भुइँ स्याउ अर्थात् ग्राउन्ड एप्पलको व्यावसायिक खेती सुरु

(No Comments)     November 10, 2015    

तेह्रथुम, १७ कात्तिक । जिल्लाका किसानले जमिनमुनि फल्ने भुइँ स्याउ अर्थात् ग्राउन्ड एप्पलको व्यावसायिक खेती सुरु गरेका छन् । पानीको मात्रा अत्यधिक हुने ग्राउन्ड एप्पल खेतीमा यो वर्ष जिल्लाका ५० भन्दा बढी कृषक संलग्न छन् । जिल्लाको संक्रान्ति, ओयाक्जुङ, सुदाप, हमरजुङलगायत गाविसका किसान व्यावसायिक भुइँ स्याउखेतीमा लागेका हुन् । खेती सुरु गरेको पहिलो वर्षमै संक्रान्ति गाविसका कृषक भवानी ढुंगेल र पुण्यप्रसाद सिटौलाले २ लाख ५० हजार रुपैयाँ आम्दानी गरेपछि अन्य कृषक पनि व्यावसायिक खेतीमा आकर्षित हुँदै गएका छन् । सुरुमा इलामबाट बिउ ल्याएर रोपेका ढुंगेल र सिटौलाले अहिले आफैँ अन्य किसानलाई बिउ बिक्री गरिरहेका छन् । पानीको मात्रा बढी हुने र सबैले मन पराउने भएकाले बिक्रीका लागि बजारको समस्या नभएको तीन वर्षदेखि खेती गर्दै आएका किसान सिटौलाले जानकारी दिए । ‘रोपेको पहिलो वर्षमै फल दिने भएकाले राम्रो आम्दानी हुन्छ,’ उनले भने । इलामबाट प्रतिकिलो ३ हजार रुपैयाँमा बिउ खरिद गरेर जिल्लाका किसानले पहिलोपटक ग्राउन्ड एप्पलको व्यावसायिक खेती सुरु गरेका हुन् । अहिले किसानको घरबाटै बिउ प्रतिकिलो २ हजार रुपैयाँ र फल प्रतिकेजी ३ सय रुपैयाँले बिक्री भइरहेको किसान सिटौलाले बताए । सूर्यमुखी फूलजस्तै बिरुवा हुने, जमिनमुनि तरुलझैँ फल्ने र बोक्रा ताछ्दा स्याउजस्तै देखिने तथा स्वाद पनि स्याउजस्तै हुने भुइँस्याउको बाहिरी जिल्लाबाट समेत माग आइरहेको किसानको भनाइ छ । पहिलोपटक स्वाद चाख्दा स्याउजस्तै स्वाद पाएको संक्रान्ति उद्योग वाणिज्य संघका सचिव प्रेम पौडेलले बताए । ‘भुइँमा फल्ने भएकाले बढी सफा गर्नुपर्ने रहेछ,’ उनले भने । वषौँदेखि गर्दै आएको कृषि बाली लगाउन सिँचाइ समस्या भएपछि विकल्प खोजिरहेका किसानले भुइँस्याउ खेतीबाट आम्दानी लिन सक्ने अवस्था रहेको उनको भनाइ छ । जिल्लामै पहिलोपटक भुइँस्याउको खेती थालेका संक्रान्तिका कृषकद्वय सिटौला र ढुंगेलले पहिलो र दोस्रो वर्षको उत्पादन बिउमै खपत भएको बताए । ‘गत वर्ष पनि जिल्लाका हमरजुङ, सुदाप, सम्दु, ओयाक्जुङसम्म भुइँस्याउको बिउ पुगेको थियो,’ यो वर्ष पनि धेरैले बिउ लगे,’ ढुंगेलले भने ।

Comments

comments

Related Posts