डा.मदन राईले भने साच्चै नै विद्यार्थीलाई खेतबारी मै पढाउँछन्

२०७५ मङ्सिर १३ बिहीबार १०:०३:०० मा प्रकाशित

मनोज श्रेष्ठ

halokhabar

मिति २०७५ साल कात्तिक ११ गते उनको अन्तिम फेसबुक स्ट्याटस जस्ताको जस्तै
आजको ५ देखि १० बर्षभित्र सुभद्रा मदन फाउन्डेशनमा शिक्षालिने बिध्धार्थीको संस्था र घर फोहोर बिहिन हुनेछ। फोहोरजति बिरूवाआमाले सबै सफागरेर खाने,पिउने,लाउने,बस्ने, दबाइ, दाउरा ब्यबस्था गरीदिनेछिन। संसारका सबैले उनिहरूबाट सिकेर अजका ५० बर्षभित्र जलबायु परिवर्तन, प्रदुषण, गरीबी हटेर संसार फोहोर बिहिन हुनेछ।
सुभद्रा मदन फाउन्डेसनमा बस्ने बिध्धार्थीको गुहु,मुत,मयल, जुठोभाँडो, र पशुपंछीबाट निस्केको गोबर,पिसाब सबैफोहोरबाट फोटोमा भएको खाने,पिउनेकुरा उब्जेको हो। बिध्धार्थीले उब्जाएकोहो। कुनैदिन संसारका सबैमानिसले यसैगर्नेछन। संसार प्रकृतिजस्तै सफा, प्रदुषण, फोहोर बिहिन हुनेछ। सुन्दर हुनेछ।

सुभद्रा-मदन फाउन्डेशन

‘हाम्रो घरआगन दिसापिसावमय छ, घिन नमानिदिनुहोला’
ललितपुर, चापागाउँ मुन्तिर डोलाहिटीको एउटा घर । जहाँ माथि लेखिएजस्ता स्लगहरु थुप्रै पढ्न वा देख्न सकिन्छ । त्यो बाटो हिड्नेहरु प्रायः यी कुराहरु पढ्छन र अचम्ममा पर्छन । अलिक मन छोयो भने घरभित्रै गएर सोधपुछ पनि गर्छन । झट्ट पढ्नेहरु घिनाउँछन पनि, तर धेरैले यसबारे वुझ्न खोज्छन ।

हो, कृषि विज्ञ डा.मदन राईको घर अगाडि लेखिएको यो एउटा स्लग मात्रै हो । उनको घर वरिपरी यस्ता कुराहरु छन । शौचालयभित्र पनि यस्ता कुराहरु थुप्रै पढ्न पाईन्छ । यो संवददातासंग उनको कोठामा प्रवेस गर्दा उनी ल्यापटपमा कसैसंग् स्काइपमा गफी गरिरहेका थिए । पछि थाहाँ भयो, उनी आफैले खोटाङमा स्थापना गरेको कृषि स्कूलका पदाधिकारीसंग गफेका रहेछन् ।

केही दिन पहिले प्रधानमन्त्री केपी शमौ ओलीले एक कार्यक्रममा भनेका थिए, अव विद्यार्थी पढ्न स्कूल होइन, खेतबारीमा जान्छन् । उनको आसय थियो, ‘विद्यार्थीलाई कृषिमा आधारित शिक्षा दिनुपर्छ ।’ उनले भनेको कुरा कति ठिक कति बेठिक, त्यो अर्को कुरा हो । तर, डा.राईले भने देशका धेरै शहरमा कृषि प्रधान शिक्षालय खोलेर पढाईरहेका छन् ।

हामी पुग्नासाथ उनले कुरा छोट्याए । अनि, कुरा सुरु भयो । उनले बनाएको कार्यालयमा पुस्तक, सिडीका थाक थुप्रै थिए । भुइमा दुई वटा ठूला ठूला बाल्टीन पनि थिए । उनले देखाउदै भने, ‘म यहि दिसा गर्छु ।’ र, नजिकै एउटा सानो बोतलमा पिसाव गर्ने गरेको जानकारी दिए ।

डा.मदन राईका अनुसार आफुले गर्ने दिसापिसाव मात्रै नभएर अन्यले गर्ने दिसापिसाव केहि खेर जादैन, यदि, प्रयोग गर्न जान्यो भने । उनले पनि दिसापिसावलाई राम्रोसंग प्रयोगमा ल्याएका छन् । कार्यालय वाहिर केहि स्याम्पल पिसाहरु रहेछन । उनले त्यो देखाए ।

