नारी अनुभव साट्दै प्रेमका कथा सार्वजनिक

(No Comments)     February 21, 2016    

काठमाडौं । प्रेम, जीवन र प्रेमकथाबारे संवाद गर्दै ‘कथामा अल्झिएका प्रेम’को शनिबार विमोचन भएको छ । कालिकास्थानस्थित पब्लिकेशन्स नेपालयको मञ्चमा थिए दुई परिचित चेली– लेखिका संगीता श्रेष्ठ र लेखिका बन्ने चाहना बोकेकी मालविका सुब्बा । उनीहरु दुवै टेलिभिजनका सहकर्मी पनि हुन् । संगीता १५ महिने छोरीकी आमा हुन् भने मालविका केहि दिनमै आमा बन्दै छिन् ।

यस्तो बेलामा मालविकाले संगीतालाई पुस्तक लेखिका बनिरहँदाको अनुभव सोधिन् । ‘जन्मिने बित्तिकै छोरीलाई हातमा बोक्दा जस्तो अनुभव भएको थियो,’ पहिलो साहित्यिक कृति सार्वजनिक गरिरहेकी संगीताले भनिन्, ‘छापिएर आएको पुस्तक बोक्दा ठ्याक्कै उस्तै अनुभूति मिलेको थियो ।’ पुस्तक विमोचनको कार्यक्रम नेपालका सहरी महिला, उनीहरुको मन र कामकाजी जीवनमा भोग्ने कठिनाइहरुको संवाद थलो बन्न पुगेको थियो । पुस्तकका कथाहरुजस्तै प्रेम र त्यसपछि विकास हुने सम्बन्धहरुको बारेमा उनीहरुले खुलेर चर्चा गरे ।

पुरुष र पतिका चर्चाहरु पनि भए । महिलाहरुका निम्ति प्रेमको अर्को पाटो मातृत्व पनि हो । निकट भविष्यमै त्यसको अनुभव गर्ने क्रममा रहेकी मालविका जिज्ञासु थिइन् । ‘म बच्चा जन्मिने अघिल्लो दिनसम्म पनि कार्यालयमा काम गर्न गएकी थिएँ,’ संगीताले भनिन्, ‘गर्भवतीका बारेमा परम्परागत मान्यता तोड्नु मात्र होइन, भावी सन्तानले जन्मनुअगावैदेखि कामको महत्व बुझोस् भन्ने मेरो चाहना त्यसमा थियो ।’ पाँच दर्जनभन्दा बढी म्यूजिक भिडियो निर्माण गरेकी संगीताले बीचमा केहि समय श्रृंखलावद्ध टेलिफिल्म ‘कथा प्रेमका’ निर्माण गरेकी थिइन् ।

कान्तिपुर टेलिभिजनबाट प्रसारित उक्त टेलिफिल्महरु लोकप्रिय बनेका थिए । त्यसैका आधारमा निकट भविष्यमै उनकै लेखन र निर्देशनमा सिनेमा पनि बन्ने क्रममा छ । अहिले पनि टेलिभिजनमै कार्यक्रम निर्माता रहेकी संगीतासँग पूर्व सहकर्मी मालविकाले ब्यावसायिक जीवनका चूनौतीबारे पनि कोट्याइन् ।

‘हो छोरी मान्छेहरुलाई हामीकहाँ टेलिभिजनको नेतृत्वदायी भूमिकामा पुग्न धेरै समस्या छ,’ संगीताले भनिन्, ‘तर, कामप्रतिको लगनशीलतालाई सबैभन्दा प्राथमिकतामा राखेर अघि बढ्ने हो भने त्यस्ता समस्याहरु बाधा बनिरहँदैनन् ।’ टेलिफिल्मका कथानकहरु तयार पार्दापार्दै यसलाई पुस्तकका पाठकहरु समक्ष पनि लैजाने चाहना विकास भएको त्यस अवसरमा संगीताले जानकारी दिइन् ।

‘यो पुस्तक त्यसै चाहनाको प्रतिफल हो,’ उनले भनिन् । टेलिभिजनकर्मी महिलाहरुलाई साहित्यिक घेरामा गम्भीरताका साथ नलिइने गरिएको अवस्थामा सिर्जनाको यो विधामा पनि आफूहरुको पकड रहेको साबित गर्न यी लघु कथाहरु तयार पारिएको उनले प्रष्ट पारिन् । कथाहरु बढी वियोगान्त रहेको मालविकाको जिज्ञासा थियो । जवाफमा सबैलाइजस्तो वियोगान्त कथाले बढी छोए पनि यसमा उत्तिकै संयोगान्त कथाहरु पनि रहेको लेखिका संगीताले जानकारी दिइन् ।

श्रेष्ठका १० वटा लघुकथाहरुको सँगालो ‘कथामा अल्झिएका प्रेम’ मुलुकभर प्रमुख पुस्तक विक्रेताहरु समक्ष उपलब्ध भइसकेका छन् । कार्यक्रममा नेपालयका किरणकृष्ण श्रेष्ठले शनिवार आयोजना हुँदै आएको ‘बुक एण्ड ब्रेकफास्ट सिरिज’ अन्तर्गत मार्च महिनामा पब्लिकेशन्सको अर्को नयाँ कृति गिरीश गिरी लिखित वीरगन्ज सहरको जीवनी रहने जानकारी दिएका थिए ।

Comments

comments

Related Posts