भैँसीपालनबाट मनग्य आम्दानी

(No Comments)     March 16, 2018    

काठमाडौं । झापाको मेचीनगर–१५ मेची नदीको किनारमा भैँसी फार्म सञ्चालन गर्नु भएका स्थानीयवासी जीवन सापकोटाले वार्षिक रु आठ लाख आम्दानी गर्दै आउनु भएको छ । उहाँले २०७० सालमा दुई माउ भैँसीबाट भैँसीपालन शुरु गर्नुभएको हो । अहिले सापकोटाले ‘डेस्टिनेसन कृषि फार्म’ दर्ता गरेर १०५ भैँसी र १५ वटा गाई पाल्दै आउनुभएको छ भने फार्ममा लाग्ने खर्च कटाएर वार्षिक रु सातदेखि रु आठ लाखसम्म आम्दानी समेत गर्दै आउनु भएकोछ ।

सापकोटाले स्थानीय द्यिालयको ४० बिघा र डा मोहपालको ११ बिघा जग्गा वार्षिक रु ६० हजार भाडामा लिएर भैँसीपालन गर्नुभएको छ । उदाहरणीय कृषि फार्म सञ्चालन गरेबापत उहाँ दर्जनौँ संघसंस्थाबाट सम्मानित भइसक्नुभएको छ ।

फार्म रहेको मेची नदीको किनार पाँच वर्षअघिसम्म उजाडलाग्दो बगरमा अहिले भैँसीकै मलका कारण बगर खेतीयोग्य बनेको छ । पाँचगाँछीबाट सुकुम्वासीका रुपमा मेची नदीको किनार आउनुभएका सापकोटाले पशुपालनका लागि शुरुमा निकै दुःख गर्नु गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “त्यो बेला दिनको तीन लिटर दूध बेच्थे, दूधको आम्दनीबाट भैँसीको संख्या बढाउँदै लगे ।” दूध मात्र नभएर पाडापाडी बेचेर पनि उहाँले यतिबेला मनग्य आम्दानी गरिरहनुभएको छ ।

हाल उहाँको फार्ममा ४० माउ भैँसी दुहुना छन् । सापकोटाले लैनो भैँसी र गाईबाट हिउँदमा दैनिक ८० देखि एक सय लिटरसम्म तथा वर्षात्मा १३० लिटरसम्म दूध बेच्ने गरेका छन् भैँसीको दूध प्रतिलिटर रु ६५ का दरले बिक्री हुन्छ । इँट्टाभट्टाको एनएमसी डेरी र धाइजनका रितिका डेरीले दूध खरिद गर्दै आएको छ ।

हिउँदमा किनेको पराल र बर्सातका बेलाको घाँस नै भैँसीको मुख्य आहार भएको उहाँ बताउनुहुन्छ । वर्षमा ९४ ट्र्याक्टर पराल पनि अपुग भएको सापकोटा बताउनुहुन्छ । महिनामा ३० बोरा चोकर, तीन बोरा नुन तथा पिना भैँसीलाई खुवाउने गरिएको छ । मासिक रु ८० हजारभन्दा वढी खर्च हुने उहाँले बताउनुभयो ।

सापकोटाले रु ६० लाखको पशु बीमा गराउनुभएको छ । राज्यले कृषि क्षेत्रमा लगानी बढाउने घोषणा गरे पनि त्यस अनुरुपको सुविधा किसानले नपाएको उहाँको भनाइ छ ।

 

Comments

comments

Related Posts