पराल, धान, चामल, दिसा, पिसाव लगायत थुप्रै थिए, स्याम्पल । त्यसवारे उनले वर्णन गर्दागदै भने, ‘गाइले जथाभावीको पानी खान्छ, उसको पिसाव हामी अमृत ठानेर पिउँछौ ? तर, हामी मिनिरल वाटर पिउछौ, हाम्रो पिसाव चाही नराम्रो ? ल, हेर्नुस म त आफ्नै पिसाव पिउछु । नभन्दै स्याम्पल पिसाव पिए ।’

दिसापिसावको फाइदाको वारे मात्रै नभएर कसरी उपयोग गरिन्छ भनेर तरिका पनि देखाए । दिसापिसावलाई घरबाट निस्किने अन्य फोहोर पदार्थसंग मिसाएर अर्गानिक मल बनाउने तरिका र विधिवारे वताए । झण्डै दुई रोपनीमा उनले मौषमी, वेमौषमी तरकारी लगाएर प्रसस्त तरकारी उव्जनी गरेका छन् । 
‘अर्गानिक गार्डेन’ नामाकरण गरिएको कृषिविज्ञ मदन राईको कृषि प्रयोगशाला हो । उनले आधुनिक तवरबाट कोदो, मकै, धान जस्ता अन्नबालीका साथै विभिन्न प्रकारका तरकारी एवं फलफुल उत्पादन गर्छन् । उनले हरियो बोटविरुवा पनि त्यत्तिकै मात्रामा रोपेका छन् । मान्छेको जीवनचक्र विरुवासँंग सम्वन्धित रहेको बताउँदै

उनी थप्छन्, ‘गाँस, बास, कपास र सास विरुवा नै हो ।’ नेपालको ७५ वटै जिल्लामा पुगेर स्थानीय कृषकलाई कृषिसम्वन्धी सीप र जनचेतना फैलाउने कार्यक्रमहरु गर्दै आएका छन, उनले । नेपालमा आधुनिक तरिकाले खेतीका लागि व्यावसायिक बीउ उत्पादन गर्न खटिएका पहिलो चारजना अधिकृतमध्येका एक मदन राई हिमाल पारिको जिल्ला भनेर चिनिने विकट मुस्ताङमा पहिलो पटक स्याउखेती र अन्य सागसब्जीको खेतीको सम्भावना खोज्ने पहिलो व्यक्ति हुन् । उनैले सुरु गरेको मार्फाको स्याउ आज विश्वकै सबैभन्दा स्वादिलो स्याउको रुपमा चिनिन्छ ।

मुस्ताङको कृषि र स्याउखेतीको क्षेत्रमा विशेष योगदान पु¥याएका कृषिबिज्ञ राई १२ वर्ष लगातार मुस्ताङमा बसेर स्याउखेतीलाई परिचित गराए । त्यसो त पहिला त्यस भेगमा बुद्धिरत्न शेरचनले स्याउखेती सुरुआत गरेपनि त्यति चासो लिएका थिएनन् । ‘त्यहाँ स्याउ फल्छ भन्ने ज्ञान थोरैलाई थियो, फलिहाले पनि बिक्ने हो कि होइन भन्ने दुविधामा थिए त्यहाँंका किसानहरु’, उनी सम्झन्छन् ।

विगत डेढ दशकदेखि सामाजिक कार्यमा संलग्न रहेका उनले हजारौ युवालाई योग्य बनाउन काठमाडौंमा र खोटाङमा कृषिसम्बिन्धि तालिम दिने र विभिन्न सिप सिकाउने काममा लागेका छन् । खोटाङमा कृषि र शिक्षा अभियानका साथ स्थानीय कृषक र विद्यार्थीलाई कृषिदेखि अन्य सिपमूलक तालिम दिने व्यवस्था गरेका छन् । काममुखी शिक्षामा बढी फोकस गर्दै आएका मदन विद्यार्थीलाई स्कुल कलेजको पढाइका साथै खानेकुरा उत्पादन गर्ने, पकाउनेदेखि लगाउने लुगा, बस्ने बास, प्रविधि र संगीतसम्वन्धी सिकाउने अभियानमा जुटेका छन् ।

खोटाङको रतन्छामा निम्न वर्गिय परिवारमा जन्मेका ७० वर्षिय मदनको बाल्यकाल गाइवस्तु हेर्ने, घाँंसदाउरा गर्ने र हलो कोदालो गर्दैमा बितेको थियो । बेलायती सेनामा रहेका उनका बाबु कर्मकुमार राई दोस्रो विश्वयुद्धबाट फर्केपछि घरै नगई काठमाडौं गएर २००७ को क्रान्तिमा लागेका थिए । जनमुक्ति सेना हुँंदै नेपाल प्रहरीमा एसपीसम्म भएका उनका बाबुलाई घरपरिवार भन्दा पनि देश र समाजको चिन्ता थियो ।

