निःशुल्क दूध ढुवानी

(No Comments)     February 18, 2018    

काठमाडौं । दूध निःशुल्क रुपमा ढुवानी हुन थालेपछि कृषक गाइपालन व्यवसाय प्रति आर्कषित हुन थालेका छन् । पाल्पाको डुम्रे दुग्ध उत्पादक सहकारी संस्थाले निःशुल्क दूध ढुवानी गर्न थालेकाले कृषक पशुपालन व्यवसायतर्फ आर्कषित भएका हुन् ।

सहकारीले कृषकलाई पशुपालन व्यवसायतर्फ हौंसाल बडाउन घरघरमा पुगेर दूध खरिद गर्दै आएको छ । घरमै दूध खरिदका लागि सहकारी पुगेपछि डुम्रे क्षेत्रका कृषक उत्साहित हुँदै विभिन्न पेशा, व्यवसाय, रोजगार छाडेर गाईपालनमा लागेका छन् ।

कृषकको आम्दानी उकास्न र उनीहरुलाई दूध उत्पादनबाट आत्मनिर्भर बनाउने उद्देश्यले कृषकको घरदैलोमै पुगेर निःशुल्क ढुवानी खर्चमा दूध खरिद गर्दै आइरहेको सहकारीका व्यवस्थापक गोपाल जिसीले बताउनुभयो ।

सहकारीमा हाल दैनिक करीब तीन हजार लिटर दूध डुम्रे आसपास क्षेत्रबाट संकलन हुने गरेको जिसीको भनाइ छ । यस सहकारी संस्थामा तीसवटा व्यावसायिक पशुफार्म दर्ता भएका छन् । सहकारीले घरमै आएर दूध खरिद गर्न थालेपछि व्यवसाय गर्न सजिलो भएको माथागढी गाउँपालिका–२ रुप्सेका अगुवा कृषक कृष्णप्रसाद भट्टराईले जानकारी दिनुभयो । दूध बिक्री गरेर छोराछोरीलाई उच्च शिक्षा दिन, घरायसी खर्च चलाउन सजिलो भएको उहाँको भनाइ छ ।

भट्टराईको फार्ममा हाल दशवटा उन्नत जातका गाईबाट दैनिकजसो ८० लिटर जति दूध बिक्री हुन्छ । एक महिनामा दूध बिक्रीबाट रु एक लाखको हाराहारीमा आम्दानी लिँदै आएको भट्टराईले बताउनुभयो ।

त्यस्तै तानसेन नगरपालिका–९ दमकडा बस्ने सुमा बन्जाडेले पनि छिमेकीले घरबाटै दूध बिक्री गरेको देखेपछि गाईपालन व्यवसाय शुरु गर्नुभएको छ । रोजगारीको सिलसिलामा ६ वर्षसम्म विदेशमा पसिना बगाउनु भएकी बन्जाडेले दशवटा गाईको दूध बिक्रीबाट एक महिनामा रु ४० हजारसम्म आम्दानी गरेको बताउनु हुन्छ ।

दूध बेच्नकै लागि धेरै टाडा बजारसम्म जानु नपर्ने, घरबाटै बेच्न पाइने भएपछि धेरै सजिलो भएको यहाँका कृषकको भनाई छ । दूध बिक्रीका लागि सहज वातवरण बनेपछि डुम्रे क्षेत्रका स्थानीयवासीको आम्दानीको स्रोत नै गाईपालन व्यवसाय बनेको हो ।

Comments

comments

Related Posts