स्थानीय जातको धान रोगसँग लड्न सक्छ!

(No Comments)     June 10, 2018    

काठमाडौं । देशका अधिकांश जिल्लामा स्थानीय जातको धानको बीउ हराउदै जान थालेको छन् । आज भन्दा तीन दशक पहिले चितवान जिल्लाका किसानले ३१२ जातका धान खेती गर्ने गर्दथे । अहिले तीमध्ये अनदी जात बाहेक अधिकांश धानका जात हराइसकेका छन् ।

स्थानीय जातको धान खेती गर्न चाहे पनि अहिले बीउ पाउन सकिदैंन । देशका अधिकांश क्षेत्रमा उन्नत र हाइब्रिड जातको धानको बीउको प्रयोग बढ्दै जाँदा स्थानीय जातको धान लोप हुँदैं जान थालेको हो ।

तराईदेखि पहाडका ग्रामीण भेगसम्म किसानमा उन्नत र हाइब्रिड धानको बीउको प्रयोग बढ्दै गएको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले जनाएको छ । स्थानीय जात हराएरै जानु राम्रो नभएको नार्कअन्तर्गतको बाली विज्ञान महाशाखामा कार्यरत प्राविधिक अतित पराजुली बताउनुहुन्छ ।

पुस्तौँदेखि रोपिँदै आएको जात त्यस ठाउँको हावापानीका लागि सुहाउँदो हुन्छ । अहिले देशभर नै जलवायु परिवर्तनको असर धानबालीमा परेको छ । स्थानीय जातले देशभरको समस्या समाधान गर्न नसके पनि त्यस ठाउँको समस्या समाधान गर्न सक्ने भए पनि तर अहिले अधिकांश ठाउँमा स्थानीय जातको धान लोप हुँदैं गएको पराजुलीको भनाई छ ।

महाशाखा अहिले जलवायु परिवर्तनसँग जुध्न सक्ने बीउको विकास गर्नका लागि अध्ययन÷अनुसन्धानमा लागिरहेको छ । रोगसँग लड्न सक्ने स्थानीय जातको बिउ ल्याएर उन्नत जातका रुपमा विकास गर्न सकिने प्राविधिक पराजुली बताउनुहुन्छ ।

नेपालमा एउटै जिल्लाको पनि सानो ठाउँमा फरक–फरकखालको हावापानी छ । ती ठाउँपिच्छे पुस्तौँदेखि फरक–फरक जातका धान लगाइँदै आएको थियो । तीमध्ये कुनैमा सुक्खा सहन सक्ने, कुनैमा अगौटे, कुनैमा रोगसँग लड्नेलगायतका गुण छन् । उहाँ भन्नुहुन्छ, “स्थानीय जातमा भएको राम्रो गुण ल्याएर उन्नत जातमा विकास गर्न सकिन्छ ।” अहिलेमात्रै नभएर भविष्यमा समेत ठूलो रोगको प्रकोप आउँदा स्थानीय जात उपयोगी हुन सक्थ्यो ।

स्थानीय जातका तुलनामा उन्नत र हाइब्रिडले बढी उत्पादन दिने भएकाले त्यसको प्रयोग बढेको प्राविधिक पराजुली बताउनुहुन्छ । नार्कले रोगसँग लड्ने क्षमता बढी भएको बीउ अनुसन्धान र विकास गरेर किसानलाई सिफारिस गरिरहेको छ । धानमा सबैभन्दा बढी मरुवा (ब्राल्ट) रोगले आक्रमण गर्छ । उहाँ भन्नुहुन्छ, “हामीले यो रोगसँग लड्ने जातको विकास गर्न अध्ययन गरिरहेका छौँ ।”

उन्नत वा हाइब्रिडमा अरुखालका गुणभन्दा पनि किसानले कुनले बढी उत्पादन दिन्छ त्यही छनोट गर्दै आएका छन् । हाइब्रिडले उत्पादन बढी दिने भन्दै किसान महँगो तिरेर पनि हाइब्रिड जातका बीउ रोप्छन् । तराईमा एक÷दुईवटा जातका बीउ विकास भए पनि पहाडका लागि हाइब्रिड धानको बीउ सिफारिस भएको छैन । अरु देशको हावापानी अनुकूलका बीउ यहाँको हावापानी र माटोमा अनुकूल नहुँदा कुनै वर्षमा उत्पादन नदिँदा किसान हैरान छन् । प्राविधिक पराजुलीका अनुसार किसानले पनि एग्रोभेटका कुराका पछिमात्रै लाग्नुभन्दा राम्ररी बुझेरमात्रै किनेर धान लगाउनु राम्रो हुने गर्दछ ।

नार्कले आयात गरेका बीउमात्रै नभएर स्थानीय जातबाट नै उन्नत जातको विकास गर्न सकिने भन्दै धेरै जातका धानलाई निरन्तरता दिँदै आएको छ । यहाँ भइरहेका जातबाट पहाडी क्षेत्रको मौसमलाई सुहाउँदो र उत्पादन बढी दिने बीउ अनुसन्धान भइरहेको छ । अनुसन्धानमा सफल नतिजा दिएका बीउ नै नार्कले पहिले किसानको खेतमा पनि परीक्षण गरेर सिफारिस गर्छ ।

धान नेपालको मुख्य बाली हो । नेपालीले सबैभन्दा बढी खाने अन्न पनि चामल हो । त्यसैले पनि धान रोप्ने महिनालाई किसानले उत्सवका रुपमा मनाउदै असार १५ मा दही चिउरा खाई धान रोपाई गर्ने चलन रहिआएकोछ ।

Comments

comments

Related Posts