त्यसैले डेढवर्षको उमेरमा बुबाले गाउँं छाडेर हिंडेपछि एक्ली आमाले उनीहरुलाई हुर्काउन कयौं हण्डर खप्नु परेको थियो । दुःख गर्दा पनि एकछाक मिठो खान नपाउदा एकसरो न्यानो कपडा लगाउन नपाउदा केही गरेर ठुलो मान्छे बन्ने चाहनाको विजारोपण भएको थियो उनलाई । तर, पढने मान्छे चोर हुन्छ भन्ने कट्टर विचारधाराको बाजेको कारण उनले पढन पाएनन् । 
छोराको पढने चाहनालाई पुरा गर्न आमाले आफ्नो अंश मागेर छुटिएपछि बल्ल नौ वर्षको उमेरमा स्कुलको आगान टेक्न पाए । पढाइमा तेज भएका कारण एकैपटकमा डबल कक्षा चढदै गए । राति टुकी बाल्न मटिटतेल किन्ने हैसियत थिएन उनको परिवारमा । ढोड बालेर स्कुलको होमवर्क गर्थे । विहान झिसमिसेमै उठेर गाइबस्तुलाई घाँंस टन्न काटेर स्कुल जान्थे ।

हाइस्कुल पढन भोजपुर जानु पथ्र्यो । पढने भए खुरुकक विहे गर नत्र पढन पाउदैनस भनेर बाजेले धम्काएपछि बाध्य भएर १३ वर्षको उमेरमा आफुभन्दा पाको उमेरकी युवतीसँंग बालविवाह गरेका थिए । भोजपुरबाट एसएसलसी गरेर २०२३ सालमा काठमाडौं छिरेका मदनलाई बुबाले काठमाडौको त्रिचन्द्र क्याम्पसमा आइएस्सीमा भर्ना गरिदिए ।

ठमेलको सैनिक होस्टेलमा बसेर अध्ययन गरेको बेला कृषि विषयमा भारतमा अध्ययन गर्न छात्रवृत्तिका लागि आब्हान गरिएको थियो । उनले फारम भरे संयोगवश उनको नाम निस्कियो । उनले भारतको राजस्थानस्थित उदयपुर युनिभर्सिटिबाट कृषि विषयमा बीएस्सीसम्म अध्ययन गर्ने मौका पाए ।

सन् २००६ मा अशोका फेलो पाएका मदनले संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनमा १० वर्ष र अन्य अन्तर्राष्ट्रिय संस्थामा दुई वर्ष काम गरेर स्वदेश फर्के । भारत, जापान, अमेरिका, स्विट्जरल्याण्ड, बेलायत, फ्रान्स, इजरायल, केन्या, जिम्बाब्बे आदि मुलुकमा कृषिसम्वन्धि शिक्षा र तालिम लिएका मदन नेपालमा मात्र नभइ अमेरिका, पूर्वी दक्षिण अफ्रिकाका १२ देश, पश्चिम अफ्रिकाका दुई देश, फिलिपिन्स, इराक, जोर्डन र इटालीमा कृषिविज्ञका रुपमा काम गरेका छन् ।

कृषि क्षेत्रमा विशेष योगदान पु¥याएवापत राष्ट्रियस्तरबाट कृषि सम्मानका साथ विभिन्न संघसंस्थाहरुबाट सम्मानित भइसकेका कृषिविज्ञ मदन राई प्रकृतिको धनी नेपालमा गर्न चाहनेका लागि हरेक क्षेत्रमा सम्भावना देख्छन् । भन्छन्, ‘प्राकृतिक सुन्दरता, जैविक विविधता, ऐतिहासिक तथा बहुसाँस्कृतिक धरोहर रहेको नेपालको विकास गर्नका लागि पर्यटन र कृषि नै प्रर्याप्त छ ।’

प्रतिकृया दिनुहोस

टुल्कीलाई फाप्यो ‘पैँचो बाख्रा पालन व्यावसाय’

बागलुङ, २८ मंसिर । बागलुङ, दमेक–८ कि टुल्की थापा सापकोटा जल्दोबल्दो महिला हुन् । जल्दोबल्दो बन्न उनले कम्ती मेहनत गर्नु परेको छैन् । हुन त

मोरिंगा अर्थात सजिउन खेती कसरी गर्ने ?

परिचयः शितल चिनी तराई तथा मथ्य पहाडमा छिटो तयार हुने रुख जुन मानव खाद्य पदार्थ, औषधी, रंग, घाँस तथा पानी शुद्धिकरणमा प्रयोग हुने अपहेलित बाली  होस हिजन

दशपछि गाउँ फर्केका युवाले सुरु गरे बाख्रापालन

पोखरा, ६ मङ्सिर : अवसर खोज्दै दुई दशकअघि पोखरा झरेका यहाँका एक युवा पुनः गाउँ फर्केर बोयर जातको बाख्रापालन व्यवसाय शुरु गरेका छन् ।  साबिकको माझठाना