तरकारी खेतीबाट मनग्य आम्दानी

खर्च कटाएर वार्षिक रु चार लाखसम्म आम्दानी

(No Comments)     August 16, 2017    

बागलुङ, ३२ साउन । शिक्षण पेशा छोडेको दस वर्षपछि गुमानसिंह खत्रीको परिचय एक सफल किसानका रुपमा बदलिएको छ । मेहनत र कामप्रतिको लगावले गलकोट नगरपालिका– ३ हटियाका ४१ वर्षीय खत्रीलाई नसोचेको सफलता मिलेको छ ।

विसं २०६३ मा रु एक लाखको लगानीमा व्यावसायिक तरकारीखेती सुरु गर्नुभएका खत्रीको लगानी अहिले रु २० लाखभन्दा बढी पुगेको छ ।
चार रोपनीमा सीमित गलकोट नगरपालिका–६ स्थित ‘जामुने कृषि फर्म’ अहिले १५ रोपनीमा विस्तार भएको छ । “सात वर्ष प्राथमिक विद्यालयमा अस्थायी शिक्षकका रुपमा काम गरेँ,” खत्रीले भन्नुभयो ‘पछि व्यावसायिक कृषिमा लाग्ने सोच आयो ।”

खत्रीले वार्षिक रु एक लाखमा जग्गा भाडामा लिई तरकारीखेती गर्दै आउनुभएको छ । “उत्पादनबाट सन्तुष्ट छु, बजारको समस्या छैन,” खत्रीले भन्नुभयो “खर्च कटाएर वार्षिक रु चार लाखसम्म आम्दानी हुन्छ ।” उहाँको फर्ममा दुई जनालाई रोजगारी समेत मिलेको छ ।

हटियामै ‘एग्रोभेट’ पसलसमेत सञ्चालन गर्नुभएका खत्री उदाहरणीय किसानको रुपमा जिल्लाभर परिचित हुनुहुन्छ । खत्रीले तरकारीखेती सुरु गर्दा गलकोटमा गोलभेँडा खेती गर्ने कमै थिए । भैरहवा, नारायणगढलगायत ठाउँबाट आएको महँगो गोलभेँडा खरिद गर्न उपभोक्ता बाध्य थिए ।

“शुरुमा गोलभेँडा खेती गरेँ, प्रतिफल दिएपछि अरु किसानले पनि शुरु गर्नुभयो,” खत्रीले भन्नुभयो । उहाँको फर्ममा मुख्य गरी गोलभेँडासँगै काउली, बन्दागोभी, सिमी, बोडीलगायत मौसमी-बेमौसमी तरकारी बाली उत्पादन हुने गरेको छ ।

खत्रीको फर्ममा प्रायः प्लास्टिक घर (टनेल) भित्र तरकारीखेती गरिन्छ । उहाँको फर्मले गत वर्ष कृषि विकास मन्त्रालयको व्यावसायिक कृषि तथा व्यापार आयोजनाबाट रु १० लाख अनुदान समेत पाएको छ । उक्त अनुदान रकमबाट थप चारवटा उच्चस्तरीय प्रविधिको प्लास्टिक घर (टनेल) थपेको खत्रीले बताउनुभयो ।

तरकारीखेती विस्तारका साथै यन्त्र–उपकरण खरिदमा अनुदान रकम प्रयोग भएको उहाँले बताउनुभयो । आयोजनाको अनुदान बाहेक जिल्ला कृषि विकास कार्यालयबाट पनि उहाँले सहयोग पाउँदै आउनुभएको छ । रासस

Comments

comments

Related Posts