किबी खेती कार्यक्रम लथालिंग

२०७५ कार्तिक २८ बुधबार १९:१७:०० मा प्रकाशित

सरकार घोषणा गर्ने, कार्यान्वयन नगर्ने 

हलोखबर

halokhabar

इलाम, २८ कात्तिक । इलामको सन्दकपुर गाउँपालिका र इलाम नगरपालिकाको १, २, ३ र ४ को क्षेत्रमा किबी फलको ‘जोन’ घोषणा गरी कार्यक्रम स्वीकृत भए पनि कार्यालय स्थापना भएको छैन। प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना अन्तर्गत इलाममा ‘किबी जोन’ घोषणा गरी कार्यक्रम स्वीकृत गरे पनि आर्थिक वर्षको चार महिना बित्न लाग्दा परियोजनाको कार्यालय स्थापना नभएको हो।
दस वर्षअघिदेखि इलामको सन्दकपुर गाउँपालिका वडा नम्बर ३ बाट खेती सुरू भएको किबी इलामका किसानको आम्दानीको भरपर्दो स्रोत बन्दै आएको छ। किसानस्तरमा व्यवसायिक रुपमा खेती भएको किबीको उत्पादन, प्रशोधन र बजारीकरणका लागि सरकारले ‘किबी जोन’ सञ्चालन गर्ने घोषणा गरेको थियो। 
किसान र स्थानीय सरकारको माग अनुसार संघीय सरकारले ‘किबी जोन’ घोषणा गरे पनि समयमै कार्यक्रम सञ्चालन नहुँदा किसान दुःखित भएका छन्। ‘किबी जोन’ कार्यक्रमका लागि अहिलेसम्म इलामको कुन स्थानमा कार्यलय राख्ने विषयमा निर्णय भइनसकेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनका सूचना अधिकारी पर्शुराम रावतले बताए। 
एक वरिष्ठ कृषि अधिकृत, एक कृषि अधिकृत, दुई जना कृषि प्राविधिक सहायक, एक लेखापाल, एक नासु र दुई जना कार्यालय सहयोगीको दरबन्दी भए पनि अहिलेसम्म दुई जना प्राविधिक सहायक खटाइएको छ। तर, कार्यालय नहुँदा उनीहरु नै अलमलमा परेका छन्। 
तीन वर्षसम्म सञ्चालन हुने ‘किबी जोन’मा खेती विस्तार, उत्पादनमा बृद्धि, खेती गर्ने किसानलाई प्राविधिक सहयोग र बजारीकरणमा सहयोग गर्ने पहिलो आर्थिक वर्षको कार्यक्रम थियो। रावत अनुसार जोन कार्यक्रम सञ्चालनका लागि मन्त्रालयले नै कर्मचारी तोकिनसकेका कारण कार्यक्षेत्रमा कार्यालय स्थापना नभएको बताए। 
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट कर्मचारी व्यवस्थापनको काम भइरहेकाले केही समयभित्रै किबी जोनको कार्यक्रम सुरू गरिने रावतले बताए। कार्यालय स्थापनाको काम नभएको र कर्मचारी नखटाएका कारण ‘किबी जोन सञ्चालन समति गठन हुन सकेको छैन। ९ सदस्यीय सञ्चालक समितिमा किबी खेती गर्ने किसान, व्यवसायी सहभाथी हुने नियम छ।
इलामको सन्दकपुर गाउँपालिकासहित इलाम नगरपालिकाका चार वटा वडामा सञ्चालन हुने किबी जोन कार्यत्रम तीन वर्षसम्म सञ्चालन भएपछि राम्रो भएमा ‘सुपर जोन’ कार्यक्रम लागू हुनेछ। किसानले सन्दकपुर गाउँपालिकामा परियोजनाको कार्यालय राख्न माग गरेका छन्। किबीका लागि पकेट क्षेत्रलाई दस हेक्टर, किबी ब्लकका लागि एक सय हेक्टर, किबी जोनका लागि पाँच सय हेक्टर र किबीको सुपर जोनका लागि एक हजार हेक्टर क्षेत्रफल निर्धारण गरिएको परियोजनाका राउतले बताए। 
