यसबर्ष सुन्तला उत्पानमा कमी

(No Comments)     December 31, 2017    

काठमाडौं । यस बर्ष देशका धेरै जिल्लामा सुन्तला उत्पादनमा कमी आएको छ । सुन्तलाको फूल फूल्ने र फल लाग्ने समयमा असिना पानी पर्नेका साथै विभिन्न रोगका कारण सुन्तला उत्पादनमा कमी आएको हो । सुन्तला खेती गरी जीविकोपार्जन गर्ने कृषक यस बर्ष समस्या परेकोछन् ।

पाल्पाको सुन्तला उत्पादनका पकेट क्षेत्र मानिएको पालुङमैनादी, मुझुङ, छहरा, सोमादी, कुसुमखोलालगायतका क्षेत्रमा यस वर्ष सुन्तला उत्पादनमा निकै कमी आएको छ । रिब्दीकोट गाउँपालिकाकोे पालुङमैनादीका कृषक चित्रबहादुर कुँवरले गत वर्ष करिब रु दुई लाखको सुन्तला बिक्री गरेकामा यस बर्ष एक लाख बराबरको मात्र बिक्री गरेको बताउनु भयो ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख किशोरमान श्रेष्ठले किसानले बोटमा आवश्यक स्याहारका साथै मलजलको राम्रो ख्याल नगर्नाले सुन्तला उत्पादनमा कमी आएको बताउनुभयो ।

यस्तै, पोखरामा पनि यस बर्ष सुन्तला उत्पादनमा कमी देखिएको छ । सुन्तलाको बोटमा विभिन्न रोग लागेर सुक्दै जानु, गोडमेल, मलजललगायतको उचित व्यवस्था नमिल्नाले पनि सुन्तला उत्पादनमा कमी आएका जिल्ला कृषि विकास कार्यालयका प्रचारप्रसार अधिकृत प्रकाश वस्ताकोटी भनाई छ ।

जिल्लाका कृस्तिनाच्नेचौर, निर्मलपोखरी, पुम्दीभुम्दी, भरतपोखरी, थुम्की र सल्यानमा सुन्तला उत्पादन हुनेगर्दछ ।

यसैगरी, तेह्रथुममा पनि असिना पानीका साथै रोगले गर्दा यस बर्ष गत बर्ष भन्दा सुन्तला उत्पादनमा कमी आएको जिल्ला कृषि विकास कार्यालयका प्राविधिक भुवनसिंह बुढाथोकीले बताउनुभयो ।

सुन्तला बगौंचाको राम्रो स्याहर, गोडमेल नपुग्नाले र सुन्तलामा रोग लाग्नाले उत्पादनमा कमी आएको बुढाथोकीको भनाई छ । गत बर्ष भन्दा यस बर्ष सुन्तलाको मूल्य बढेको पनि उत्पादन घटेको छ । सुन्तलामा लागेको रोग र असिनाले गर्दा यस बर्ष सुन्तला उत्पादन रामे हुन नसकेको कृषक बताउछन् ।

सुन्तला खेतीको लागि माटोको परिक्षण र कृषि प्रविधिकलाई रोग निदानको लागि देखाए पनि समस्या समाधान नभएको यहाँको कृषकको भनाई छ । जिल्लाको फेदाप गाउँपालिकाको जलजले, आठराई गाउँपालिकाको छातेढुंगा, इवा, म्याङलुङ नगरपालिका तथा छथर गाउँपालिकाको फाक्चामारामा सुन्तला उत्पादन हुने गरेको छन् ।

अधिकांश स्थानमा सुन्तला उत्पादन कमी आउनको कारण, मुख्य रुपमा बगौंचाको स्याहर, गोडमेल, मलजलको उचित व्यवस्था नहुनुका साथै सुन्तलामालाग्ने विभिन्न रोगका कारण देखिएको छ । तसर्थ कृषकले खेती बाली लगाइसकेपछि त्यसको उचित मलजल, गोडमेल, रोगलगायतमा ध्यान पुरर्याउन जरुरी देखिन्छ ।

 

Comments

comments

Related Posts