बाढीले धान उत्पादनमा कमी

(No Comments)     December 26, 2017    

काठमाडौं । यस बर्ष मुलुकका धेरै जिल्लामा धान उत्पादनमा कमी आएको छ । साउन अन्तिम साता आएको बाढीले तराईका विभिन्न जिल्लामा जमिन कटान, डुबानका साथै रोगका कारणले गर्दा धान उत्पादनमा कमी आएको हो ।

चितवनमा बाढीले धानखेत बगाउँदा यस बर्ष धान उत्पादनमा कमी आएको छ । जिल्ला कृषि विकास कार्यालयले दिएको जानकारी अनुसार यस बर्ष ४.६ प्रतिशतले धान उत्पादनमा कमी आएको छ । यसवर्ष ९७ हजार ५०० मेट्रिक टन धान उत्पादन भएको छ ।

गत वर्ष एक लाख दुई हजार २०० मेट्रिक टन धान उत्पादन भएको थियो । बाढीका साथै धानमा लाग्ने पहेलो रोगका कारणले पनि उत्पादनमा कमी आएको कार्यालयको भनाई छ । जिल्लामा २९ हजार २०० हेक्टर क्षेत्रलफलमा धानखेती गरिएको थियो ।

यस्तै, सप्तरीमा पनि यस बर्ष धान उत्पादनमा कमी आएको छ । बाढीका साथै धान रोप्ने समयमा पर्याप्त पानी नपुग्नाले धान उत्पादनमा कमी आएको वरिष्ठ कृषि विकास कार्यालय अधिकृत भागीरथ यादवले बताउनुभयो । यस वर्ष ५४ हजार ५०० हेक्टर जमिनमा धानबाली लगाएकोमा एक लाख ४९ हजार मेट्रिक टन धान उत्पादन भएको छ । 

गत आर्थिक वर्षमा ५२ हजार हेक्टर जमिनमा प्रतिहेक्टर २.७५ मेट्रिक टनको दरले धान उत्पादन भएको थियो । आव २०७१/७२ मा ४२ हजार हेक्टर जमिनमा प्रतिहेक्टर अढाइ मेट्रिक टन धान उत्पादन भएको थियो । सप्तरीमा ५४ हजार ५०० हेक्टर जमिनमा धानबाली लगाउदै आएको छ ।

यसैगरी, जाजरकोटमा पनि विगतका बर्षको तुलनामा यस बर्ष धान उत्पादनमा कमी देखिएको छ । जलवायु परिवर्तन, सिचाईको अभावका साथै खेती गरिने पुरानो परम्परा विधिका कारण पनि धान उत्पादनमा कमी हुँदै गएको देखिन्छ ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा श्रीराम घिमिरेका अनुसार धानखेती गरिने जमिनको क्षेत्रफल घट्दै गएको छ । पाँचवर्ष अघि २०६९ सालमा चार हजार १५ हेक्टर जमिनमा धानखेती गरिएकामा यसवर्ष दुई हजार ५६२ हेक्टरमा मात्र धानखेती गरिएको थियो ।

Comments

comments

Related Posts