राउतका अनुसार तीन वर्षे जोन कार्यत्रम सफल र राम्रो रुपमा सञ्चालन भएमा सुपर जोन घोषणा गरी थप सात वर्षसम्म परियोजना सञ्चालन हुनेछ। किबीको उत्पादन, प्रशोधन तथा बजारीकरणमा केन्द्रित गरी विनियोजन गरिएको ७० प्रतिशत रकम मेसिनरी र ३० प्रतिशत रकम चालू खर्चका रूपमा खर्च गरिनेछ।
योजना तर्जुमा भएर किसानसँगको प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना काठमाडौंबाटै इलाम आएर एक पटक छलफल भएको र कार्यान्वयनको चरणमा औद्योगिकीकरण गर्दै प्रोसेसिङ, मार्केटिङ र व्यावसायिककरणमा किबी जोनको कार्यक्रमले किसानलाई सहयोग गर्ने कृषि विकास कार्यालय इलामका वरिष्ठ कृषि विकास अधिकृत राम सोगरथ साहले बताउँछन्। 
नेपालको १२ सय मिटरदेखि दुई हजार पाँच सय मिटरसम्मको उच्चाइमा खेती गर्न सकिने किबीको उत्पादन इलामको सन्दकपुर गाउँपालिकाबाट खेती भिएको थियो भने उद्योग वाणिज्य संघले ‘एक गाउँ एक उत्पादन’ कार्यक्रम लागू गरी विस्तारमा सहयोग गरेको थियो। घरबाटै गाडी–गाडीमा व्यापारीले बजारमा लाने गरे पनि किबीको पछिल्लो चरणमा मूल्य कम भएको सन्दकपुर गाउँपालिका सुलुबुङ्गगुका किसान गोपाल खतिवडाले बताए। 
व्यावसायिक रुपमा किबी खेतीबाट इलाममा गत आर्थिक वर्षमा तीन करोड ७९ लाख ५० हजार रुपैयाँको आम्दानी भएको थियो। जिल्लामा एक सय ३५ मेट्रिक टन किबी उत्पादन भएको थियो। जुस, जाम, जेली बनाउन प्रयोग हुने किबी फल प्रतिकिलो तीन सय ५० रुपैयाँमा बिक्री हुँदै आएको छ।
किबीमा भिटामिन ‘सी’ लगायतका पोषकतत्वहरु धेरै मात्रामा पाइन्छ। खान स्वादिष्ट र खेती गर्न सजिलो किबी फलबाट जुस, जाम, जेली, वाइन, केक, विस्कुट, चक्लेट, विस्कुट लगायत कस्मेटिक सामान, भिटामिनसहित २ सय ४८ वटा वस्तुहरु निर्माण भइसकेका छन्।
काठमाडौं, दोलखा, गुल्मी, कास्की, काभ्रे, धादिङ लगायतका जिल्लामा व्यावसायिक रुपमा किबी खेती लगाइएको छ। समुद्री सतहबाट ८ सय मिटरदेखि ३ हजार मिटरसम्मको उचाइमा किबी खेती हुन्छ। 
संयुक्त राष्ट्रसंघ विश्व खाद्य संगठनले सन् २००५ मा प्रकाशित गरेको एक तथ्याङ्क अनुसार विश्वका सात मुलुकमा किबीको व्यावसायिक खेती गरिएको छ। इटाली, न्यूजिल्याण्ड, फ्रान्स, ग्रीक, इरान, युनाइटेड स्टेट र क्यानडामा किबी खेती गरिएको तथ्याङकमा छ।

प्रतिकृया दिनुहोस

किसानको हितकालागि निजी मिडियाहरुसंग पनि सहकार्य गर्दै जान्छौ : प्रमुख दाहाल

कृषि सूचना केन्द्रको नाम अहिले परिवर्तन भएर कृषि सूचना तथा प्रशिक्षण केन्द्र भएको छ । यस केन्द्रले कृषि क्षेत्रमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय

विगतमा ११ करोडसम्म अनुदान दिएका छौ : निर्देशक पौडेल

बर्से दीर्घकालीन कृषि विकास रणनीति ९एडिएस० सफल पार्न विगत तीन बर्षदेखि प्रधानमन्त्री कृषि आधुनीकीरण परियोजना लागू भएको छ । स्वादेशी लगानीमा सुरु

अनुदान प्रसस्त पाईन्छ असल कृषिमा काम गर्नेकालागि : हरिबंश आचार्य

चर्चित हास्य कलाकार हरिबंश आचार्यले कुनै वेला तरकारी खेति गरेका थिए, मदनकृष्ण श्रेष्ठसंग मिलेर । त्यसवेला अनुदान धेरै लिएको भनेर खुवै चर्चा पनि