१४ औँ राष्ट्रिय धान दिवसको तय

दुइबाली धानको विस्तार आर्थिक समृद्धिको आधार

(No Comments)     June 24, 2017    

काठमाडौँ, १० असार । कृषि विकास मन्त्रालयले १४ औँ राष्ट्रिय धान दिवसका नारा–‘दुइबाली धानको विस्तार आर्थिक समृद्धिको आधार’ तय गरेको छ । विश्वमा सन् २००४ अर्थात २०६१ सालमा पहिलो पटक अन्तर्राष्ट्रिय धान दिवस सम्पन्न भएको थियो । ४३ राष्ट्रको संयुक्त आह्वानलाई संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय धान दिवस मनाउने प्रस्तावलाई पारित गरेपछि आजसम्म विभिन्न देशमा अलग-अलग रुपले धान दिवस मनाउने गरिन्छ ।

संयुक्त राष्ट्रसङ्घले सन् २००४ मा पहिलो पटक अन्तर्राष्ट्रिय धान दिवस सम्पन्न गरेको थियो । त्यस वर्षको अन्तर्राष्ट्रिय धान दिवसको नारा ‘धान जीवन हो’ भन्ने राखिएको थियो । त्यसपछि संयुक्त राष्टसङ्घमार्फत अन्तर्राष्ट्रिय धान दिवस मनाउने गरिएको पाइँदैन ।

विश्वमा नेपाल एक त्यस्तो देश हो, जसले संयुक्त राष्ट्रसङ्घबाट निर्णय भएको धान दिवसलाई नै आजसम्म ‘राष्ट्रिय धान दिवस’ को रुपमा मनाउँदै आएको छ । नेपाली समाजमा अहिले पनि एकआपसमा भेट हुनासाथ भात खानुभयो भनेर कुराको थालनी गर्ने गरिन्छ । अर्थात् भात खानु नेपालीको आदत र अनिवार्य अभ्यास भएको छ ।

तर अहिले पनि कर्णालीका र अन्य केही जिल्लामा भातलाई विशेष परिकारका रुपमा लिने गरिन्छ । पितृलाई पिन्ड दान दिन र देवीदेउतालाई पूजा गर्दा अक्षताका रुपमा चामलको प्रयोग गरिन्छ ।

नेपालका प्रमुख छ खाद्यन्न बालीमध्ये धान प्रमुखबाली हो । आर्थिक वर्ष ०७३/ ७४ मा धान उत्पादनमा नेपालले ऐतिहासिक उपलव्धि हासिल गरेको छ । सो अवधिमा १५ लाख ५२ हजार हेक्टर जमिनमा धान खेती गरी ५२ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । उक्त उत्पादन हालसम्मकै उच्च हो ।

‘दि इकोनोमिक पोष्ट’ पत्रिकाले नेपालमा धान उत्पादन वृद्धिले कुल गार्हस्थ्य उत्पादनमा उल्लेखनीय योगदान पुगेको उल्लेख गरेको छ । धानको उत्पादन बढ्दा कुल गार्हस्थ्य उत्पादनमा टेवा पुग्छ भने घट्दा कुल गार्हस्थ्य उत्पादन (जिडिपी) तल झर्छ । नेपालमा चैते धान, वर्षे धान र घैया धानकोखेती गरिँदै आएको छ । धानको उत्पादनमा १० प्रतिशतले वृद्धि हुँदा कुल गार्हस्थ्य उत्पादनमा १ प्रतिशत बढ्छ ।

दोस्रो विश्वयुद्धपछि जव खाद्य सङ्कट आयो त्यसपछि संयुक्त राष्ट्रसङ्घले सन् १९६६ लाई ‘भोकमरीबाट मक्त’ भन्ने नारासहित धानबालीलाई वर्षबाली घोषणा गरेको थियो । सन् २००८ मा भारतले मोटाधान र चामल निर्यातमा रोक लगाएको थियो ।

माथिको विकसित घटनाक्रमपछि मात्र नेपाल सरकारले धान उत्पादन वृद्धिमा चासो देखाएको वरिष्ठ धानविज्ञ भोलामान सिंह बताउनुहुन्छ । वृहत्तर, चैते तथा मसिनो र बास्नादार धान उत्पादन कार्यक्रम गतवर्षबाट लागू भएको छ ।

