बाबुराम भट्टराईको नयाँ शक्तिद्धारा ३५ सदस्यीय केन्द्रीय परिषद घोषणा

(No Comments)     January 24, 2016    

काठमाडौं– केही समययताबाट नयाँ राजनीीतक शक्ति निर्माणको अभियानमा रहनुभएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नै नेतृत्वमा नयाँ शक्ति नेपालको ३५ सदस्यीय अन्तरिम केन्द्रीय परिषद् घोषणा गर्नुभएको छ । आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि अन्तरिम केन्द्रीय परिषद् घोषणा गरिएको हो ।

एकीकृत माओवादी र सांसद पद त्यागको चार महिनापछि भट्टराईले आफ्नै नेतृत्वमा नयाँ शक्ति निर्माण अभियानको राष्ट्रिय परिषद् घोषणा गर्नुभएको हो । चैत्रको अन्तिमतिर राष्ट्रिय सम्मेलन वा महाधिवेशन गर्ने गरी राष्ट्रिय परिषद् घोषणा गरिएको जनाइएको छ । भट्टराईले गत असोज ९ गते पत्रकार सम्मेलन मार्फत एमाओवादी र सांसद पद त्यागको घोषणा गर्दै नयाँ शक्ति निर्माणमा लाग्ने बताउनुभएको थियो ।

त्यसपछि आन्तरिक र बाह्क छलफल तथा देश दौडाहमा चार महिना विताएपछि भट्टराईले पहिलोपटक नयाँ शक्ति अभियानको केन्द्रीय तहको अन्तरिम संरचना घोषणा गर्नुभएको छ । परिषद सदस्यहरुमा पूर्व सचिवहरु, नेपाल प्रहरीका पूर्व एआइजीहरु, कलाकार, विकास अभियान्ता, जनजाति अगुवा, दलित अधिकारकर्मी, पूर्व माओवादी नेताहरु लगायत सहभागी छन् ।

आज घोषणा गरिएको ३५ सदस्य केन्द्रीय परिषदमा संयोजकमा बाबुराम भट्टराई तथा सदस्यहरुमा परिषद्मा पूर्वसचिव रामेश्वर खनाल, हरेराम चौधरी, नत्थुप्रसाद चौधरी, डा. प्रवीण मिश्र, एमाओवादीका पूर्व नेताहरू रामचन्द्र झा, देवेन्द्र पौडेल, कलाकार सरोज खनाल, करिश्मा मानन्धर, अशोक शर्मा, पूर्वअतिरिक्त प्रहरी महानिरीक्षकद्वय गणेशराज राई र नारायण पाण्डे, विश्लेषक मुमाराम खनाललगायत रहेको जनाइएको छ ।

यस्तै नेपा पार्टीका अध्यक्ष पूर्वसभासद् डा केशवमान शाक्य, सामाजिक लोकतान्त्रिक पार्टीका अध्यक्ष मण्डलका सदस्य चैतन्य सुब्बा, पासाङ शेर्पा, दलमर्दन कामीलगायतले आफ्नो पार्टी नयाँ शक्तिमा समाहित भएको घोषणा गर्नुभयो । परिषद् घोषणापछि संयोजक डा भट्टराईले अहिले तत्काललाई ३५ सदस्यीय केन्द्रीय परिषद् घोषणा गरिएको र पूर्णता पाउँदासम्म त्यो सङ्ख्या २ सय ६५ पुग्ने जानकारी दिनुभयो । परिषद्ले केही महिनामै राष्ट्रिय भेलाको आयोजना गरी त्यसले महाधिवेशनको मिति तय गरी सोही महाधिवेशनबाट दल निर्माण प्रक्रिया टुङ्गिने उहाँले बताउनुभयो ।

पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा नयाँ शक्तिले पूँजीको न्यायपूर्ण वितरण र सम्बृद्धिको लागि राष्ट्रिय औद्योगिक पूँजीवादको जग निर्माण गर्दै समुन्नत समाजको रचना गर्ने, समानुपातिक समावेशी आधारमा प्रमुख जातीय समूह खस–आर्य, मंगोलमूलका आदिवासी–जनजाति, मधेसी–थारु, मुस्लिम, दलित, अल्पसंंख्यक, महिला र युवाहरुलाई न्यायोचित संघीय संरचना निर्माण गर्ने, प्रत्यक्ष र परिणाममुखी लोकतन्त्र, सुशासन, पारदर्शिता, जवाफदेहिता र विधिको शासन हुने।, एक व्यक्ति एक पद, निर्वाचनमा अस्वीकारको व्यवस्था तथा नेतालाई फिर्ता बोलाउने हक (Right to Reject and Right to Recall) हुने , विकास, सुशासन, सदाचार, समन्याय, स्वाधीनता, समावेशीता, सम्बृद्धि र समाजवाद तर्फ उन्मुख हुने लगायतका विषयता हुने बताइएको छ ।

Comments

comments

Related Posts