तरकारी व्यवसायमा भण्डारी सफल

(No Comments)     December 28, 2015    

रामपुर (पाल्पा), १३ पुस । दुई दशकदेखि व्यावसायिक तरकारीखेतीमा संलग्न जिल्लाको मदनपोखराका अगुवा किसान धु्रवप्रसाद भण्डारी यतिबेला जिल्लामै तरकारीखेतीबाट प्रख्यात बन्नुभएको छ । भण्डारीले बजारको मागअनुसार तरकारी लगाएकै कारण उहाँको घरमा दिनहुँ व्यापारिको भीड लाग्ने गर्दछ ।

 

आफ्नो जीवन नै तरकारी लगाउने, बिक्री गर्ने काममा समर्पित गर्नुभएका भण्डारीको जति उमेर ढल्किदै गयो उति नै झन् व्यवसायप्रति मोह बढ्दै गएको छ । रोगले नसमातेसम्म तरकारी नै लगाउने इच्छा ५३ वर्षीय भण्डारीको रहेको छ । बाह्ैमहिना तरकारी उत्पादन हुने भएपछि भण्डारी धेरै ग्राहकको रोजाइको पात्र बन्नुभएको छ । विसं २०५० सालमा १७ रोपनी जग्गाबाट सुरु गरेको व्यवसाय फष्टाउँदै गएको उहाँ बताउनुहुन्छ । उहाँ अहिले २० रोपनीमा तरकारीखेती गर्दै आउनुभएको छ । गोलभेँडा, काउली, बन्दागोभी, सिमीजातका तरकारी उत्पादनलाई प्राथमिकता दिँदै आउनुभएको उहाँले वार्षिक रु सात लाखसम्म तरकारी बिक्रीबाट आम्दानी गर्नुहुन्छ ।

 

“एउटै याममा २० टनभन्दा बढी गोलभेँडा उत्पादन हुन्छ” उहाँले भन्नुभयो । तानसेन र बुटवल बजारलाई लक्षित गरी व्यवसाय थालेका भण्डारी बिक्री वितरणमा समस्या नभएको बताउनुहुन्छ । “सुरु सुरुमा डोकोमा लगेर तरकारी बिक्री गर्थे, अहिले त व्यापारी गाडी लिएर घरमै आउने गर्छन्” उहाँले भन्नुभयो । कृषि भनेपछि हेलाको दृष्टिकोण राख्नेका लागि आफूले यही व्यवसायलाई नै दिगोरुपमा गर्ने अठोट राखेर गरेको र सोचेअनुसारको सफलता मिलेको भण्डारीको भनाइ छ । अहिले गाउँमा पढेलेखेका यूवाको पनि जागिरको सट्टा कृषिमा आकर्षण बढ्दै गएको छ । “अर्काको कुरा सुनेर तरकारी बेच्न लाज मानेको भए मैले यो सफलता पाउने थिइन्” उहाँले भन्नुभयो । भण्डारीको बारीमा बाह्ैमहिना तरकारी फलेको देख्न पाइन्छ ।

 

भण्डारीले तरकारी व्यवसायसँगै अहिले पुष्पखेती पनि सुरु गर्नुभएको छ । गत वैशाखबाट सुरु गरेको पुष्प व्यवसायबाट उहाँले अहिलेसम्म फूल र बिरुवा बेचेर रु ७० हजार आम्दानी लिइसक्नुभएको छ । गुलाव, लालुपाते, एकजरा, इण्डोरप्लान्ट, धूपिलगायतका विभिन्न जातका फूलको बिरुवा उत्पादन गरी बिक्री गर्न थाल्नुभएको छ । उहाँले तरकारी र पुष्प व्यवसाय सञ्चालनका लागि पाँचजना कामदारलाई रोजगारी दिनुभएको छ ।

 

बुटवलबाट बिरुवा खरिद गरेर ल्याई थालेको पुष्प व्यवसायलाई पनि तरकारी व्यवसायसँगै अगाडि बढाउँदै लैजाने सोँच भण्डारीको छ । रासस

Comments

comments

Related Posts