व्यावसायिक चियाखेती गर्ने बढ्दो

नेपालको नब्बे प्रतिशत चिया विदेश निर्यात

(No Comments)     December 13, 2017    

काठमाडौं । चियाखेतीबाट कृषकले राम्रो आम्दानी लिन थालेकाछन् । इलाम नगरपालिका–१ की मिलनकुमारी खत्रीलाई १५ वर्षअघिसम्म चियाको बारेका खासै राम्रो जानकारी थिएन भने चिया पत्तिबाट आम्दानी लिन सकिन्छ भनेर राम्रो ज्ञाननै थिएन ।

त्यसबेला खत्रीसँग चिया भएपनि घरायसी सामन सटहीमा मात्र प्रयोग गर्दै आउने गरेको बताउनु हुन्छ । छिमेकीले चियाबाट आम्दानी लिन सकिन्छ भनेपछि उहाँले पनि चिया पतिलाई ओईलाएर बिक्री गर्न सुरु गरेको बताउनु हुन्छ । त्यसबेला चियाको मूल्य प्रतिकिलो आठ रुपैंयामा बिक्री हुनेगरेको खत्रीको भनाई छ ।

चिया खेतीबाट राम्रो आम्दानी हुने देखेपछि बिस्तारै गाउँभर व्यवसायिक चियाखेती विस्तार हुन थालेका छन् । चियाको माग अन्य गाउँबाट पनि आउन थालेपछि उहाँको आम्दानी पनि बढ्न थाल्योे । उहाँले घरेलु तथा साना उद्योग विकास समितिमा उद्योग दर्ता गरेर दुईहजार पुरस्कार समेत प्राप्त गर्नु भयो भने त्यसले थप हौंसला मिलेको बताउनु हुन्छ ।

खत्रीले अहिले आफ्नो जमिन र भाडाको जमिन गरी नौ सय रोपनी जमिनमा चियाखेती गर्दै आउनु भएकोछ । चिया बगानसँगै उहाँको आप्नो चिया प्रशोधन उद्योग पनि संचालन गर्दै आउनु भएकोछ । उहाँको अनुसार वार्षिक रु तीन लाखदेखि रु चार लाखसम्म नाफा हुने गरेको छ ।

अहिले उहाँले चिया विदेशमा समेत निर्यात गर्दैआउनुभएको छ । खत्री राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट समेत सम्मानित भइसक्नुभएको छ । लेकाली कृषि सहकारी संस्थामा आबद्ध उहाँले चियाकै लागि उन्नति परियोजनाबाट रु ८० लाखको परियोजना प्राप्त गर्नुभएको छ ।

यस्तै, सूर्योदय नगरपालिकाका काजीमान कागतेले पनि ८० रोपनी आफ्नै जग्गामा चियाखेती गर्दै आउनु भएकोछ भने दैनिक दुई सय किलोसम्म हरियोपत्ती उत्पादन गर्दै आउनु भएको छ । चियाखेतीलेनै परिवार पालेको बताउनु हुन्छ कागते । झुल्के घाम लघु चिया उद्योगका सदस्य समेत रहनु भएको कागतेले चियाखेतीकै लागि उन्नति परियोजनाबाट रु १६ लाखको परियोजना प्राप्त गर्नुभएको छ ।

अहिले यसरी चियाखेतीबाट आम्दानी गर्ने किसानको संख्या बढ्दो रहेको छ । मुलुकमा सबैभन्दा बढी चिया उत्पादन इलाम, झापा, पाँचथर, तेह्रथुम हुने गरेका छन् । अहिले ललितपुर, रामेछाप, कास्कीलगायत जिल्लामा समेत चियाखेती बिस्तार हुन थालिसकेको छ । देशभर करिब ९० हजार व्यक्तिले चियाबाट रोजगारी पाएका छन् भने २० हजारभन्दा बढीले चियाको व्यावसायिक खेती गर्दैआएका छन् ।

यसैगरी नेपालमा ८६ वटा साना उद्यम छन् ।  संघका अनुसार नेपालमा उत्पादित चिया १० प्रतिशत मात्रै नेपालमा खपत हुने गरेको छ भने बाँकी ९० प्रतिशत विदेश निर्यात हुने गर्दछ ।

Comments

comments

Related Posts