सुदूरपश्चिमका स्याउ गाउँमै थन्किन बाध्य

(No Comments)     August 17, 2017    

भीमदत्तनगर, १ भदौ । सुदूरपश्चिमका केही पहाडी जिल्लामा वर्षेनी स्याउ उत्पादन हुने गरेको भए पनि सरकारी तवरबाट त्यसको व्यवस्थापनमा खासै चासो दिएको पाइन्न ।

सुदूरपश्चिममा सबैभन्दा बढी स्याउ उत्पादन हुने बाजुरामा जिल्ला कृषि कार्यालयले स्याउ उत्पादन, क्षेत्र विस्तार र किसानलाई केही सहयोग पु¥याएको भए पनि भौगोलिक विकटताका कारण उत्पादित स्याउ दूरदराजका गाउँमै वर्षौंदेखि थन्किएको छ ।

ग्रामिण भेग सडक सञ्जालसँग नजोडिएका कारण बाजुराको स्याउले बजार पाउन सकेको छैन । “सडककै कारण किसानले स्याउ बिक्री वितरण गर्न पाएका छैनन्,” जिल्ला कृषि विकास कार्यालय बाजुराका बागवानी विकास अधिकृत सविता जोशील भन्नुभयो, “एक डोको स्याउ बिक्री गर्न एक दिन पैदल हिँड्नुपर्ने किसानको बाध्यता छ ।”

जिल्ला कृषि विकास कार्यालयले बाजुरामा स्याउ उत्पादनको क्षेत्र विस्तारका लागि वर्षेनी किसानलाई बिरुवा वितरणदेखि विभिन्न कृषि सामग्री वितरण गर्दै आएको छ । “गत र चालू आवमा १९ हजार स्याउका बिरुवा वितरण ग¥यौैँ,” जोशीले भन्नुभयो, “किसानले स्याउ गहुँ-धानलगायत अन्नसित साट्नुपर्ने बाध्यता छ ।”

बाजुरामा २२० हेक्टर क्षेत्रफलमा स्याउखेती गरिएको छ भने १२० हेक्टरमा स्याउ उत्पादन हुन्छ । सदरमुकाम मार्तडीमा किसानले पु¥याएको स्याउ प्रतिदाना रु १५ देखि रु २० सम्म बिक्री हुन्छ । ढुवानीको समस्या नभए यहाँका किसानले स्याउबाट मनग्य आम्दानी गर्न सक्ने अधिकृत जोशी बताउनुहुन्छ ।

विभिन्न गैरसरकारी संस्थाले समेत बाजुरामा स्याउखेतीमा अनुदान उपलब्ध गराउँदै आएका छन् । बजार र ढुवानी समस्याका कारण अनुदानले सार्थकता पाउन सकिरहेको छैन । बाजुराको पाण्डुसैन, जुकोट, बाधु, साप्पाटा, गोत्री, जगन्नाथ क्षेत्रमा स्याउ फल्छ । गत आवमा यहाँ ९६० मेट्रिक टन स्याउ उत्पादन भएको थियो । “क्षेत्र विस्तारसँगै बर्सेनि स्याउ उत्पादन बढिरहेको छ,” जोशीले भन्नुभयो, “उत्पादन हुने क्षेत्रमा सडक पूर्वाधार नबनेसम्म बजारको समस्या रहिरहने छ ।”

सुदूरपश्चिम क्षेत्रीय कृषि निर्देशनालयसित भने सुदूरपश्चिममा कुन जिल्लामा कति स्याउ फल्छ भन्नेसम्म तथ्यांक छैन । “सुदूरपश्चिमा स्याउ उत्पादनका विषयमा अहिलेसम्म अध्ययन भएको छैन,” सुदूरपश्चिम क्षेत्रीय कृषि निर्देशनालयका सूचना अधिकृत सरिता पन्तले भन्नुभयो, “स्याउ उत्पादन गर्ने किसानलाई सामान्य रोग-किरा व्यवस्थापन गर्न अनुदानबाहेक अन्य सहयोग भएको छैन ।”

उहाँले यहाँका जिल्लामा बाजुरामा बढी मात्रामा स्याउ उत्पादन हुने गरेको जानकारी भए पनि क्षेत्रीय कृषि कार्यालयसँग स्याउका विषयमा कुनै तथ्यांक नरहेको स्वीकार गर्नुभयो । क्षेत्रीय कृषि निर्देशनालय दिपायलका अनुसार सुदूरपश्चिमका सात पहाडी जिल्लामध्ये बाजुरा, अछाम, डडेल्धुरा, दार्चुला र बझाङका केही भेगमा स्याउ उत्पादन हुने गरेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत यहाँ स्याउखेतीलाई समेटिएको छैन । बाजुराको केही क्षेत्रमा स्याउ जोन घोषणा गर्नुपर्ने किसानको माग रहे पनि बाजुरामा जैतुनखेतीलाई परियोजनाको प्राथमिकतामा राखिएको छ ।

त्यसैगरी दार्चुलाको ब्यास गाउँपालिका र अपिहिमाल गाउँपालिकाको केही क्षेत्रमा किसानले स्याउखेती गर्दै आएका छन् । दार्चुलामा करिब ३५ हेक्टर क्षेत्रफलमा स्याउ फल्दै आएको भए पनि बजारसम्म पुग्ने गरेको छैन ।

“गाउँमा फलाएर त्यहीँ बिक्री गर्ने गरेका छन्,” जिल्ला कृषि विकास कार्यालय दार्चुलाका प्राविधिक सहायक हरिशदत्त जोशीले भन्नुभयो, “दार्चुलामा ३०० हेक्टरमा स्याउखेती गर्न सकिन्छ ।” यहाँको सुनसेरा, राप्लाको माथिल् लो भेग, खण्डेश्वरीमा किसानले स्याउखेती गर्ने गरेका छन् । “भौगोलिक विकटताकै कारण स्याउखेती विस्तारमा ध्यान पुग्न सकेको छैन,” उहाँले भन्नुभयो, “सदरमुकाम खलंगाबाट स्याउ फल्ने ठाउँसम्म पुग्न चार÷पाँच दिन लाग्छ ।”

अछाममा केही स्थानमा किसानले स्याउखेती गर्दैआएका छन् । यहाँ बजारमुखीभन्दा पनि किसानले एकाध स्थानमा स्याउका बिरुवा रोपेको जिल्ला कृषि विकास कार्यालय अछामका कृषि प्रसार अधिकृत सुनिल जोशीले बताउनुभयो । उहाँका अनुसार अछामको रामारोशन र खप्पड क्षेत्रको माथिल्लो भेग स्याउ उत्पादनका लागि उपयुक्त मानिन्छ ।

बझाङमा पनि ३६० हेक्टर क्षेत्रफलमा स्याउखेती गरिए पनि १८० हेक्टरमा फल्दै आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । बझाङमा भने स्याउ उत्पादन घट्दै गइरहेको छ । रासस

Comments

comments

Related Posts