मकैका दुई नयाँ जात सिफारिस

(No Comments)     May 12, 2016    

रत्ननगर (चितवन), ३० वैशाख । मकैमा अनुसन्धान गर्दै आएको राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरले तराई केन्द्रित दुई वटा नयाँ मकैका जात सिफारिस गरेको छ ।

रामपुर हाईब्रिड (वर्णशङ्कर) ४ र रामपुर हाईब्रिड ६ जातको मकै सिफारिस गरेको अनुसन्धान कार्यक्रमका वरिष्ठ वैज्ञानिक चित्रबहादुर कुवरले जानकारी दिनुभयो । उक्त मकैको जात उन्मोचनका लागि सिफारिस गरेर केन्द्रमा पठाइएको छ । राष्ट्रिय सिड बोर्डको बीउबिजन पञ्जीकरण तथा उन्मोचन समितिले प्रमाणित (उन्मोचन) गरेपछि मात्रै उक्त मकैका जात लगाउन किसानलाई सिफारिस गरिने छ ।

सिफारिस गरिएका मकै प्रतिहेक्टर सातदेखि ९ टनसम्म फल्ने वैज्ञानिकको भनाइ छ । गर्मी याममा ११० दिनदेखि १२० दिनसम्ममा तथा जाडो याममा १४० दिनदेखि १५० दिनसम्ममा मकै पाक्ने बताइएको छ । गत वर्ष नयाँ वर्णशङ्कर अरुण ३, ४ र ६ जातको मकै सिफरिस गरिएको थियो । उक्त मकै ८० दिनदेखि ९० दिनसम्ममा पाक्छ ।

राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरले २०२१ सालदेखि अहिलेसम्म २९ वटा मकैका नयाँ जात निकालिसकेको छ । पछिल्लो समयमा अरुण ३, ४ र ६ तथा रामपुर हाईब्रिड ४ र ६, मन ५ र ६, पोषिलो १, देउती र सितला मकैका जात मात्र बजारमा छन् । पुराना जात हेटौँडा कम्पोजित, जानकी, मकालु, सर्लाही सेतो, ककनी पहेलो लगाउन प्रतिबन्ध लगाएको छ ।

नेपालमा यसरी नयाँ जातका मकै निकालिए पनि व्यावसायिक रुपमा बीउ उत्पादन हुन नसकेको राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरका प्रमुख गोविन्द केसी बताउनुहुन्छ । “नेपाली मकैले नधान्दासम्म बाहिरबाट आयातित मकैको प्रयोग गर्नुपर्ने बाद्यता छ” उहाँले भन्नुभयो । रासस

Comments

comments

Related Posts