कृषि विकास मन्त्रालयले आर्थिक वर्ष ०७३/७४ मा रु एक खर्ब चार अर्बको धान उत्पादन भएको जनाएको छ । कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ३३ प्रतिशत छ भने धानको मात्र २० देखि २१ प्रतिशत छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत धान उत्पादन कार्यक्रम अगाडि बढेको छ । नेपालमा सबैभन्दा धेरै धान उत्पादन हुने जिल्ला झापा हो । पहाडी २२ जिल्ला बराबर झापामा मात्र धानको उत्पादन हुन्छ । झापालाई धान उत्पादनको सुपरजोन क्षेत्र घोषणा गरिएको छ ।

सरकारले किसानलाई वृहत्तर धान उत्पादन कार्यक्रममा सहभागी हँदा रु ५० हजार तथा चैते, मसिनो बास्नादार उत्पादनमा रु पाँच हजार दिने नीति बनाएको छ । कृषि अनुसन्धान परिषद्–नेपाल (नार्क) का बाली तथा बागबानी निर्देशक यज्ञप्रसाद गिरीले हालसम्म ८१ प्रकारका धानको बीउ उन्मोचन (सिफारिस) गरिएको बताउनुभयो ।

विशेषगरी उच्च पहाडी क्षेत्रमा चन्दन नाथ–एक, तीन र लेकाली एक तीन, मध्य पहाडमा खुमलचार, ताइचीन, चाइनुङ्ग–२४२, खुमल–१० र १३, तराई र भित्री मधेसमा चेहराङ्ग सव– १ र सुख्खा (सव) एक देखि ६ , स्वर्ण सव–एक, हर्दिनाथ एकलगायतका धान बीउबाट उत्पादन गरिँदै आएको छ ।

नेपालमा वार्षिक लगभग ६० लाख मेट्रिक टन धान आवश्यक पर्छ । खाने बानीमा परिवर्तन गर्ने हो भने अहिले उत्पादन भइरहको धान पर्याप्त हो । भातको सट्टामा गहुँको पिठोबाट तयार हुने परिकार खादा स्वास्थ्यलाई पनि फाइदा पुग्छ भने खाद्यान्नमा समेत बचत हुने देखिन्छ । आर्थिक वर्ष ०७३/७४ मा १७ लाख मेट्रिक टन गहुँ उत्पादन भएकोमा ९ लाख मेट्रिक टन मात्र खपत भएको थियो ।

संसारको सबैभन्दा उच्च स्थानमा धानखेती हुने ठाँउ नेपालको जुम्ला जिल्लाको छुमचौर हो । त्यहाँ जुम्लीमार्सी धानखेती गरिन्छ । संसारमा कुल जनसङ्ख्यामा आधा अर्थात तीन अर्ब पाँच करोड जनसङ्ख्याको मुख्य खाना चामल हो । एसियाली देशमा मात्रै ९० प्रतिशत भन्दा बढी धान उत्पादन र खपत हुन्छ ।

विश्वमा सबैभन्दा धेरै धान उत्पादन गर्ने १० देश क्रमशः चीन, भारत, इन्डोनेसिया, बङ्गलादेश, भियतनाम, थाइल्यान्ड, म्यानमार, फिलिपिन्स, ब्राजिल र जापान पर्छन् ।

नेपालमा धानको उत्पादन सरदर प्रतिहेक्टर ३,००० केजी छ । सन् १९६६ देखि सन् २००९ सम्म अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान केन्द्र ९इरी०बाट विकसित धानका जात सदुपयोग गरी विश्वका ७८ देशमा ८६४ बीउ उन्मोचन भएका छन् । नेपालमा उन्मोचन गरिएका ८१ जातमा ६ थरीका मात्र रैथाने जातको धानखेती गरिन्छ ।

संसारमा करिब एक लाख ४० हजार प्रकारका रैथाने धानका जात रहेको अनुमान अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान केन्द्र (इरीे)को छ । सोमध्ये एक लाख १७ हजार प्रकारका रैथाने जातहरु इरीले आफ्नो जीन बैंकमा सङ्कलन गरेको जनाएको छ ।

सन् २०५० मा विश्वको जनसङ्ख्या ९ अर्बभन्दा बढी पुग्ने अनुमान गरिएको छ । त्यस बखत हालको ९भन्दा ७० प्रतिशत उत्पादन बढाउनुपर्ने हुन्छ, । रासस

Comments

comments

Related Posts