सिँचाइ अभावमा खेत बाँझै

(No Comments)     July 19, 2016    

रामपुर (पाल्पा), ४ साउन । सिँचाइ अभावका कारण जिल्लाका अत्रौली, बैडी र पुट्टारका किसानले धान रोप्न पाएका छैनन्

अत्रौली सिँचाइ नहरको विभिन्न ठाउँमा मर्मत तथा पुनःनिर्माण भइरहेकाले किसानले समयमा नै धान रोप्न नपाएका हुन् । खेतमा हरियाली छाउने बेलामा ब्याडमै बीउ पहेँलिन थालेको किसान बताउँछन् । नहरको मुहानदेखि पुछारसम्मका विभिन्न भाग जगैदेखि भत्किएका छन् ।

“मर्मतको काम भइरहेकाले नहरमा पानी सुचारु गर्न नसकिएको हो,” अत्रौली सिँचाइ योजनाका अध्यक्ष रामजी अर्यालले भन्नुभयो । असारको अन्तिम साताबाट पानी सुचारु गर्न नहरको मर्मतको काम सुरु गरेको हो । “रोप्ने बेलामा पानी छैन,” अगुवा किसान कमलप्रसाद अधिकारीले भन्नुभयो । बीउ छिप्पिदै गएकाले उत्पादनमा कमी आउने उहाँलाई चिन्ता छ ।

डुम्रीवेशीको मुहानमा बाँध बाधेर ल्याइएको सो नहरको पानीले बैडी, भुवनटार, अत्रौली र पुट्टारका ८६० घरधुरी किसानले विगतमा धान रोपाइँ गर्ने गरेका थिए । करिब १८ किलोमिटर लामो उक्त नहरबाट ३३५ हेक्टर जमिनमा सिँचाइ गरिँदै आएको थियो ।

एसियाली विकास बैंकको ऋण सहयोग र नेपाल सरकारको अनुदानमा रु २० करोडको लागतमा उक्त नहर मर्मत तथा पुनःनिर्माण भइरहेको छ । विसं २०४६ मा निर्माण भएको सो नहर एक दशकयता ठाउँ ठाउँमा भत्किँदा किसानलाई सिँचाइ गर्न समस्या भएको थियो । रासस

Comments

comments

Related Posts