पोखराको सुन्तला : कतै उत्पादन बढ्दै, कहीँ बोट मर्दै

(No Comments)     November 24, 2015    

पोखरा, ८ मङ्सिर । लामो समयदेखि नै चर्चा पाउने गरेको कास्की पोखराको सुन्तला यसवर्ष कतै उत्पादन बढेको छ भने कहीँ भएका बोट पनि मर्न थालेका छन् । जिल्लाको कृष्तिनाच्ने चौरमा यसवर्ष सुन्तलाको उत्पादन लगभग २० प्रतिशतले बढेको छ भने हङ्सपुर, भरतपोखरीलगायतका स्थानमा ग्रिनिङ पोजेटिभका कारण बोट मर्दै गएका छन् । सुन्तला खेतीका लागि जिल्ला कृषि विकास कार्यालयले तीन वर्षअघि सुरु गरेको ‘सुन्तला बगैँचा सुदृढीकरण कार्यक्रम” कृष्तिनाच्ने चौर र आसपासका क्षेत्रमा भने अत्यन्त उपयोगी भएको छ । जिल्लामा सुन्तला उत्पादन हुँने पकेट क्षेत्रलाई लक्षित गरी सुन्तला बगैँचा सुदृढीकरण कार्यक्रम सञ्चालन गरिएकोमा केही स्थानमा यो विस्तारै सफलतातर्फ उन्मुख बनेको कार्यालय प्रमुख रमेश कोइरालाले जानकारी दिनुभयो । “यसवर्ष कृष्तिनाच्ने चौर क्षेत्रमा विगतमा भन्दा २० प्रतिशत उत्पादन बढेको छ” उहाँले भन्नुभयो । कृष्तिमा मात्रै ८४ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुन्छ । कृष्तिको दोपहरे, बयेलीलगायतका स्थान सुन्तलाको उर्वरभूमी मानिन्छन् । यसवर्ष सुन्तलामा राम्रो फल लागेको र मौसमसमेत अनुकुल भएका कारण उत्पादन बढेको निर्मल पोखरीका कृषक टीकाराम भण्डारीले बताउनुभयो । “बोट मर्ने समस्या बढेकाले न्यूनीकरणका उपाय तत्काल खोजिनु पर्छ” उहाँले भन्नुभयो । जिल्लाको लगभग एक हजार ४१४ हेक्टर क्षेत्र सुन्तला खेतीले ढाकेको छ । पछिल्ला वर्षमा देखिएको ग्रिनिङ भाइरसका कारण भरतपोखरी, हङ्सपुरलगायतका स्थानमा सुन्तलाका बोट मर्न थालेका कृषि कार्यालयका प्रमुख कोइरालाले बताउनुभयो । बोट मर्न थालेसँगै गरिएको परीक्षणका क्रममा गतवर्ष केही बगैँचामा ‘सिट्रस ग्रिनिङ पोजेटिभ’ देखिएको बताउँदै उहाँले ती ठाउँमा जरैसित बोट उखेल्नका लागि कृषकलाई आग्रह गरिएको बताउनुभयो । सुन्तला सुदृढीकरण कार्यक्रमका लागि जिल्ला कृषि विकास कार्यालयले विगत तीन वर्षयता क्रमशः रु २८ लाख, रु १९ लाख र रु ३० लाख बजेट विनियोजन गरी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । हङ्सपुरका कृषक धर्म न्यौपानेले सुन्तलालाई नै आयआर्जनको मुख्य माध्यम बनाउनेका लागि बोट मरेका कारण ठूलो मर्का परेको बताउनुभयो । बोट मरेर चिन्तित भएका कृषकलाई सरकारी निकायबाट राहतका साथै अन्य वैकल्पिक कृषिका लागि प्रोत्साहित गर्नुपर्ने जिल्ला सुन्तला उत्पादक सङ्घका अध्यक्षसमेत रहेका न्यौपानेको भनाइ छ । गत वर्ष भरतपोखरी गाविसका– २ वटा बगैँचाका सुन्तलामा सिट्रस ग्रिनिङ पोजिटिभ देखिएको थियो । जिल्ला कृषि विकास कार्यालयले गतवर्ष जिल्लाका विभिन्न १० वटा बगैँचाका सुन्तला परीक्षणका लागि पठाएकोमा दुई वटा बगैँचामा ग्रिनिङ भाइरस पोजिटिभ देखिएको थियो । धेरै सुन्तलाका बोट मरेको कृषकको गुनासो आएपछि जिल्ला कृषि विकास कार्यालयले यसवर्ष पनि विभिन्न ३० ठाउँका बोटको ग्रिनिङ भाइरस परीक्षणका लागि नाष्टको प्रयोगशालामा पठाएको छ । नेपालमै पहिलो पटक २०२५ सालमा कास्कीको मालेपाटनमा यो भाइरस देखा परेको थियो । अहिले देशभर नै यो भाइरसले सुन्तला नास गरेको कृषकको गुनासो छ । जिल्लाभर करिब ५० जना व्यावसायिक किसानले सुन्तला व्यापारबाट वार्षिक रु २० हजारदेखि रु पाँच लाखसम्म आम्दानी गर्ने गरेका छन् । जिल्लाको बेगनास, भरतपोखरी, अर्मला, सिल्दुजुरे, निर्मलपोखरी, कृष्ति, पुम्दीभुम्दी, थुम्की, रुपाकोटलगायतका क्षेत्रमा सुन्तला उत्पादन बढी हुने भए पनि भाइरसका कारण सुन्तला खेती कम हँुदै गएको छ । अहिले अन्य ठाउँभन्दा भरतपोखरी, कृष्ति र निर्मलपोखरीमा बढी सुन्तला उत्पादन हुन्छ । तर त्यसमा पनि भाइरस भने फैलिसकेको छ । सिट्रसिला र कत्ले कीराका कारण सुन्तलाको बोट मर्ने समस्या बढ्दै गएको किसानले बताएका छन् । थोरै लगानीबाट पनि यथेष्ट आम्दानी गर्न सकिने अनुभव यहाँका कृषकको छ । यातायात सेवाको सहज पहुँच रहेका कारण पनि कृस्तीमा उत्पादित सुन्तलाका लागि बजारको कुनै समस्या छैन । विभिन्न स्थानबाट सुन्तला खरिद गर्न व्यापारी नै गाउँमा पुग्ने गरेका छन् । पोखरामा भित्रिने सुन्तलाको अधिकतम हिस्सा भरतपोखरी, निर्मलपोखरी तथा कृष्तिका सुन्तलाले ओगट्ने गरेको भरतपोखरीका विष्णुबहादुर थापाले बताउनुभयो । रासस

Comments

comments

Related Posts