मुक्तकमैयाद्धारा च्याउखेती

(No Comments)     January 23, 2016    

भीमदत्तनगर । एक दशकअघि कञ्चनपुरको सुडामा साहुको खेतमा काम गरेर छोराछोरीको स्याहारमा जुटेकी मुक्तकमैया सुनिता चौधरी हिजोआज च्याउखेती गरेर गाउँमा व्यवसायीका रुपमा चिनिन थालेकी छन् ।

सरकारले कमैयालाई मुक्त गरेपछि जिल्लाको बेदकोट नगरपालिका– ५ मा रहेको जङ्गल फाँडेर मुक्तकमैया बस्तीमा परिणत ग¥यो । धरमपुर मुक्तकमैया शिविरका नामले परिचित उक्त मुक्तकमैया बस्तीमा व्यवसायीको जमातले स्थान लिँदै छ । श्रीमानको साथ छुटेपछि एकल बनेकी सुनिता यतिखेर च्याउखेती गरेर परिवारको जोहो गरिरहेकी छिन् । ‘‘सरकारले दिएको पाँचकठ्ठा खेत छ, अब खेती गरेर जीविका चलाउन गाह्रो बन्दै गयो,’’ उहाँले भन्नुभयो । पछिल्ला दुई वर्षदेखि च्याउखेतीबाटै आयआर्जन गरिरहेको चौधरीले बताउनुभयो ।


गाउँमा मुक्तकमैया महिलाको समूह छ । च्याउखेती गर्न समूहबाट रु १० हजार ऋण लिएर व्यवसाय गर्दैआएको चौधरीको भनाइ छ । च्याउका लागि बजारको कुनै समस्या नरहेको बताउँदै उहाँले गाउँमै च्याउ प्रतिकिलो रु २०० मा बिक्री हुने गरेको बताउनुभयो । ‘‘यो याममा ३०० क्विन्टल च्याउ उत्पादन हुन्छ,” उहाँले भन्नुभयो, ‘‘विगत वर्षबाट च्याउ उत्पादनलाई बढाउँदै लगेकी छु ।’’

चौधरीले आफ्नै मेहेनतको कमाइले छोरीको विवाह गर्न सफल हुनुभएको छ । यो याममा च्याउबाट आम्दानी गरेर ऋण चुक्ता गर्ने लक्ष्य चौधरीको रहेको छ । कृषि कार्यालयले अनुदान उपलब्ध गराउनुपर्नेमा उहाँ जोड दिनुहुन्छ । धरमपुर मुक्तकमैया शिविरकी सिमा चौधरीले पनि यस वर्षबाट च्याउखेती गर्न थाल्नुभएको छ । “अहिलेसम्म ३० किलो च्याउ बिक्री भइसकेको छ” उहाँले भन्नुभयो । यो वर्षको आम्दानी गरेर फेरि अर्को वर्ष पनि वृहत रुपमा च्याउ उत्पादनमा लाग्ने घरसल्लाह भएको चौधरीको भनाइ छ ।
     

सिमाका श्रीमान् भीमदत्तनगरमा काठको मिस्त्री काम गर्नुहुन्छ । “दिनभरी घरमा बस्नुभन्दा केही गरौंँ भनेर तालिम लिएर च्याउखेतीमा लागेँ” उहाँले भन्नुभयो । सिमाले पनि गाउँमा आवद्ध रहेको चट्याङ्ग सामुदायिक संस्थाबाट रु १० हजार ऋण लिएर च्याउ उत्पादनमा लाग्नुभएको हो । समूहमा आवद्ध महिलाले मासिक रु १०० बचत समेत गर्ने गरेका छन् ।

समूहमा आवद्ध महिला केही न केही आयमूलक कार्यमा लागेका छन् । च्याउ उत्पादनबारे जिल्ला कृषि विकास कार्यालय र गैरसरकारी संस्था नेपाल राष्ट्रिय समाजकल्याण सङ्घ ९एनएनएसडब्लुए०बाट तालिम लिएको चौधरीले बताउनुभयो । समूहमार्फत धरमपुरका मुक्तकमैया महिला आयमूलक व्यवसाय बङ्गुरपालन, खुद्रा पसल, च्याउखेती, कुखुरापालनलगायतका काम गर्दैआएका छन् ।

