मद्रासी कागती जाँतेमा

(No Comments)     November 17, 2017    

काठमाडौं । लेटाङ ९ जाँतेका विनोदकुमार वस्ती चार वर्षअघि भारतको मद्रास भ्रमणमा गएका थिए। मद्रासको अधिकाँस भूभागमा कागती फलेको देखेर उनी अचम्मित भए । समथर भूभागमा सुन्तलाकै ‘साइज’मा कागती फलेको देखेपछि आफ्नो ३ बिघा खेतमा पनि लगाएर विचार गर्ने निधो गरे।

तीन महिनापछि उनी फेरी मद्रास गए र कागतीको ९ईयर लियरिङ० कलमी बिरुवा अर्डर गरे। केही कुरा सिकेर आएका उनले खेती थाले।
मकै, तोरी र कोदो मात्र फल्ने उनको खेत अहिले कागतीको जंगलमा परिणत भएको छ। एक बोटमा उनले ८ सय दाना कागती फलाउन सक्ने तालिम लिएका छन् । ‘वर्षमा ४ पटकसम्म कागतीको बोटमा दाना लाग्छ’ उनले भने, ‘तीन बिघा खेतमा ३२०० बोट छ, एक बोटमा ८ सयका दरले वर्षमा २५ लाख ६० हजार दाना फलाउँछु।’

बजारमा एउटा कागतीको खुद्रा मुल्य ३ र थोक २ रुपैयाँ छ। वस्तीको बारीमा फलेका कागतीको हिसाव गर्दा उनी वार्षिक ५० लाख माथि आम्दानी गर्न सक्छन्। उनको बारीमा भएको कागतीको बोटले यस वर्ष देखि मात्र आम्दानी दिन थालेको छ। ‘यो वर्ष १२ लाख आम्दानी भयो, तीन वर्ष पछि वार्षिक ५० लाख भन्दा बढी हुने छ’ उनले दावी गरे।

जाँतेको हावापानी र माटो मद्रासको सुहाउँदो भएपछि उनले धान बाली मासेर कागती खेती सुरु गरेका हुन्। उनको यो खेती देखेर वरिपरिका लोभिन थालेका छन्। ‘ह्या, के यस्तो खेती गरेकोरु’ भन्दै गाली गर्नेहरुलाई अहिले उनले नै सल्लाह दिन थालेका छन्। उनको उदाहरणबाटै जाँतेका किसान यतिवेला कागती खेतीमा उत्साहित हुन थालेका छन्। स्थानीय वीरभत्त राईले वस्तीकै बगैँचाबाट कलमी बिरुवा लगेर रोपेका छन्।

पुर्व वडा अध्यक्ष समेत रहेका वस्ती हिजोआज लेटाङका अधिकाँस किसानलाई रुखो एवं धान उत्पादन नहुने, आकासे भरका खेतमा कागती खेती गर्न सल्लाह दिन्छन्। उनले भने ‘जीवन र परिवारको आर्थिक अवस्था सुधार्नु छ भने कागती खेती गर्नुपर्दो रैछ।’ वस्तीका बारीमा भएको कागती मद्रासी ‘एम टुवेल’ जातको हो। अरु जातको छैन। ‘लाम्चो आकारको दानाको बोक्रा पुर्वी पहाडमा पाईने भन्दा केही बाक्लो हुन्छ’ उनले भने ‘गाढा अमिलो कागतीको रस निचोरेर बोक्रालाई अचार बनाइने गरेको छ।’

कागतीको अचारको पनि बजारमा माग बढेकाले उनले ‘लेटाङको कोसेली’ स्टीकर टाँसेर बेच्ने गरेका छन्। हरलिक्सको बट्टाको ‘साइज’मा भरी हुने अचार २ देखि ४ सयसम्म बजारमा बिक्ने गरेको छ। वस्तीको बारीमा करिब ३ हजार बोटले फल दिइरहेको छ। दैनिक २० हजार कागतीका दाना उनी बिक्रीका लागि उर्लाबारी, पथरी, बेलवारी, ईटहरी, धरान, बिराटनगर, इटहरीलगायत पूर्वका बजारमा पठाउँछन्।

उनी भन्छन् ‘दुई देखि तीन रुपैयाँमा कागती बिक्री हुन्छ, अहिले ‘अफ सिजन’ मा पनि दैनिक २५ देखि ३० हजारसम्म बेचिरहेको छु।’ फागुनमा फूलेको कागती असारमा टिप्न योग्य हुन्छ। असारमा पुनः फूल फूलेर कात्तिकमा टिपिन्छ। कात्तिकमा फूलेको कागती फागुनमा र फागुनमा फुलेको असारमा टिपिन्छ। बाह्रैमास कागती उनको बारीमा फलिरहेको हुन्छ।

सरकारले कागती खेतीका लागि प्याकेज बनाएर किसानलाई उत्साहित बनाउने हो भने देश आत्मनिर्भर हुने पूर्व वडाध्यक्ष समेत रहेका उनी बताउँछन्। खेतीका लागि बाख्राको मल प्रयोग हुन्छ। लेटाङमा किसानले पालेका बाख्राको मल प्रति टिन ५० रुपैयाँमा बिक्छ।

वस्तीले किनेरै यस्तो मल प्रयोग गर्ने गरेका छन्। ‘बाख्रा पालन गरी जिविकोपार्जन गर्ने किसानलाई पनि फाइदा पुगेको छ’ उनले भने ‘एउटै घरमा ५० वटा सम्म बाख्रा पालिएका छन् मलका लागि समस्या छैन।’

वस्तीले कागती बारीमा अदुवा पनि रोपेका छन्। त्यसबाट पनि उनले मनग्य आम्दानी लिन्छन्। सँगै मौपालन पनि छ। मह बेचेर पनि आम्दानी नै गर्छन्। अब उनी आफै बाख्रा पाल्ने योजनामा छन्। ‘मल किन्ने खर्च बचत हुन्छ, बाख्राको आम्दानी थपिन्छ’ उनले भने।

सरकारले नेपाली कृषि उपजलाई निर्वाध भारतीय बजारसम्म पुर्याएर बेच्ने वातावरण मिलाएमा आफूहरु लाभान्वित हुने उनको बुझाई छ।
कागती खेतीमा उनले नियमित रुपमा दुई जनालाई रोजगारी दिएका छन्। सिजनका बेला थप मजदुरको सहयोग लिन्छन्।

‘खाडी मुलुकको ४० डिग्री तापक्रममा काम गरेर कमाएको पैसा भन्दा मैले दिने पनि कमी छैन’ उनले भने ‘कृषिलाई सबैले व्यवसायिक रुपमा अघि बढाउने हो भने कोही खाडी छिर्नु पर्दैन।’ सेतोपाटीबाट साभार

Comments

comments

Related Posts