बिचौलियाको मारमा अदुवा किसान

(No Comments)     December 21, 2016    

काठमाडौं, ६ पुस । ‘पहाडको सुन’ भनेर चिनिने अदुवा खेतीले बजार नपाउँदा किसान मारमा परेका छन् । यस क्षेत्रका किसानको जीविकाको आधार भएको अदुवाले केही वर्ष पहिलेसम्म बजार राम्रो भए पनि अहिले बजार नपाउँदा सस्तोमा बेच्नुपर्ने बाध्यता छ ।

नेपालमै उच्च कोटीको अदुवा उत्पादन गर्ने जिल्लाका किसानलाई यतिबेला बारीबाट अदुवा खन्न र सुठो पोल्न भ्याई नभ्याई भए पनि कहाँ लगेर बेच्ने भन्ने चिन्ता छ । चैत बैशाखमा रोपेर कात्तिक र मंसिरबाट उत्पादन लिन शुरु गरेका किसानहरुले अहिलेसम्म पनि बारीमा अदुवा खन्दै छन् ।

मसलाजन्य परिकारहरु बनाउन प्रयोग गरिने अदुवाको स्वदेशमा नै खपत हुन नसक्दा भारतीय बजारमा निर्यात हुने गर्दथ्यो । विभिन्न बहानामा भारतमा समेत नेपाली अदुवा निर्यात हुन छाडेपछि बिचौलियाले सस्तोमा अदुवा खरिद गर्ने गरेका छन् ।

आफूले उत्पादन गरेको फलको मूल्य किसानले नभई बिचौलियाले पाउने गरेका छन् । किसानले उत्पादन गरेको अदुवा किन्नका लागि बिचौलियाहरु बारीसम्म नै पुग्ने र सस्तो मूल्यमा खरिद गरी भारतसम्म पुरयाउने गर्दछन् ।

नवलपरासीको पहाडी क्षेत्रमा पर्ने नरम, जौवारी, अर्खला, भारतीपुर, मिथुकरम, रुचाड्ड, रकुवा, बुलिङटार, डाँडाझेरी, कोटथर, रतनपुर, हुप्सेकोट, धुरकोट, धौवादी, राकाचुली लगायतका गाविस अदुवा खेतीको पकड क्षेत्र मानिन्छ ।

जिल्लामा एक हजार तीन सय हेक्टर क्षेत्रफलमा अदुवाको खेती हुने गरेको कृषि कार्यालयले जनाएको छ । जिल्लामा यस वर्ष ११ हजार पाँच सय मेट्रिक टन अदुवा उत्पादन हुने अनुमान गरिएको कृषि कार्यालयका योजना अधिकृत श्रीकान्त घिमिरले बताए ।

अघिल्लो वर्ष प्रतिकिलो ४० रुपैयाँमा बिक्री भएको अदुवा अहिले २५ रुपैयाँमा झरेको घिमिरेले जानकारी दिए । ‘केही महिना विषादि भएको भन्दै भारतले अदुवा निकासीमा रोक लगाएको भए पनि अहिले बिचौलिया आफैंले हल्ला फैलाएर किसानबाट सस्तोमा खरिद गरी भारतसम्म पुर्याउने गरेका छन्’ घिमिरेले भने ।

गत वर्ष ८० रुपैयाँ प्रतिधार्नी अदुवा बेचेका किसानहरुले अहिले अधिकतम ६० रुपैयाँ प्रतिधार्नीमा काँचो र ३ सय रुपैयाँमा सुठो बनाएर बेच्नुपरेको धौवादीका दानबहादुर रानाले दुखेसो पोखे । अन्य समुदायको तुलनामा मगर समुदायका मानिस यो खेतीमा संलग्न भएको पाइएको छ । जिल्लाको पहाडी क्षेत्रका सबै गाउँमा मगरहरुको बाहुल्यता छ । पहाडी क्षेत्रका गाउँहरुमा त अदुवा नलगाउने परिवार नै भेट्न गाह्रो हुन्छ ।

तत्काल नगदमा परिणत गर्न सकिने हँुदा मगर समुदायमा त छोरी बुहारीले कोसेलीको रुपमा बारीको पाटो भाग लगाएर पनि अदुवाको खेती गरेको पाइन्छ । भिरालो जमिनमा खोरिया फाडेर होस् या आफैं कमाई खाएको जमिनमा किसानहरुले अदुवा रोप्न तँछाडमछाड नै गर्ने गरेको नरमका अर्का किसान चनबहादुर गाहा मगरले बताए ।

सुरुका वर्षहरुमा अदुवा उत्पादन गरेपछि आगोमा पोलेर सुठो बनाउने चलन थियो । यसरी सुठो बनाउँदा किसानहरु लामो समयसम्म आगोमा बस्नु पर्ने झन्झट र अर्कातिर आगो बाल्ने दाउराको कमीका कारण आजभोलि काँचो अदुवा बजारमा आउन थालेको छ । तर, मूल्यमा स्थिरता नहुँदा किसान यो खेती गर्ने या नगर्ने भन्नेमानै दोधारमा परेका छन् ।

राम्रो गोडमल पाएमा एक धार्नी अदुवाको वीउबाट कम्तीमा पनि आठ धार्नी अदुवा उत्पादन हुने गर्दछ । पहाडी क्षेत्रमा खेती गरिने हुँदा यहाँको अदुवा शतप्रतिशत अग्र्यानिक रुपमा उत्पादन गरिएको कृषि कार्यालयका योजना अधिकृत घिमिरेले बताए ।

डब्लूटीओको मान्यताअनुसारको प्रयोगशालाको स्थापना गर्न सकेर अदुवाको गुणस्तर प्रमाणित गर्न सकेमा भारतीय बजारको मात्र मुख नताकी तेस्रो देशमा निर्यात गर्न सकिने पनि उनले बताए । विदेश निर्यातको अवसर पाउन सकेमा अदुवाको पकेट क्षेत्र मानिएका स्थानका किसानहरु कामको खोजीमा विदेश जानुपर्ने थिएन् । ईकान्तिपुरबाट

Comments

comments

Related Posts