नेपाली अर्गेली जापान निर्यात 

२०७५ मङ्सिर २७ बिहीबार १६:०४:०० मा प्रकाशित

हलोखबर

halokhabar

फिदिम, २७ मङ्सिर । जापान निर्यात हुने अर्गेलीको माग उच्च रहे पनि मागबमोजिमको कच्चा पदार्थ निर्यात हुन सकिरहेको छैन् । पाँचथरको फालेलुङको दाजुभाइ जडीबुटी उत्पादन तथा प्रशोधन सहकारी संस्था लिमिटेडको अगुवाइमा उत्पादित अर्गेली गत वर्षबाट जापान निर्यात हुन थालेको हो । 

 

जापानी नोट ‘येन’को छपाइमा प्रयोग हुँदै आएको अर्गेलीको माग उच्च भएसँगै यसको व्यावसायिक खेतीतर्फ कृषकको आकर्षण भने बढ्दै गएको छ । सहकारीले गत वर्ष १३ टन अर्गेली जापान निर्यात गरेको छ । यसबाट रु ५९ लाख १५ हजार आम्दानी पाँचथरका गाउँमा भित्रिएको छ । केही प्रशोधित अर्गेली प्रतिकिलो रु ४५५ मा बिक्री भइरहेको सहकारीका अध्यक्ष ओमराज थाम्सुहाङले जानकारी दिए । उनका अनुसार यस वर्ष २० टन अर्गेली उत्पादन गरी जापान निर्यात गर्ने लक्ष्य सहकारीले लिएको छ । स्थानीयवासीको आय वृद्धिका लागि अर्गेलीलाई भरपर्दो माध्यमको रूपमा विकास गर्ने लक्ष्य लिइएको थाम्सुहाङको भनाइ छ । 

 

उक्त सहकारीको अगुवाइमा पाँचथरको च्याङथापु, फलैँचा, ओयाम, सिदिन, लुङरुपा, फिदिमलगायत स्थानमा अर्गेली खेती विस्तार र व्यावसायिक उत्पादन थालिएको छ । यस वर्षको सङ्कलन कार्य शुरु भएको जानकारी दिँदै अध्यक्ष थाम्सुहाङले जापानले एक लाख ५० हजार किलोग्राम लोक्ता मागे पनि मागको करीब २५ प्रतिशत मात्र अर्गेली निर्यात गर्न सकिने बताउँछन् । 

 

मागबमोजिमको उच्चस्तरको प्रशोधित अर्गेली निर्यात गर्ने प्रयत्न भने थालिएको थाम्सुहाङको भनाइ छ । देशभरिबाट करीब ६० टन अर्गेली जापान निर्यात हुने गरेको छ । राम्रो मूल्यमा बिक्री हुन थालेपछि कृषकमा अर्गेली विस्तार गर्ने आत्मविश्वास बढेको थाम्सुहाङले बताए । चिसो मौसम र हावापानी भएका स्थानमा खेर गइरहेको कान्ला र पाखो बारीमा लगाउन मिल्ने अर्गेलीको बिरुवाबाट चार वर्षपछि लोक्ता निकाल्न मिल्ने हुन्छ ।

 

सहकारीले जापानमा माग भएअनुसारको अर्गेली उत्पादनका लागि संस्थागतरूपमै प्रयत्न गर्दै आएको छ । माग उच्च भएसँगै पछिल्ला तीन वर्षमा मात्रै फालेलुङ गाउँपालिकाको वडा नं ७ र ८ पानीपरुवा तथा वतासे, फिदिम नगरपालिका–३ लालीखर्क र लब्रेकुटी, फिदिम नगरपालिका–८ इथुङ र रानीटारमा करीब चार हजार रोपनी क्षेत्रफलमा अर्गेलीको व्यावसायिक खेती शुरु भएको छ । यी स्थानमा व्यावसायिक अर्गेली खेती विस्तारका लागि सोही सहकारी संस्थाले सहयोगसमेत गरेको हो । 

 

जापानमा माग भएबमोजिमको उच्च गुणस्तरको अर्गेलीको बोक्रा बिक्री गरेर बाँकी रहेको कच्चा पदार्थले स्थानीयस्तरका नेपाली हाते कागज उद्योग सञ्चालन गर्न सकिने कृषकको भनाइ छ । स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न मद्दत पुग्ने भन्दै पाँचथरको फिदिम नगरपालिकाले वडा नं ३, ८ र १४ मा कृषकलाई खेती प्रविधि र हाते कागज निर्माणसम्बन्धी तालीमसमेत सञ्चालन गर्दै आएको छ । रासस

प्रतिकृया दिनुहोस

उखु किसान मारमा, मालिक चिनीको भाउँ बढाउने दाउँमा !

नवलपरासी पश्चिम, ५ माघ । नवलपरासी पश्चिम जिल्लाका मुख्य तीनवटा चिनी मिलहरू सिजनको दुई महिना वितिसक्दा पनि अहिलेसम्म सञ्चालनमा नआएका कारण उखु

अनुदान दुरुपयोगको एउटा प्रमाण पेस गर्दै कृषि मन्त्रीलाई सञ्जय पन्थी प्रश्न, ‘कसरी अनुदान दुरुपयोग हुन्छ, जानकार हुनुहुन्छ मन्त्री ज्यू ?’

मन्त्री ज्यु, तपाईको निर्वाचन क्षेत्रको मतदाता भएकोले कृषि मन्त्रालयको अनुदान र कार्यक्रमबाट कसरी लाभान्वित बन्ने चेष्टा हुनुपर्ने हो ? तर, मलाई कसरी

विधेयक पारित भए, ‘खेतीयोग्य भूमि तीन वर्षसम्म बाँझो राख्नेलाई  जरिवाना’

सरकारले कृषियोग्य जमिनलाई घडेरीमा परिणत गर्ने प्रवृत्ति निरूत्साहित गर्नका लागि भन्दै खेतीयोग्य भूमिलाई बाँझो राख्न नपाइने प्रावधानसहितको कानुन