धरमपुरमा एक दर्जन मुक्तकमैया परिवार च्याउखेती गरिरहेका छन् । जिल्ला कृषि विकास कार्यालयको च्याउ उत्पादन कार्यक्रमबाट शिविरका पाँच किसानले रु १५ हजारका दरले अनुदान समेत पाउने भएका छन् । शिविरकै बालदेवी चौधरी र सुक्नी चौधरीले पनि संयुक्तरुपमा च्याउखेती गरिरहेका छन् । “भर्खरै बिक्री सुरु गरेका छौंँ,” सुक्नीले भन्नुभयो– “ खेतीपाती भन्दा राम्रो व्यवसाय च्याउखेती हँुदोरहेछ ।”

च्याउखेतीमा लागेर आफू सन्तुष्ट रहेको बताउँदै बालदेवी चौधरीले च्याउको आम्दानीले घरखर्च चल्नेमा आफू आशावादी रहेको बताउनुभयो । “श्रीमान् ट्रकमा मजदुरी गर्नुहुन्छ,” उहाँले भन्नुभयो– “आफु पनि केही गरुँ भनेर आयमूलक व्यवसायमा लागेकी हुँ ।’’ गाउँमा समूहको बिना धितोमा पाइने ऋण र गरिबी निवारण कोषको सहयोगले मुक्तकमैया बस्तीमा परिवर्तन आएको बालदेवी बताउनुहुन्छ ।

व्यवसायमा लाग्न गरिबी निवारण कोषले प्रेरित गरेको उनीहरुको भनाइ छ । अहिले शिविरका हरेक महिलाले आफ्नो आर्थिकस्थितिमा सुधार आउने किसिमका आयमूलक व्यवसाय रोजिरहनुभएको छ । गरिबी निवारण कोषले नेपाल राष्ट्रिय समाजकल्याण सङ्घ ९एनएनएसडब्लुए०मार्फत गरिबी निवारण कार्यक्रम सञ्चालनमा आएपछि शिविरमा नयाँ आयमूलक कामको थालनी भएकोे एनएनएसडब्लुएका गरिबी निवारण कार्यक्रम संयोजक टेक बुढा बताउनुहुन्छ ।

“च्याउखेतीमा मात्रै यहाँका १० जना मुक्तकमैयाले अनुदान पाउँदै आएका छन्,” उहाँले भन्नुभयो, “गरिबी निवारणकै कार्यक्रमले मुक्तकमैया परिवार कृषिको अनुदान पाउनसम्म पुगेका छन् ।” जिल्ला कृषि विकास कार्यालयले पनि च्याउखेती गर्ने मुक्तकमैयालाई मापदण्ड बनाएर कार्यक्रम सञ्चालन गरिरहेको छ । धरमपुर शिविरका २३ वटा सामुदायिक संस्थामा मात्रै गरिबी निवारणको रु ५० लाख बराबरको अनुदान रकम रहेको संयोजक बुढाले बताउनुभयो । गरिबी निवारण कोषको उद्देश्य मुक्तकमैया परिवारको आर्थिकस्थितिमा सुधार ल्याउनु रहेको उहाँको भनाइ छ ।

जिल्ला कृषि विकास कार्यालयले विपन्न र युवा लक्षित कार्यक्रमअन्तर्गत ४५ जना किसानलाई च्याउखेतीमा अनुदान दिने जनाएको छ । विपन्न परिवारलाई च्याउखेतीमा रु १५ हजार र युवा लक्षितमा रु २० हजार अनुदान दिइने वरिष्ठ कृषि विकास अधिकृत टीकाराम थापाले बताउनुभयो । “छनोटमा परेका किसानले च्याउ उत्पादन गरेका छन्, अब अनुगमनपछि अनुदान रकम प्रदान गर्छौँ” उहाँले भन्नुभयो । रासस

Comments

comments

Related Posts