मुलुक कृषि प्रधान देश भनिए पनि खाद्यान्न सधैं अपुग

नेपाल मासिक रु एक अर्बको चामल आयात गर्ने देशको सूचीमा

(No Comments)     March 25, 2017    

काठमाडौँ, १२ चैत । झन्डै कुल जनसङ्ख्याको दुई तिहाइ अर्थात् एक करोड ७६ लाख ६३ हजार कृषि पेसामा संलग्न रहे पनि मुलुकलाई खाद्यान्न अपुग छ ।

विसं २०३५ सालसम्म नेपालबाट धान, चामल, गहुँ, मकैलगायतका अन्नबाली भारततर्फ निकासी हुनेगथ्र्याे । अहिले मासिक रु एक अर्बको चामल आयात गर्ने देशको सूचीमा नेपाल पर्छ । मुलुकलाई कृषि प्रधान देश भनिए पनि यस वर्ष रु ४५ अर्ब बराबरको तरकारी, फलफूल, मासुजन्य वस्तु र रु ५५ अर्ब बराबरको चामल, गहुँ, तेल, दाललगायतका वस्तुको आयात गरेको बल्खु तरकारी बजार निर्देशनालयले जनाएको छ ।

कृषि उत्पादनमा वृद्धि हुँदा भारतसँगको व्यापार घाटा कम हुन्छ । तर, पछिल्लोपटक कृषि उत्पादनमा ह्रास आउन थालेपछि भारतसँगको व्यापार घाटा चुलिएको छ । चालु आबमा भारतसँग नेपालको व्यापार घाटा रु ८ खर्ब पुग्ने नेपाल राष्ट्र बैंकको अनुमान छ ।

Kishan1

राष्ट्रिय जनगणना, २०६८ अनुसार नेपालको कुल जनसङ्ख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ रहेको थियो । छैटौँ कृषि गणना २०६८ ले एक लाख १६ हजार व्यक्तिले आफ्नै जमिन नभएका कारण कृषि पेसा गर्न नपाएको र कृषिबाटै रोजगार गर्न चाहनेका लागि राज्यले सहयोग नगरेको गुनासो गरेको देखाएको छ ।

राष्ट्रिय योजना आयोगका पूर्व गभर्नर डा युवराज खतिवडा भूमिहीन, सीमान्तकृत र कृषि मजदुरका हातमा खेतीयोग्य जमिन नहुन्जेल कृषिको उत्पादन बढाउन मुस्किल पर्ने धारणा राख्नुहुन्छ ।

कृषि गणना, २०६८ अनुसार कृषि मजदुर २० र भूमिहीन सीमान्तकृत वर्ग १५ प्रतिशत रहेको छ । सरकारले पछिल्लोपटक जमिनको चक्लाबन्दी, सामूहिक, करार र सहकारी खेतीको अवधारणा अगाडि सारे पनि त्यसको सफल कार्यान्वयन हुन सकेको छैन ।

कृषि गणना, २०६८ अनुसार एक लाख २९ हजार हेक्टर जमिन बाँझो छ । एक हेक्टर बराबर २० रोपनीका दरले २५ लाख ८० हजार रोपनी जग्गा पूर्णरुपमा बाँझो भएको कृषि विकास मन्त्रालयका सचिव डा सुरज पोखरेलले जानकारी दिनुभयो ।

तीन रोपनी जग्गामा खेती गर्दा करिब पाँच व्यक्ति पालिन्छन् भने २५ लाख ८० हजार रोपनी जग्गामा खेती गर्दा पाँच लाख १६ हजार व्यक्तिको राम्रो पालनपोषण हुन्छ ।

krishi2

पढेलेखेका सहर केन्द्रित हुनु र जमिन खनजोत गर्ने समुदायसँग जग्गा नहुनु नै खाद्यान्न अभावको मुख्य कारण रहेको पूर्व मन्त्री केशव बडालको भनाइ छ । सीमित व्यक्तिका हातमा प्रचुर जमिन, जग्गाको खण्डीकरण, खेतीयोग्य भूमि घडेरीकरण, परम्परागत आकासे खेतीमाथि निर्भर र सिँचाइको अभाव कृषि क्षेत्रका समस्या हुन् ।

कुल गार्हस्थ्य उत्पादनमा करिब ३५ प्रतिशत योगदान रहेको कृषि क्षेत्रलाई आर्थिक समृद्धिको दरिलो आधार मान्न सकिन्छ । दश वर्षमा गहुँ छ, मकै १२, कोदो १९, जौ ३५, फापर ४०, कोसे दाल बालीमा २१, तोरीमा १३ प्रतिशतले उत्पादन घटेको तथ्याङ्क छ । रासस

Comments

comments

Related Posts