप परीक्षणका लागि सरकारले लक्ष्य गरेभन्दा निकै कम सङ्ख्यामा युवाले आवदेन गरेको बताए । उनका अनुसार मङ्गलबारसम्म जम्मा १६० जनाले सीप परीक्षणका लागि निवेदन दिएका छन् । 

सीप परीक्षणका लागि कमको सङ्ख्यामा आवेदन परेसँगै बोर्डले अधिकको सङ्ख्यामा वैदेशिक रोजगारीमा गएका प्रदेश नं १ र २ का विभिन्न जिल्लामा स्थानीय भाषामा सूचना जारी गर्ने तयारी गरेको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिए । 

बोर्डले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)को सहयोगमा तह १ को सीप परीक्षण गर्ने तयारी गरेको थियो । बोर्डले विभिन्न २० प्रकारका सीपको परीक्षण हुने जनाएको छ । विल्डिङ पेन्टर, फर्निचर मेकर, जुनियर प्लम्बर, स्काप फोल्डर, सटरिङ कार्पेन्ट्री, स्टोन लेयर मेसन (डकर्मी), विल्डिङ इलेक्ट्रेसिन, इन्डस्ट्रियल इलेक्ट्रिसियन र असिस्टेन्स ब्युटिसियनको सीप परीक्षण गरी प्रमाणपत्र दिने जनाएको छ । यस्तै असिस्टेन्ट वेटर, केयर गिभर, कमी तेस्रो, हाउस किपिङ क्लिनर, आर्क वेल्डर, आलुमिनियम फेब्रिकेटर, रेफ्रिजेरेशन एण्ड एअर कन्डिसन जुनियर मेकानिक्स, सुरक्षा गार्ड, टेलरिङ, एक्साभेटर अपरेटर र स्ट्रक्चरल फेब्रिकेटरको सीप परीक्षण गरिने छ । 

सीप परीक्षणका लागि बोर्डले तोकेको फारामसँगै नागरिकताको प्रमाणपत्र र राहदानीको प्रतिलिपी, वैदेशिक रोजगारीमा गएको प्रमाणित हुने अन्य कागजात पेश गर्नुपर्नेछ । सातै प्रदेशका विभिन्न स्थानमा सीप परीक्षणका लागि निवेदन दिन सकिने उपसचिव सुवेदीले जानकारी दिए । 

प्रदेश नं १ को दमक टेक्निकल एजुकेशन फाउन्डेशन ९झापा० र पाथीभरा हिमालयन पोलिटेक्निक प्रालि (सुनसरी), प्रदेश नं २ को लहान प्राविधिक शिक्षालय (सिरहा), विपी मेमोरियल पोलिटेक्निक इन्ष्टिच्युट (धनुषा) र वीरगन्ज इन्ष्टिच्युट अफ टेक्नोलोजी (पर्सा), प्रदेश नं ३ को नेपाल–भारतमैत्री पोलिटेक्निक इन्ष्टिच्युट (मकवानपुर), नारायणी पोलिटेक्निक इन्ष्टिच्युट (चितवन), वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सचिवालय (काठमाडौँ) र राष्ट्रिय सीप परीक्षण समिति (भक्तपुर) मा पनि निवेदन दिन सकिने छ । 

त्यस्तै गण्डकी प्रदेशको पोखरा प्राविधिक शिक्षालय (कास्की) र धवालागिरि पोलिटेक्निक इन्ष्टिच्युट (बागलुङ), प्रदेश नं ५ को कोरिया नेपाल इन्ष्टिच्युट अफ टेक्नोलोजी (रुपन्देही), राप्ती प्राविधिक शिक्षालय (दाङ) र भेरी प्राविधिक शिक्षालय (बाँके), कर्णाली प्रदेशको घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय (सुर्खेत) र कर्णाली प्राविधिक शिक्षालय (जुम्ला) तथा सुदूरपश्चिम प्रदेशको धनगढी कलेज अफ इन्फरमेशन टेक्नोलोजी (कैलाली), व्यावसायिक तथा सीप विकास तालीम केन्द्र (कञ्चनपुर) र सेती प्राविधिक शिक्षालय (डोटी) बाट सीप परीक्षणका लागि निवेदन दिन सकिने बोर्डले जनाएको छ । रासस
 

प्रतिकृया दिनुहोस

जलवायु परिवर्तनको असर जनस्वास्थ्यमा कसरी पर्छ ?

विश्वस्तरीय जलवायु परीवर्तनको प्रस्ताव मानव स्वास्थ्यमा पनि पर्नेछ । झाडा पखाला पेचीस हैजा तथा म्यादी ज्वरो जस्ता संक्रामक बिमारीहरुको

कृषिप्रधान देशमा नै कृषिजन्य वस्तुमाथि परनिर्भरता रहनु दुखद् : राष्ट्रपति

झापा, १९ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले कृषिमा व्यापार घाटा हुनु राम्रो नभएको भन्दै कृषि पेशामा आधुनिकीकरणको आवश्यक रहेको बताएछन् । उनले

भू–उपयोग नीति, २०७२ कार्यान्वयनमा नआउँदा कृषि क्षेत्रमा आशालाग्दो प्रगति हुनसकेन

काठमाडौँ, १६ पुस । सरकारले कृषिको आधुनिकीकरण र व्यावसायीकरण गर्ने अठोट व्यक्त गरेपनि भू–उपयोग नीति, २०७२ कार्यान्वयनमा ल्याउन नसक्दा कृषि